नेपालमा विदेशी कुटनीतिज्ञको समलिंगी संबन्ध स्वीकार, आफ्नै नागरिक माथि भने भेदभाव

नेपालमा विदेशी कुटनीतिज्ञको समलिंगी संबन्ध स्वीकार, आफ्नै नागरिक माथि भने भेदभाव

काठमाडौं (पहिचान) मंसिर २४ – सरकारले समलिंगी संबन्धमा रहेका विदेशी कुटनीतिज्ञहरुलाई भियना सन्धी अनुसार स्पाउस भिसा दिने गरेको जनाएको छ । महिला, महिला र पुरुष, पुरुषबीच सम्बन्धमा रहेका कुटनीतिज्ञहरुले आफ्नो पार्टनरका लागि भिसा आवेदन गर्ने गरेका छन् । त्यसका लागि नेपालमा रहेको कुटनीतिक नियोगले सिफारिस गर्ने गरेको छ ।

पछिल्लो पटक नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीका जीवन साथीले स्पाउस भिसा लिएका छन् । नेपालमा रहेको अमेरिकी दूतावासको पत्र अनुसार राजदूत बेरीका पार्टनरलाई कन्सुलर विभागले स्पाउस भिसा दिएको हो ।

समलिंगी संबन्धमा रहेका विदेशी कुटनीतिज्ञहरुलाई भियना सन्धी १९६१ अनुसार भिसा दिने गरेको कन्सुलर विभागका महानिर्देशक गृहेन्द्र राजभण्डारीले जानकारी दिए । अष्ट्रियाको भियनामा सन् १९६१ मा जारी सन्धी अनुसार त्यस्ता कुटनीतिज्ञहरुलाई पारिवारिक भिसा दिने गरिएको महानिर्देशक राजभण्डारीले बताए । उनीहरुले विपरितलिंगी जोडि सरह सँगै बस्न भिसा पाउने गरेको राजभण्डारीले बताए ।

नेपालमा समलिंगी संबन्धमा रहने कानून नबनेपनि यस बिषयमा भएका आदेश एवं उनीहरुकै देशबाट आएको सिफारिस अनुसार भिसा दिने गरेको उनले बताए । कन्सुलर सेवा विभागले आधिकारिक रुपमा कति जना समलिंगी सम्बन्धमा रहेका विदेशी कुटनीतिज्ञले स्पाउस भिसा लिए भनेर आधिकारिक तथ्याङक दिन भने समय लाग्ने जनाएको छ ।

अहिले १ सय देखि १ सय ५० जना समलिंगी सम्बन्धमा रहेका विदेशी कुटनीतिज्ञहरुले स्पाउस भिसा लिएको विभागले अनुमानित तथ्याङक दिएको छ । विदेशी कुटनीतिज्ञको समलिंगी संबन्धमा स्वीकार गर्ने तर आफ्नै देशका नागरिकको समलिंगी संबन्धलाई भने राज्यले स्वीकार गरेको छैन ।

सर्वोच्च अदालतले सन् २००७ डिसेम्बर २१ मा समलिंगी विवाहले कानूनी मान्यता पाउने नपाउने बिषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउने गरि समिति गठन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो । अदालतको आदेशपछि गठन भएको समितिले समलिंगी विवाहलाई कानूनी मान्यता दिनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । तर, आजका दिनसम्म सरकारले समलिंगी विवाहलाई कानूनी मान्यता दिने कानून बनाउने सुरसार समेत गरेको छैन ।

सर्बोच्च अदालतको आदेशका बाबजुद पनि किन यो अचम्मको भेदभाव आफ्नै नागरिक माथि ? पूर्व सभासद् एवं यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्तले सरकारलाई प्रश्न गरेका छन् ।

पन्तले नेपाली नागरिकको समलिंगी संबन्धलाई स्वीकार नगर्ने तर विदेशी कुटनीतिज्ञलाई भने विपरितलिंगी जोडि सरह उनीहरुको समलिंगी संबन्धलाई स्वीकार गर्नु भेदभाव भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

नेपाल सरकारले नेपालमा काम गर्ने विदेशी कुटनीतिज्ञहरुको समलिंगी संबन्धलाई स्वीकार गरेर विदेशी कुटनीतिज्ञहरुको जीवन साथीहरुलाई स्पाउस(भिसा ९अर्थात जीवन(साथि भिसा) दिने गरेको छ, विपरितलिङ्गि जोडिहरुलाई सरह पन्तले हेलो सरकारलाई प्रश्न गर्दै लेखेका छन्, तर नेपाली नागरिकको समलिंगी संबन्धलाई भने स्विकार गरेको छैन सर्वोच्च अदालतको आदेशका वाबजुद पनि, किन यो अचम्मको भेदभाव आफ्नै नागरिक माथि र ?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading