‘जन गणनामा तथ्यांक आउनु पर्छ’

‘जन गणनामा तथ्यांक आउनु पर्छ’

काठमाडौं (पहिचान) मंसिर २२ – यो कुनै दन्त्य कथा होइन । वास्तविक जीवन यसरी मोडियो कि सायद धेरैलाई अहिले पनि पत्याउन मुश्लिक नै पर्छ होला तर, पत्याउन कुनै संकोज मान्नु नपर्ने आनिक राना मै हुँ । मेरो शैक्षिक प्रमाणपत्र, नागरिकता र राहदानी हेर्नु भयो भने त्यसमा आनिक शब्द नै छैन । यही नामका लागि बर्षौदेखि संघर्ष गर्दै आएकी म तेस्रोलिंगी महिला हुँ ।

जन्मदाँ पुरुष र हुर्कदै बढ्दै जादाँ आएको महिला स्वभावकै कारण म तेस्रोलिंगी महिला भएकी हुँ । बिडम्वना जे नामले चिनिएको छु, त्यो नामको सरकारी कागजात प्राप्त गर्न सकेको छैन ।

१६ बर्ष उमेर पुगेपछि पाउने बंशजको नागरिकतामा मेरो नाम यमबहादुर राना लेखिएको छ । राहदानीमा यमबहादुर नै छ । नाम परिवर्तन गर्न नपाएपनि पुरुष लैंगिक पहिचानमा लिएको नागरिकताको प्रतिलिपि निकाल्दा भने अन्य लैंगिक पहिचान जनाइएको छ । २०६९ साल पुसमा गृह मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नागरिकता दिन जारी गरेको निर्देशिकामा अन्य उल्लेख गरेर नागरिकता दिने उल्लेख छ ।

गृहले परिपत्र नै जारी गरेर जिल्ला प्रशासन कार्यालयहरुलाई पुरुष, महिला र अन्य लैंगिक पहिचानमा नागरिकता दिन भनेपछि मैले नागरिकताको प्रतिलिपि निकालेकी हुँ । मैले अहिले बोकिरहेको नागरिकताको लिंगको महलमा अन्य लेखिएको छ । पुरुषले पुरुष, महिलाले महिला भने जस्तै म जस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकले अन्य जनाएर नागरिकता लिन सहज बन्दै गएको छ । तर, नाम परिवर्तन भने गर्न पाइएको छैन । यसका लागि पनि म सर्वोच्च अदालतसम्म पुगेकी छु ।

सर्वोच्च अदालतले आदेश दिएपनि मैले यमबहादुरको सट्टा आनिक नाम राखेर नागरिकता लिन पाएको छैन । अहिले छलफलको क्रममा रहेको नागरिकता विधेयकमा अन्य लैंगिक पहिचानमा नागरिकता लिन चिकित्सकको सिफारिस पेश गर्नु पर्ने प्रावधान राखेको देख्दा मन खिन्न भइरहेको छ । यसले अन्य लैंगिक पहिचानमा नागरिकता लिने यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समस्या पर्ने देखिन्छ ।

म जन्मिएर न्वारनमा राखिएको नाम यमबहादुर राना हो । विद्यालयमा शिक्षकले राखिदिएको नाम आनिक हो । म तिलोत्तमा नगरपालिका वडा नम्वर ८ मा जन्मिएको हुँ । मेरो उमेर अहिले ४२ बर्षको भयो । म नील हिरा समाजमा आवद्ध छु भने सशक्तिकरण नेपालको अध्यक्ष छु ।
मैले माध्यमिक शिक्षा श्री कुवँरवर्ती इंगलिश वोर्डिङ स्कूलबाट पुरा गरे । स्कूलमा मलाई गरिने व्यवहार राम्रो थियो तर, कहिले काँही सहपाठीहरुद्धारा उपनाम ‘हिजडा, छक्का’ दिने गर्थे ।

म आफूमा आएको परिवर्तन कक्षा ८ मा अध्ययन गर्दा थाहा पाए । पहिलो पटक महिलाको स्वरुपमा आउँदा साडी लगाएको थिए । गाली भन्नु भन्दापनि हेर्ने दृष्टिमा हेय पाएको थिए । आमा म सानो हुँदा नै गुमाएको थिए भने बुबाको व्यवहारमा कहिल्यै म प्रति परिवर्तन आएन । तर, सौतेनी आमाको व्यवहारले दिनहुँ मानसिक यातना भोग्नु पर्यो । जसका कारण म घरबाट बाहिरिन बाध्य भए ।

म खुलेर आउदा समय सहज थिएन । धेरै कठिनाई झेल्नु पथ्र्यो । जुन समाजमा मैले आफ्नोबारेमा चाहेर पनि खुलेर भन्न सक्ने अवस्था थिएन । अहिले आएर भने म निर्धक्क आफ्नोबारेमा खुलेर भन्न सक्ने र वकालत गर्न सक्ने भएकी छु ।

मैले नेपाली नागरिकता र राहदानी लिंगको महलमा ‘अन्य’ उल्लेख गरेर प्राप्त गरेको छु । लिंगमा ‘अन्य’ उल्लेख गरी पहिचान पाउनु मात्र सम्पूर्ण कुराको प्राप्ति होइन । यसका लागि शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच पुग्नु अहिलेको आवश्यकता हो, जुन अहिलेसम्म बनेका कानूनमा लेखिएको छैन ।

अहिलेसम्म नेपालमा लिंगको महलमा ‘अन्य’ उल्लेख जनाएर २ सय भन्दा धेरैले नेपाली नागरिकता लिइसक्नु भएको छ । ‘अन्य’को नागरिकता पाउनु मेरो र हाम्रो नैसर्गिक अधिकार हो र पहिचान अनुसार जीवन जिउन पाउँदा खुशी छु र छौं ।

यो समाजमा महिला र पुरुष भन्दा फरक पहिचान भएका समुदाय पनि छन्, जसको पहिचान पाउनु उनीहरुको अधिकार हो । पहिचान अनुसारको नागरिकताका लागि आवाज उठाउँदै आएका छौ । हुनु पर्ने लिंगमा ‘अन्य’ उल्लेख गरे जस्तै इच्छाएको नाममा नागरिकता प्राप्त गर्नुपर्ने थियो जुन अहिलेसम्म पाएका छैनौ ।

खुलेर आएकालाई समाजमा र परिवारमा स्वीकार्यताको पाटो धेरै कठिन छ भने कति जनालाई परिवारले वहिष्कृत पनि गरेको छ । गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित हुनु परेको छ । नखुलेकाले यि समस्याको फेस गर्नु परेको छैन ।

प्रहरी प्रशासन वुझ्ने कोशिसमा छन् तर, पूर्ण रुपमा बुझिसकेका छैनन् । जसले गर्दा अझै पनि हाम्रो मुद्धा, समस्या कहाँ लैजाने, न्यायको बाटो कहाँ खोज्ने भन्ने कुरामा हामी अन्यौलमै छौ ।

रोजगारीका अवसर धेरै छन् तर, कुन निकायले दिन्छ मलाई रोजगार ? सरकारी निकायदेखि निजी क्षेत्रसम्ममा नि कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्म महिला या पुरुष मात्रै छन् । रोजगारीको दरखास्त आव्हान गर्दा मैले कुन लैंगिक पहिचानमा दरखास्त भरु जहाँ मलाई सम्बोधन नै गरिएको हुँदैन ।

केही हदसम्म महिला विरुद्ध हुने सबै खाले हिंसा विरुद्धको १६ दिने अभियानले भने मलाई छोएको छ । फलस्वरुप यो अभियानको एक अंग म आफै नै हुँ र विभिन्न स्कूल, कलेज, सरोकारवाला निकाय, प्रहरीलाई हाम्रो बारेमा जनचेतना दिदै आएको छु ।

यो अभियान महिला मात्रैको नभएर हामी जस्ता तेस्रोलिंगी महिला माथि हुने लैंगिक विभेद अन्त्यका लागि पनि हुनुपर्छ । देशले अन्य लैंगिक पहिचान दिएका म जस्ता तेस्रोलिंगी महिलालाई यो अभियानमा सहभागी गराउन म आग्रह गर्छु ।

पछिल्लो समय संचार क्षेत्रले पनि सम्बोधन गर्दा महिला, बालवालिका, पुरुष तथा तेस्रोलिंगी भनि सम्बोधन गर्दै आएको छ । अबको कानून सबै लिंगको हितमा हुनुपर्छ ।

२०७८ सालमा हुने जन गणनामा हाम्रो पूर्ण सहभागिता र सत्य तथ्य तथ्यांक आउनु पर्छ । जसले गर्दा हाम्रो समुदायको पहुँच राज्यको ३ वटै निकायको दृष्टिमा पर्नेछ । अरु महिला, बालबालिका र पुरुषले पाएको अवसरमा हामी तेस्रोलिंगीको पनि पहुँच पुग्ने छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading