पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नु परेको गुनासो

पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नु परेको गुनासो

रुपन्देही (पहिचान) जेठ २२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिंगी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको गुनासो गरेका हुन् ।

सरकारी निकाय, विभिन्न संघसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला र पुरुषमात्रै उल्लेख गरिएको हुन्छ । तर हामी कहाँ जाने ? उनीहरुको प्रश्न छ । यसरी प्रश्न गर्नेमा तेस्रोलिंगी अवान्तिका घर्तीमगर, पुष्पा लामा, शिशिर भट्टराई, रेशम न्यौपाने लगायतका छन् । उनीहरुले तेस्रोलिंगी भएकै कारण आफूहरु परिवारबाट निकालिएको गुनासो गरे ।

नील हिरा समाज रुपन्देहीकी अध्यक्ष आनिक रानाले तेस्रोलिंगी समुदायको पहिचान स्वीकार गर्ने वातावरण बनाउन सरोकारवालालाई आग्रह गरिन । हरेक व्यक्तिले सम्मानजनक जीवन जिउन पाउने अधिकारको हनन भए आयोगमा उजुरी दिन यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ का प्रमुख सम्झना शर्माको सुझाव छ ।

“मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ शुरु हुन्छ यदि शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट वञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ ।” शर्माको भनाई छ । आयोगका उपनिर्देशक पवनकुमार भट्टले कुनै पनि व्यक्तिले विनाभेदभाव जिउन पाउने अधिकार भए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा समस्या भएको उल्लेख गर्दै ऐन कानून फेरिए, व्यवस्था फेरियो तर व्यवहार फेरिएन भने ।

अधिवक्ता बाबुराम पाण्डे, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, गैरसरकारी संस्था महासङ्घ रुपन्देहीका अध्यक्ष रिमा विसी लगायतले तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण बदल्न समाजमा व्यापक सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

स्रोत : बुलेटिन नेपाल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.