अन्याय र अत्याचार सहेर कति बसौ ?

अन्याय र अत्याचार सहेर कति बसौ ?

काठमाडौं (पहिचान) फागुन ३० – जन्म, मरण प्राकृतिक नियम हो । प्रकृति अनुकुल वाताबरणको संयोगले मानिसको जन्म हुन्छ । जन्मनु कसैको दोष हैन । यो हामी सबैले बुझेका छौ । तर किन याहा बुझ पचाइन्छ ? किन विभेद गरिन्छ ?

सामाजिक धार्मिक कारण देखाइ यहाँ त बाबु आमा समेत पराइ हुन्छन । अबोध जन्मने बालकको दोष देखाएर परिवार, समाज र राज्यले समेत हरदम अन्याय र अत्याचार गरिरहेको छ । फरक पहिचान खोज्नु के गल्ती हो ?

बाबु आमा समाजिक वातावरण वा कुन कारणले भिन्न पहिचानको बाल बच्चाको जन्म हुन्छ यो कुराको खोजि गर्ने काम राज्यको होइन र ? किन एकोहोरो भएर पहिचान खोज्नेहरु बिरुद्दमा लागिरहन्छ यो परिवार, यो समाज र यो राज्य ?

मानिस स्वतन्त्र प्राणी हो । मानिसले स्वतन्त्र भएर बाच्न पाउनु पर्छ । यो लोकतन्त्र र संसारको मान्यता हो । तर खै भिन्न पहिचान खोज्नेहरुको लागि लोकतन्त्र ? खै मानव अधिकार ? कुनै पनि देशको नागरिकले स्वतन्त्र नागरिक भएर बाँच्न पाउने अधिकार हुन्छ । तर किन यहाँ नागरिकलाई यो वा त्यो बाहानामा नागरिकता, रोजगारी, विवाह आदि धार्मिक, सांस्कृतिक कुराहरुबाट बञ्चित गराइन्छ ?

नेताको भाषण सुन्ने हो भने उहाँहरुले नजाने नबुझेको केहि छैन सबै कण्ठ छ, गर्दैनौ हुदैन त उहाहरुले कहिले भन्नु हुन्न । तर कामको नाममा पहिचानको लडाई लडने नागरिकका लागि खै के गरियो ? यो अन्याय र अत्याचार सहेर कति बसौ ?

संसारमा अधिकारका नाममा विभिन्न नीति नियम बनेका छन । संघ संस्थाहरु छन । राज्यले ती नीति नियम संघ संस्थाहरुमा सहमति र सम्झौता गर्दै पनि आइरहेको छ । यसै मध्यको एक हो नेपालको मानव अधिकार आयोग । तर खै कार्यान्वयन ?

म मानव अधिकारबादीहरुलाई प्रश्न गर्न चाहान्छु, मानव अधिकार भनेको एउटा मान्छेले आमाको गर्बमा रहेदेखी जन्मेर नमरुनजेलसम्म पाउनु पर्ने अधिकार हैन र ? कि तपाईको परिभाषा अर्कै केही छ ? त्यो पनि जान्ने इच्छा छ ।

तपाइको संगठनको काम, राज्यबाट वा राज्यका कोही कसैबाट काहीँ कसैमाथि थिचोमिचो अन्याय भै रहेको छ भने पीडितलाई न्याय दिलाउनका लागि राज्य वा सम्बन्धित निकायलाई घचघचाउनुु, पीडितको पक्षबाट न्यायका लागि लडेर भए पनि अधिकार दिलाउनु पर्ने हैन र ? खै के उपलब्धी हासिल गरेको छ पहिचानको लडाइ लड्नेहरुका लागि ?

कि तपाइको संगठनको क्षेत्र भित्र पर्दैनन् यौनिक तथा लैंगिक अल्पसंख्यक ? आखिर यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि मानिस हुन नि । यो कुराको जबाफ दिनु हुन पनि म तपाईं मानव अधिकार बादीका रक्षक हौ भनेर गौरबले छाती फुलाउनेहरुलाई हार्दिक अनुरोध गर्दछु ।
साथै राज्यको उपल्लो तहमा आसिन हुनुभएका राज्य सञ्चालकहरु ? एउटा सामान्य मानिसलाई जति आत्मा सम्मान र राज्यबाट पाउनु पर्ने सेवा सुबिधाहरु पाउने अधिकार हुन्छ, एलजिबिटिआईहरुलाई पनि त्यतिनै अधिकार हुन्छ र हुनुपर्छ ।

हामी पनि नागरिक हौ । कुनै छुट्टै ग्रहबाट आएर बसेका शरणार्थी हैनौ । तपाइहरुको जस्तै हाड, छाला, मासुबाट बनेको हाम्रो शरीर । तपाईंहरुलाइ जस्तै हामीलाइ पनि भोक तिर्खा थकाइ हरेक इच्छा चाहानाहरु हुन्छन ।

फरक यति हो तपाईको अन्तर मनबाट उत्पन्न हुने इच्छ शक्ती र हाम्रो अन्तर मनले चाहाने इच्छाशक्तिमा फरक होला । के यो हाम्रो अपराध हो ? चाहेर हामी फरक लिङ्गको भएका हैनौ । यो त प्रकृतिले दिएको बर्दान हो । यसलाइ अभिसाप बुझ्ने तपाइको सोच परिबर्तन गर्न आबश्यक छ ।

देवताको पालामा समेत रहँदै अहिले चल्दै आएको फरक पहिचानको बारेमा किन टाउको दुखाइको बिषय भयो ? स्मरण होस राज्यका उपल्लो ओदाहामा असिन हुनुहुने माहामहिमहरु, अन्तर आत्माबाट उत्पन्न हुने उर्जा भन्दा ठूलो दुनियामा कसैको लागि केही हुदैन ।

यही अन्तर आत्माबाट उत्पन्न भएको प्रेरणाको कारण तपाईं हजारौ अबसरको बावजुत पनि बर्षौ जेल नेल भोगेर राजनीतिमा होमिनु भयो । यो सिवाय तपाईको अन्तर मनले बाँकी केही सोच्नै सकेन । किनकी यो तपाईको अन्तरमनको दृढ इच्छा शक्ति थियो ।

तपाईंलाई राजनीतिक ईच्छा शक्ति अन्तरमनबाट जसरी उत्पन्न भएको थियो त्यसै गरि हामीलाई पनि जन्मजात छुट्टै लिंगको पहिचानबाट दुनियाँमा बाच्न पांउ भन्ने ईच्छा शक्तिको उत्पन्न भयो । उमेर संगै त्यो इच्छा शक्ति बढ्दै र झांगिदै गयो । तपाइको इच्छा शक्ति भन्दा मेरो अन्तरमनको चाहाना फरक लागे पनि फरक छैन ।

तपाईले जुन उर्जा उत्पन्न भएर राजनीतिको बाटो अपनाउनु भयो, मेरो अन्तर मनबाट पनि छुट्टै पहिचान खुलाएर यो देशको नागरिक भएर बाच्ने उर्जाको बिकास भयो । यो मेरो बरदान हो ।

अन्र्तमनबाट उत्पन्न भएको इच्छा शक्ती हो । माछा मार्छु भनेर सोचेर बनाएको जाल हारेर राजनीति गर्न हामफालेको युवा आफ्नो कर्मवाट जसरी रमाउछ, म पनि यो देशमा मेरो कर्मबाट रमाउन पाउनु पर्छ र रमाउन चाहान्छु ।

अहिलेसम्म आश्वासन बाहेक केही पाउन सकिरहेका छैनौ । यो भन्दा धेरै सोच्न हामीलाई बाध्य नपारियोस । यो वा उ बाहानामा भुल्याउन नखोजियो । हाम्रो धैर्यताको बाध फुट्न नदिनु होला ।
धन्यवाद
(महिला पुरुष भन्दा फरक लैंगिक पहिचानमा आफूलाई उभ्याएकी जेसिका खुल्न नसकेकी एलजिबिटिआई भित्रकी अल्पसंख्यक हुन ।)

उनको पहिलो लेख पढ्नुहोसमलाई श्रीमतीसँग सुत्ने चाहनै छैन….

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.