परिवार शृङ्खला–एक

सिक्दै–सिकाउँदै जीवनका रंगहरु

सिक्दै–सिकाउँदै जीवनका रंगहरु

काठमाडौं (पहिचान) पुस १७ – छानो र भित्ताहरुको संयोगलाई मात्रै घर मान्न पक्कै सकिँदैन । अझ साँचो अर्थमा घर बन्नका लागि परिवार चाहिन्छ, चाहे त्यो आफू एक्लैको मात्र किन नहोस् । घर र परिवारको समग्रता आफूसँग जोडिएका मान्छेहरु, सम्बन्धहरु र चिजबस्तुहरुसँग हुन्छ । यसले घरलाई एक भौतिक संरचनाबाट सजीव आश्रय र परिवारलाई नामबाट सम्बन्धको स्वरुप दिन्छ ।

यस्तै एक घर र त्यसका परिवार हुन् म्याट डालास र ब्लु हेमाइल्टन अनि उनीहरुका छोरा क्रो हेमाइल्टन डालास । यो परिवार अहिले अमेरिकाको एरिजोनामा बस्दै आएको छ । उनीहरुले घरलाई भौतिक संरचनाबाट सजीव बनाउन प्रयास गरिरहेका छन् । यो प्रयासले म्याट, ब्लु र क्रोलाई खुशी दिएको छ । सामान्य छन् उनीहरु र प्रयास असामान्य छ ।

क्रोले दुई पिता पाएका छन्, म्याट र ब्लले सन्तान । सामान्य परिवार लागे पनि धेरै अर्थमा उनीहरु फरक छन् । पहिलो कुरा त उनीहरु विवाहित पुरुष हुन् । म्याटका श्रीमान ब्लु र ब्लुका श्रीमान म्याट । अर्थात उनीहरु समलैंगिक पुरुष हुन् । अझ प्रष्ट पारेर भन्दा उनीहरुले जीवन यात्रामा एकअर्कालाई रोजेका छन् र त्यसमा खुशी छन् । सजिलो अप्ठ्रोहरु मिलेर काटेका छन् ।

सामान्य रुपमा समलैंगिक सम्बन्धको आधार बलियो मान्दैन समाज, किनकी यसलाई अझै पनि त्यो रुपमा स्वीकार गरिएको छैन । अमेरिकामै पनि जसरी हेटेरोसेक्सुअललाई सामान्य ठानिन्छ । तर म्याट र ब्लु उदहारणीय दम्पती र पिता बनेका छन् । अनि उनीहरुको घर र परिवार पनि ।

घरबारे उनीहरु

घरलाई छानो र ओत लाग्ने टाउकोहरुको संयोजन मात्रै नमान्ने उनीहरु यसलाई ‘स्टेट अफ माइन्ड’ ठान्छन् । घरको अर्थ परिवार र साथित्व अनि माया र हाँसो हो भन्ने उनीहरुले बुझेका छन् । यस्तै घरको अर्थ कठ्याङ्ग्रिने चिसो र न्यानो पार्ने तातो पनि हो ।

यस्तै घर धेरै चिजहरु र ठाउँहरु, धेरै मानिसहरु र प्राणीहरु हुन् । घर मरुभूमि हो र समुद्र पनि, खोला हो र नदी पनि । यी सबै कुरा उनीहरुले देखेका छन् र बाँचेका छन् अनि मात्रै घरलाई साँचो अर्थमा घर बनाउन सकेका छन् ।

समलैंगिक विवाहले कानुनी मान्यता अमेरिकामा पैले पाएको होला तर उनीहरुले पनि सामाजिक कठिनाइहरु भोग्नु नपरेको भन्ने होइन । म्याट र ब्लुले ती सबैलाई सामना गरेका छन्, उनीहरु कहिले भागेनन् । र बन्यो घर अनि परिवार ।

वैवाहिक जीवन र सन्तान

सन् २०१३ जनवरीमा इनगेजमेन्ट गरेका म्याट र ब्लुले सन् २०१५ को जुलाईमा विवाह गरे । उनीहरुको वैवाहिक जीवनले चार वर्ष पारे गरेको छ ।

यो बिचमा परिवारमा थपिएका छन् क्रो । क्रो उनीहरुका छोरा हुन् । विवाह गरेकै वर्ष म्याट र ब्लुले क्रोलाई एडप्ट्ड गरेका हुन् । उनीहरुले यसबारे युट्युब च्यानल मार्फत जानकारी दिएका थिए । एडप्ट गर्दा दुई वर्षका क्रो अहिले हुर्किँदै गएका छन् र दुई पितासँग जीवन सिकिरहेका छन् ।

वैवाहिक जीवनलाई सुमधुर बनाइ राख्न एकअर्काको तर्फबाट प्रयास गरिरहेका म्याट र ब्लुले क्रोलाई हुर्काउने र जीवनका सबै रंगहरुसँग परिचित गराउनेमा कुनै कसर बाँकी राखेका छैनन् । क्रोलाई उनीहरुले आमा र बुवा दुवै बनेर स्नेह दिएका छन्, जीवनको ओरालोहरु र उकालोहरुसँग परिचित गराउँदै लगेका छन् ।

ब्लु अभिनेता हुन् भने म्याट संगीतकर्मी । उनीहरुले आफ्नो पेशासँगै आवश्यक परेकाहरुका लागि सहयोग गर्ने कर्मलाई पनि साथै लगेका छन् । म्याट, ब्लु र क्रोको जीवनले आकार लिँदै गएको छ र स्वादिलो जीवनको यात्रा गरिरहेका छन् ।

युट्युब लिङ्क क्लिक गर्नुहोस

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.