“महिला र पुरुषबीच मात्र हुन्न विवाह”

“महिला र पुरुषबीच मात्र हुन्न विवाह”

काठमाडौं (पहिचान) असार २४ – कीर्तिपुर नगरपालिकका प्रमूख रमेश महर्जनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । उनले कीर्तिपुर नगरपालिका यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा अग्रसर हुने पनि बताए ।

कीर्तिपुर नगरपालिकाको आर्थिक सहयोग र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकोे आयोजनामा कीर्तिपूर नगरपालिकामा स्थानीय जनप्रतिनिधि पत्रकार, सरोकारवाला, नेपाल प्रहरी र समुदायसँग अभिमूखीकरण कार्यक्रममा नगरप्रमुख महर्जनले नगरपालिका अग्रसर हुने बताएका हुन् ।

यो समुदायले आफ्नो अधिकार सुनिश्चित गर्न गाईजात्रा पर्वलाई प्रयोग गरेर अगाडि आएको र अहिलेको अवस्थासम्म आइपुग्दा आफूलाई खुशी लागेको महर्जनको भनाई छ । उनले हरेक स्थानीय तहले आफ्नो तवरबाट केही बजेट छुट्याएमा यो समुदायलाई धेरै लाभ हुने बताए ।

कार्यक्रममा सहभागी मध्येका एकजनाले यो समुदायको फरक व्यवहारले गर्दा अरु आम मानिसले यो समुदायलाई हेर्ने व्यवहार फरक रहेको सुनाए । समाजमा स्वीकार्यता पाउन यो समुदायले आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने उनले जोड दिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी उपाध्यक्ष भूमिका श्रेष्ठले तेस्रोलिंगीलाई ठाँउ परिवेश र व्यक्ति विशेषले फरक फरक उपनाम दिने गरेको बताइन । समाजले अपेक्षा गरेको अनुमान भन्दा फरक प्रस्तुतीकरण गर्दा, जन्मेको लिंगको भन्दा फरक सामाजिक लिंगमा रुपान्तरण हुँदा तेस्रोलिंगीले सानै उमेरदेखि विभिन्न किसिमको विभेद लाल्छना र मानसिक भावनात्मक असरहरुको सामना गर्नु परेको भूमिकाको भनाई छ ।

उनले खुलेर आफ्नो भावना पोख्न नसक्दा परिवार समाजले नबुझ्दा स्कुलमा पनि उसले चाहे जस्तो वातावरण नहुँदा पढाई पुरा गर्न नसक्ने अबस्था कायम रहेको बताइन । पारिवारिक दवाव र समाजबाट विभेद हुने डरले कतिपय समलिंगी तेस्रोलिंगी व्यक्तिहरुले गुमनाम जिन्दगी वा दोहोरो जिन्दगी बाँच्नुपरेको पीडा भूमिकाले सुनाइन । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा जानकारी लिन वा दिन स्कुलदेखि पढाउनुपर्नेमा जोड दिइन ।

‘पश्चिमी राष्ट्रको देखासिकी गरेर होइन यो समुदाय परापूर्वकाल देखि नै थियो भनेर रामायण महाभारत आदिका पात्रहरुको उदाहरण दिदै भूमिकाले भनिन्, यने समुदायको अधिकार संविधानको धारा १२, १८ र ४२ मा लेखिएको छ तर कार्यान्वयन पक्ष भने फितलो छ ।’ उनले संविधानको धारालाई पूर्ण कार्यान्वयन गर्न स्थानिय जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने बताइन । समानता र समावेशी समाज निर्माण गर्न स्थानीय जनप्रतिनिधिहरु यो विषयमा जानकार हुनु पर्नेमा भूमिकाले जोड दिइन ।

‘अन्य’ उल्लेख गरेर नागरिकता लिन पाउने प्रावधान भएपनि कतिपय ठाँउमा लिन सहज वातावरण नभएको र नागरिकता ऐन संसोधन गर्न बनेको विधयेकमा समुदायलाई सहज हुने नीति हुनुपर्ने भूमिकाले माग गरिन । ‘समाजमा विपरितलिंगी भन्दा फरक समलिंगी, द्विलिंगी जस्ता फरक यौनिक झुकाव र अभिमूखीकरण भएका व्यक्ति पनि हुन्छन ‘उनले भनिन् । यो समुदायले परिवार, स्कुल, समाज, रोजगारी, शौचालय आदिको प्रयोगमा फरक फरक किसिमको लाल्छना र भेदभाव खेप्दै आईरहेको उनले जानकारी दिइन ।

कार्यक्रममा सहभागी सुदीप गौतमले आफ्नो लैंगिक पहिचान अनुरुपको स्वरुपमा रुपान्तरण हुन थुप्रै किसिमको पारिवारिक समस्या भोग्नुपरेको बताए । अहिलेको वर्तमान अवस्थामा उचित र सहि परामर्श दिने संस्थाहरु नहुदाँ थुप्रै किसिमको मानसिक र शारीरिक समस्या भोगेको सुदीपको भनाई छ । जैविक लिंग महिलाको र सामाजिक लिंग पुरुषको हुँदा महिनावारी हुँदा धेरै गाह्रो र असहजले गर्दा आफूले सल्यक्रिया गरेको उनले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बोलिचालिको भाषामा के भनेर बोलाउने ? प्राकृतिक हो वा अप्राकृतिक ? समाजमा स्वीकार पाउन कसको के भूमिका हुन्छ भनेर प्रश्न गरेका थिए । यस्तै वयस्क अवस्थामा शारीरिक इच्छा कसरी परिपूर्ति गर्छ ? विवाहपश्चात के त भनेर पनि प्रश्न गरेका थिए ।

यो समुदाय देखासिखि वा सँगतले र हर्मोनको कमजोेरीले पनि नहुने यौनिक तथा लैंगिक अल्पसंख्यकले प्रष्ट पारेका थिए । ‘महिला र पुरुषको प्राकृतिक प्रकृयाबाट जन्मेका हामी सन्तान हौँ र हामी प्राकृतिक नै हौँ प्रश्नको जवाफ दिदै उनीहरुले भने, सामाजिक लिंगको आधारमा हामीलाई जस्तो देखिन्छ त्यही अनुरुप नामाकरणले बोलाउदा वा मानिसको जस्तो व्यवहार गर्दा राम्रो हुन्छ ।’

हरेक व्यक्तिको नजर दृष्टिकोण र व्यवहार फरक फरक हुने र यो समुदायप्रतिको नकारात्मक सन्देश र जटिलतालाई कम गर्न सबैको समान दायित्व र भूमिका हुनुपर्नेमा समुदायका व्यक्तिहरुले जोड दिए । ‘शारीरिक इच्छा एक इच्छा मात्र हो त्यसलाई सन्तुष्टि लिने धेरै उपाय छन्, त्यो व्यक्तिपिच्छे फरक फरक हुन्छ र विवाह सन्तानको लागि मात्र होइन उनीहरुले भने, महिला र पुरुष विचको मात्र पनि होइन । दुई आत्माको मिलन नै विवाह हो तसर्थ विवाहको परिभाषा महिला र पुरुष अनि बंशजमा मात्र सिमित राख्नु हुदैन ।’

सबैले आ आफ्नो स्थानबाट निस्वार्थ रुपमा समाजमा केही योगदान पु¥याउनुपर्ने बताउँदै समलिंगी तेस्रोलिंगी लैंगिक समानता कायम राख्न र दिगो विकास लक्ष्य हासिल गर्न कीर्तिपुर नगरपालिकालाई सदैव साथ दिने प्रतिवद्धता जनाए ।

वडा नम्बर १० का अध्यक्ष अमन महर्जनले यो विषय आफ्ना लागि नयाँ लागेको तर यो कार्यक्रम पश्चात आफूलाई केही पुराना कुराको स्मरण भएको बताए । उनले आफुले अज्ञानताबस केही हदमा यो समुदायको व्यक्तिलाई आफुले पनि जिस्काएको र अहिले आएर बुझ्दा आफुले कत्रो गल्ती गरेको कुराको महशुस हुँदा नमज्जा लागेको सुनाए । अबको दिनमा नगरपालिकाको सहयोगमा आर्थिक वर्षको बजेट विनियोजनमा यो समुदायको उत्थानको लागि कस्ता कार्यक्रम ल्याउन सकिन्छ वा निर्माण गर्न सकिन्छ भन्ने कुरामा आफू जानकार रहेको र त्यहि अनुरुप पहल गर्ने प्रतिवद्धता वडा अध्यक्ष महर्जनले जनाए ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्काले यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा बुझाउने हामी सबैको साझा कुरा भएको बताइन । संविधानमा उल्लेख भएको समुदायलाई हामीले पनि सहज रुपमा लिई स्थानीय स्तरमा पनि संबोधन गर्नुपर्छ त्यो स्थानीय तवरको दायित्व हो उपप्रमुख खड्काले भनिन् ।

उनले हरेक क्षेत्रमैत्रीपूर्ण कुरालाई अब व्यवहारमा उतार्नु पर्नेमा जोड दिइन । ‘तीन तहको सरकारमा यो विषयमा जानकार हुनुपर्छ समाजलाई रुपान्तरण र रुपान्तरित समाज बनाउन यो समुदायको पनि सम्बोधन हुनु जरुरी छ उनले भनिन, यो नगरपालिकाको यस समुदायसँग छुट्टै किसिमको भावनात्मक समबन्ध रहेको छ र यो समुदायले कीर्तिपुर नगरपालिकालाई स्थानीय स्तरमा दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गरेको छ ।’ उनले यस समुदायलाई आगामी बर्ष पनि बजेट विनियोजन गरी सशक्तिकरण गरिने प्रतिबद्धता जनाइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.