भारत गएका सुरेन्द्र जब प्रिया बनेर फर्किए…

भारत गएका सुरेन्द्र जब प्रिया बनेर फर्किए…

कञ्चनपुर (पहिचान) असार १९ – पाँच वर्षअघि भारतमा रोजगारीका लागि गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २२ वर्षीय सुरेद्र सिंह माल युवतीको पहिरनमा घर फर्केपछि परिवारले चिन्नै सकेनन्।

घरको आँगनमा आएर बसेपछि सबैले उनलाई एकोहोरो नियाल्न थाले। सुरेन्द्र आफैँले भारतमा गएको यही घरको छोरो भन्दा पनि परिवार र छिमेकीले विश्वासै गरेनन्। आवाज छोराकै जस्तो भए पनि पहिरन महिलाको भएकाले ठम्याउन गाह्रो भयो। सुरेन्द्रका बुवा जयराज मालका अनुसार आमा गंगादेवीले धेरै समय कुरा गरेपछि छोरो हो भन्ने ठम्याएको बताए।

कमाउन भारत गएको छोरो एक दिन फर्केर घर आउला भन्ने सोचेको थिएँ,  उनले भने,  ‘लिङ्ग नै परिवर्तन गरेर महिला भएर आएपछि निकै तनावमा छौं।’ सुरेन्द्र माल परिवारका माहिला छोरा हुन्।

भारत यात्राको कथा

राष्ट्रिय माध्यमिक विद्यालय पहरियामा कक्षा १२ मा पढ्दै गर्दा सुरेन्द्र वि.सं. २०७१ सालमा भारतको उत्तराखण्डस्थित देहरादुन पुगे। उनका बुवा जयराज माल देहरादुनमै गाडी चालक थिए। कामको खोजीमा सुरेन्द्र पनि हरिद्वार पुगे। त्यहाँ एउटा निजी पसलमा उनले काम पाए। पसलमा काम गरेर पाएको तलबमध्ये केही आफूलाई राखेर बाँकी बुवालाई दिन्थे।

‘पसलमा थोरै तलब थियो,’ सुरेन्द्रले भने, ‘त्यसपछि कम्प्युटर सिकेपछि गेष्ट हाउसमा काम गरेँ। त्यहीबेला एक अपरिचित गुरुजी भन्ने व्यक्तिले बारम्बार भेट्न थाले। थोरै तलबमा काम नगर, दोब्बर तलब दिन्छु भनेपछि बुवालाई पनि नभनी हिँडे।’

उत्तराखण्डबाट उत्तरप्रदेश 

सुरेन्द्रलाई उत्तराखण्डबाट सीधै उत्तर प्रदेशको मेरठ पुर्याइयो। जहाँ उनलाई केही दिनमै तेश्रोलिङ्गी काम गर्ने इलियास खानको घरमा काममा लगाइयो। गुरुजी भनिने पनि तेश्रोलिङ्गी नै रहेछन्। काम गर्दै जाँदा उनले यो कुरा थाहा पाए। देख्दै खाइलाग्दा युवा सुरेन्द्रको जीवनले त्यसपछि अर्को मोड लियो। आर्कषक जीउडाल भएका उनलाई तेश्रोलिङ्गी बनाउन यातना दिन थाले।

तर त्यहाँका तेश्रोलिङ्गीहरुलाई झुक्याएर उनी त्यहाँबाट भाग्न सफल भए। भागेर बुवा बस्दै आएको हरिद्वारस्थित डेरामै पुगे। बुवाले कहाँ गएको यतिका दिन भनेर सोधे। उनले सबै कुरा बेलिविस्तार लगाए।  त्यसपछि उनी एक पटक नेपाल आए। घरमा बसेर जीविका नचल्ने भएपछि पुनः उनी हरिद्वार पुगेर काम खोज्न जुटे।

अनि अपहरणमा परे

हरिद्वारबाटै उनलाई अपरिचित व्यक्तिहरुको समुहले राति अपहरण गरेर गाडीमा राखी पञ्जावको चण्डीगढ पुर्याए। कागजमा हस्ताक्षर गर्न लगाएर घरमै बन्धक बनाइ राखियो। तर मेरठमा जस्तो यातना दिएनन्। केही दिनपछि औषधि खान दिएपछि उनी बेहोस भए।

जब उनी होसमा आए, तब शरीरमा निकै परिवर्तन भएको महसुुस गरे। पाँच दिनपछि उनी होसमा आउँदासम्म उनको लिङ्ग काटिइसकेको थियो। ‘लिङ्ग काटिएपछि पुरुषमा हुने गुणहरु हराउँदै गए।

पहिलाझैँ लिङ्ग थिएन। त्यतिबेला निकै रोएँ। तर केही सीप लागेन’, शारीरिक रुपमा कमजोर सुरेन्द्रले भने, ‘आफूलाई महिलाझैँ सम्झिन थालेँ। त्यो सबै औषधि खुवाएर भएको हो।’ उनका अनुसार औषधि खुवाउने घर मालिक इलियास नै हो। दुई वर्ष निकै तनावमा बिताएको उनले सुनाए।

तेश्रोलिङ्गीसँगै कडा पहरामा डान्सबारमा नाच्न पठाउन थालियो। त्यही क्रममा उनी गुजरात पनि पुगे। धेरै रकम उनीहरुले आफैँ राख्थे। थोरै दिन्थे’, सुरेन्द्रले सुनाए, ‘त्यसले श्रृंगारमै ठीक्क हुन्थ्यो। सुरेन्द्र नाम परिवर्तन गरी प्रिया राखिदिएका छन्’ झलारी इलाका प्रहरी कार्यालयमा पुगेका बेला उनले भने।

वि.सं. २०७५ साल फागुनमा उनी इलियासको छोरा नइमसँगै पुनः नेपालस्थित घरमा आए। इलियासले जीपसहित मान्छे पठाएर फेरि भारतको मेरठ लगे।

न पुरुष न महिला

नाचगानकै लागि जम्मु कश्मीर पुगेका बेला नइमको सहयोगमा उनी जेठ अन्तिम हप्ता यहाँ आइपुगेका हुन्। इलियासले कतै नजानु, म आउँदैछु भनेका थिए। तर दुवैजना भाग्दै गरेका बेला भम्केपानीबाट फेला पारी स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय झलारीमा बुझाएका थिए।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले सुरेन्द्रसँगै रहेका नइमलाई लिङ्गबारे सोध्दा न महिलाको न पुरुषको जस्तो छ भनेको बताए।

सुरेन्द्रको खोजीमा भारतीय नम्बरको अमर उजाला लेखिएको स्कारपियो जीपसहित रिजवान खाँन, मोहम्मद रफी र सुहेल खान नेपाल आएका छन्।

तीनैजना अहिले प्रहरी हिरासतमा छन्। तीनमध्ये रिजवान खाँनसँग दैनिक जागरणको परिचयपत्र फेला परेको प्रहरी निरीक्षक अवस्थीले बताए।

पक्राउ परेकाविरुद्ध सुरेन्द्रका बुवा जयराजले इप्रकामा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले सुरेन्द्र कसरी प्रिया भए भन्नेबारे अनुसन्धान गरिरहेको छ।

अर्कातिर सुरेन्द्रले आफ्नो छोरा नइमलाई अपहरण गरी नेपाल लगेको भन्दै इलियासले थाना खुसहाल नगरमा उजुरी दर्ता गरेको रिजवानले प्रहरीलाई बताएका छन्।

साभार : थाहा खबर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading