सुदिपको सघर्ष : सिफारिस माग्दा वडा अध्यक्षको ब्ल्याक लिष्टमा

सुदिपको सघर्ष : सिफारिस माग्दा वडा अध्यक्षको ब्ल्याक लिष्टमा

मकवानपुर (पहिचान) कार्तिक २१ – समाजमा जाति, समुदाय, भाषा, धर्म लगायतको पहिचानको लागि विभिन्न संघर्षहरु भइ रहेका छन् । विश्वमा यसको अलवा लैंगिक पहिचानको लडाईं पनि धेरै अघिदेखि चल्दै आएको छ । नेपालमा पनि अनुमानित ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय आफूहरुको यौनिक पहिचानको लडाईं लडिरहेका छन् ।

यसमध्ये एउटा नमीठो अनुभव सँगाल्दै नाम र पहिचानको लडाईं लडिरहेका व्यक्ति हुन मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ (साविक आमभन्ज्याङ गाविस–८) का सुदिप गौतम । अन्य पुरुषको झैं उनको पनि दाह्री जुङ्गा पलाएको छ । हाउभाउ, भेषभुषा र बानी बेहोरा सबै पुरुषकै छ । तर, उनको लैंगिक पहिचान भने महिलाको हो । पुरुष तेस्रोलिंगीको परिभाषाभित्र पर्ने उनी वर्षौंदेखि आफ्नो नाम र पहिचानको लागि संघर्षरत छन् ।

१६ वर्षकै उमेरमा २०६६ सालमा नागरिकता बनाएका २६ वर्षीय सुदिपको नागरिकताको नाम भने सुदिपा गौतम हो । महिलाको रुपमा जन्मिएर आफ्नो अलग पहिचानका कारण पुरुषको हाउभाउ र भेषभुषा अपनाएका सुदिप समाजबाट तिरस्कृत बने । लाञ्छना र भेदभाव सहन नसकेपछि उनी २०६८ सालमै काठमाडौं हानिए । दिदीको सहायताले उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि लडिरहेको संस्था नील हिरा समाजको सम्पर्कमा पुगे । हाल समाजको कार्यक्रम संयोजकको रुपमा काम गरिरहेका सुदिप आफ्नो पहिचान सहितको नाम चाहन्छन् । तर उनले पटकपटक प्रयास गरे पनि सफल भने हुन सकेका छैनन् ।

‘म महिला भएर जन्मिए पनि मेरो स्वभाव र व्यवहार भने पुरुषको हो । व्यवहार मात्र हैन फरक हर्मनको कारण मेरो दाह्रीजुङ्गा पनि पलाएको छ । म मेरो पहिचानअनुसारको नागरिकता चाहन्छु । तर मेरो नाम परिवर्तनको लागि वडा कार्यालयले सिफारिस गर्न आनाकानी गरिरहेको छ ।’ सुदिपले भने । जन्मँदा महिलाको लिंग लिएर जन्मिएकै कारण परिवारले उनको नाम सुदिपा राखिदिए । हुर्कँदै जाँदा उनमा फरक हाउभाउ र स्वभावको विकास भयो । फरक हाउभाउकै कारण परिवारले समेत उनलाई घृणा गर्न थाले ।

१६ वर्षको उमेरमा नागरिकता बनाउने बेलामा नै तत्कालीन सुदिपाले पुरुषको पहिचानसहितको नागरिकता चाहेका थिए तर, उनले परिवार र वडा कार्यालयको दबाबका कारण पहिचानअनुसार नागरिकता पाएनन् । अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि लड्दै आएका उनले आफ्नो नागरिकतामा भएको सुदिपा नामलाई सुदिपमा परिवर्तन गर्ने प्रयास गरे पनि सफल भने हुन सकेका छैनन् ।

‘म दुईपटकसम्म गढी–६ का वडाध्यक्ष टीका दाहालसँग नाम परिवर्तनको सिफारिस गरिदिन अनुरोध गर्दै वडा कार्यालय धाएँ । उहाँले कुनै पनि हालतमा नाम परिवर्तन गर्न सिफारिस गर्न नसक्ने भन्दै पन्छिए । कि म नेपाली नागरिक नै होइन भन्नु प¥यो होइन भने मैले रोजेको नाम राख्न त पाउनुप¥यो नि ।’ सुदिपले भने । वडाध्यक्षलाई फेसबुक र फोनमार्फत पनि पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको र पछि वडाध्यक्ष दाहालले फेसबुकमा ब्लक गर्नुका साथै मोबाइल नम्बर पनि ब्ल्याक लिष्टमा राखेको सुदिपले सुनाए ।

नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज किरणले नेपालको संविधान अनुसार सुदिपले आफ्नो पहिचान सहितको नागरिकता पाउनुपर्ने बताए । ‘संविधानमा लैंगिक तथा यौनिक अल्पसंख्यकको हक अधिकार सुनिश्चित गरिएको छ । पहिचानको आधारमा तेस्रोलिंगीलाई ‘अन्य’ उल्लेख गरी नागरिकता दिइने व्यवस्था छ । तर, कार्यान्वयन भने किन गरिँदैन ?’ किरणले भने ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या र चुनौतीका बारेमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा गौतमको समस्याको विषयमा बोल्दै हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नविन सिग्देलले समस्या समाधानको लागि पहल गरिने प्रतिवद्धता जनाए । संविधान र कानुनमा उल्लेख भएको विषय भए वडाध्यक्षले रोक्न नमिल्ने उनको भनाइ थियो ।

हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिनाले सामाजिक र व्यहारिक रुपमा देखिएका समस्या हटाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार दिलाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए । कानुनी रुपमा देखिएका जटिलता हटाउन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अधिकारको लागि न्यायिक लडाईं लड्न उनले सुझाए ।

गढी गाउँपालिका–६ का अध्यक्ष टीका दाहालसँग सुदिपको नाम परिवर्तनको सिफारिस रोकिएको बारेमा प्रतिक्रिया माग्दा आफूले कानुन र प्रक्रियाको बारेमा बुझेर नाम परिवर्तनको सिफारिस गर्ने प्रतिबद्धता जनाए । ‘नाम परिवर्तनको लागि एक वर्षअघि सिफारिस बनाउन लागि फोन गर्नुभएको थियो । मैले कानुन र प्रक्रिया सिडिओ सापसँग बुझेर मात्र सिफारिस गर्छु । भनेको थिएँ । त्यसपछि उहाँसँग सम्पर्क भएको छैन ।’ वडाध्यक्ष दाहाललले भने । तेस्रोलिंगीसँग सम्बन्धित संघसंस्थाद्धारा वा अन्य कुनै निकायबाट तेस्रोलिंगी भएको प्रमाणित कागज पाएमा अझ सिफारिस गर्न सहज हुने उनको भनाइ थियो ।

स्रोत : प्रदेश समाचार

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.