‘युएईमा मलाई धेरैले प्रेम प्रस्ताव राखेका छन्’

‘युएईमा मलाई धेरैले प्रेम प्रस्ताव राखेका छन्’

काठमाडौं (पहिचान) फागुन २० – ‘हेर्नुस न, युएईले मलाई केटी बनायो’, कलाकार फुलमायाले हाँस्दै भनिन् । उनको हाँसोमा एक युवतीको सौन्दर्यताको माधुर्यता झल्कियो ।

उनलाई युएईका विभिन्न शहरहरुमा आयोजना हुने कार्यक्रमहरुमा कला प्रस्तुत गर्न भ्याई नभ्याई हुन्छ । कुनै दिन त उनी दिनमा ५ देखी ७ वटा सम्म कार्यक्रममा आफ्नो प्रस्तुती प्रदर्शन गर्दछिन् ।

उनले प्रस्तुती दिने कार्यक्रममा उद्घोषकले बोलाउने नामहरु पनि फरक फरक हुन्छन् । फुलमाया,दिलकुमारी, दिलमाया र दिपीका उनका प्रख्यात नाम हुन् युएईमा । उनको प्रस्तुतिले यूएईका वयस्क युवा एवं युवतीहरुले प्रेम प्रस्ताव राख्ने गरेको उनी निःशंकोच बताउँछिन् । नृत्यमा उनको अनुहारको भाव र शरीरका अंगहरुको लचकताले जो कसैलाई रोमाञ्चक एवं झंंकृत गर्ने क्षमता राख्दछ ।

उनी बिभिन्न जातजातीका मौलिक, आधुनिक, लोक एवं पप गीतहरुमा पनि आफ्नो कला प्रस्तुत गर्दछिन् । उनको कला नेपाली समुदाय वा युएईका विभिन्न नेपाली संघसंस्थाद्धारा आयोजित कार्यक्रममा मात्र नभएर युएईका मलहरुमा, क्यारिफोर, अलसाया लगायतका कम्पनीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पनि आफ्नो कला प्रस्तुत गरेकी छिन् ।

१७ बर्ष अघि अनगिन्ती सपनाहरु र पारिवारीक समृद्धिको कल्पना बोकेर प्रवास छिरेकी उनका हालसम्म के कति सपनाहरु पुरा भए त ? त्यसको लेखा जोखा गरेका छैनन । तर नेपाली दर्शकहरुमा छर्न सकेको एक चिम्टी मुस्कान नै उनले प्राप्त गरेको सर्वोत्तम उपलब्धिको रुपमा रहेको उनको बुझाई छ । उनको नृत्यका कारण श्रम गर्ने श्रमिकले अलिकती भए पनि खुशीको महशुस गर्दछ भने त्यो भन्दा ठुलो पुरस्कार र उपलब्धि केही हुन नसक्ने उनको भनाइ छ ।

युएईमा खुलेका विभिन्न संघसंस्थाहरुद्धारा आयोजना गरिएको कार्यक्रममा प्रस्तुति दिए मार्फत प्राप्त गरेका प्रशंसा एवं प्रमाणपत्रहरु झुण्ड्याउनका लागि एकदुई कोठाका भित्ताहरु पर्याप्त नभएको उनी खुसी हुँदै व्यक्त गर्छिन् । तर उनीसँगको सम्वादमा खुसी मात्र हैन ती मनहरुका दुःखहरु पनि गडेर रहेको देख्न सकिन्छ । त्यसैले त उनी भन्दै थिईन्, ‘मानिसहरु गुलाफको फुलमा मात्र मोहित हुन्छन् । तिनिहरुलाई त्यहि गुलाफमा रहेको हाँगाको काढाको के मतलब ?’

आजसम्म उनले कलाकारिता मार्फत करीव ७ सय भन्दा बढी प्रस्तुतिहरु प्रस्तुत गरीसकेका छिन् । सायद युएईमा रहेर यो संख्यमा कला पस्कने कलाकारहरु विरलै होलान । उनले आफुले प्रस्तुत गरेका कलाद्धारा १ प्रतिशतको मात्रै पारिश्रमिक पाएको बताइन् । बाँकी सबै आम नेपाली दर्शकको मनमा खुसीको आभा छर्नका लागि मात्र हो । जीवनयापन र परिवारको जिम्मेबारी निर्वाह गर्नका लागि उनले आफ्नो कार्यस्थलबाट प्राप्त मासिक तलवबाट नै सन्तुष्ट छिन् ।

को हुन् उनी ?

सन् २००२ तिर युएईमा श्रम गर्न आएका नेपालीको संख्या न्यून थियो । त्यसमा पनि नेपाली महिलाको उपस्थिती शुन्य प्रायः थियो । तात्कालिन समयमा युएईमा रहेको तमु समाज, नेपाली समाज लगायतका संस्थाहरुले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा महिला कलाकारहरु थिएनन् । त्यसैले उनी र उनका केही साथीहरुले महिला (केटी) बनेर नेपाली दर्शकलाई मनोरञ्जन दिन थाले । केटी बनेर स्टेजमा कम्मर मर्काएर नृत्य गर्दा यहाँका नेपाली दर्शकले उनलाई देखेर अनगिन्ती प्रेम प्रस्तावहरु राखेका थिए र आज पर्यान्त उनलाई यस प्रकारका प्रस्तावहरु आइरहेका छन् । उनी हुन दिपक गुरुङ ।

उनीसगै केटी बनेर नृत्य गर्ने अन्य कलाकारहरु युएईबाट पलायन भईसकेका छन् । हिजोका दिनमा उनको कलालाई प्रोत्साहन गर्नेहरु आजकल मौन छन् । अन्य महिलाको उपस्थितीका कारण कतिपयले त तिरस्कार समेत गर्दछन् । तर पनि उनको नृत्य र कलाका अगाडि नस्तमस्तक भएका दर्शकका कारण हालसम्म उनले केही पिडा भोग्नु परेको छैन ।

दिपक गुरुङ्ग आजको युएईको नेपाली समाजमा नृत्यङ्गानाका रुपमा स्थापित भईसकेको नाम भएता पनि नेपाली संघसंस्थाहरुले उनको उचित मुल्याङ्कन भनें गर्न सकेको छैन ।

साभार : देश परदेश

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.