कुष्ठरोगरहित विश्वको परिकल्पनाका लागि कविता प्रतियोगिता, उपाधी पोखराका सुदर्शन पौडेललाई

कुष्ठरोगरहित विश्वको परिकल्पनाका लागि कविता प्रतियोगिता, उपाधी पोखराका सुदर्शन पौडेललाई

काठमाडौं (पहिचान) मंसिर ८ – कुष्ठोगरहित विश्वको परिकल्पनाका लागि भएको राष्ट्रव्यापी कविता प्रतियोगिताको उपाधी पोखराका सुदर्शन पौडेलले जितेका छन् । कुष्ठरोगी विचार शिर्षकको पौडेलको कविताले उपाधी जितेको हो । उनले २० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै लमजुङका प्रज्ज्वल अधिकारीको आत्मालाप शिर्षकको कविता दोस्रो भएको छ । अधिकारीले १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उदयपुरका हिमालय पौडेलको कुष्ठरोग विरुद्ध हामी र झापाका निरज दाहालको घरभित्र शिर्षकको कविता तेस्रो भएका छन् । दुवै कविलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

आइडिया नेपालले द लेप्रोसी मिशन नेपालको समन्वयमा गरेको कविता प्रतियोगितामा २० जना कविले कविता वाचन गरेका थिए । औषधी खाए निको हुने कुष्ठरोगरहित विश्वको परिकल्पनाका लागि कविता प्रतियोगिता गरिएको आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमल्सिनाले जानकारी दिए ।

कविता प्रतियोगिताको उद्ध्घाटन गर्दै बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले कुष्ठरोग लागेकालाई विभेद हुने गरि बनाइएको कानुन संसोधन गर्न आफ्नो ध्यानाकर्षण भएको बताए । देवानी संहिताको विवाहबारी कानूनमा कुष्ठरोग लागेका व्यक्तिको सम्बन्ध विच्छेद हुने उल्लेख गरिएको छ । मन्त्री बस्नेतले कुष्ठप्रभावितलाई हेला होइन माया गर्न आग्रह गरे ।

प्रथम भएको कविता

कुष्ठरोगी विचार

  • सुदर्शन पौडेल

त्यति साँघुरा छैनन् अस्पतालका मुलढोकाहरु

जति साँघुरा छन् विचार हिँड्ने गल्लीहरु

सजलै सकिन्छ बुझ्न औषधिको मात्रा

कुहिरोमा खेलिरहन्छ लुकामारी पूर्वजन्म

तैपनि आजको मान्छे

पुरातनको बुई चढेर

अस्पताल पस्न इन्कार गरिरहेछ

कुँजिएर सङ्कीर्णताको परिधिमा

जीससको उद्धार पर्खिरहेछ

मान्छे विचार ग्रसित छ कुष्ठरोगले

जो आखती हैन, चमत्कार खोजिरहेछ

सकिनैलागेको बेट्री बोकेर

समयलाई भेट्न दौडिरहेको घोडीजस्तो

शरिरलाई सानो भैसकदा पनि

पुरानै लुगा लगाउन अभ्यस्त बालकजस्तो

आजको मान्छे सत्य जानेर पनि

आफ्नै छायालाई सपारिरहेछ

मान्छे विचार ग्रसित छ कुष्ठरोगले

जो आखती हैन, चमत्कार खोजिरहेछ

हेन्सनले कतिपटक खोज्नुपर्ने हो उपाय

सत्यले कतिपटक नङ्ग्याउनुपर्ने हो आफुलाई

कतिपटक च्यात्नुपर्ने हो झुटको पर्दा

कतिपटक लड्नुपर्ने हो निःशुल्क औषधिहरुले

महँगा भ्रमहरु

मान्छे उत्तरआधुनिकताको लेप लगाएर

परिचित उत्तरहरुको प्रश्न सोधिरहेछ

लाटाहरुलेपनि बोल्ने बेला भैसक्यो अब त

तैपनि ग्रसित छ कुष्ठरोगले मान्छेको विचार

जो ओखती हैन, चमत्कार खोजिरहेछ

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.