झापा र इलाममा १७ हजार तेस्रोलिंगी, सरकारले बेवास्ता गरेको गुनासो

झापा र इलाममा १७ हजार तेस्रोलिंगी, सरकारले बेवास्ता गरेको गुनासो

झापा (पहिचान) माघ २९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले सरकारले वेवास्था गरेको गुनासो गरेका छन् । झापाको दमकमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मानव अधिकारको बिषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा सरकारले वेवास्था गरेको गुनासो गरेका हुन् ।

कार्यक्रममा यौनिक तथा लौंगिक अल्पसंख्यकहरुको क्षेत्रमा काम गदै आएको लिड नेपाल दमकले झापामा १० हजार धेरै तेस्रोलिंगीहरु रहेका दावी समेत गरेको छ । सरकारको आधिकारिक विवरण नभए पनि यौनिक तथा लैगिक अल्पसंख्यकहरुको क्षेत्रमा काम गदै आएका संघ संस्थाका पछिल्ला रिपोर्टका अनुसार झापामा १० हजार तेस्रोलिंगी रहेका लिड नेपाल झापाकी कार्यक्रम संयोजक चञ्चला सुब्बाले दावी गरिन ।

तर कतिपय यो समुदायका ब्यक्तिहरु खुलेर बाहिर आउन नचाहेकोले यो संख्या अझै बढ्न सक्ने उनको भनाई छ । समाजले गर्ने ब्यवहारका कारण कतिपय तेस्रोलिंगी खुलेर आउन नचाहेको उनले बताइन ।

सरकारी तवरबाट गरिने जनगणनामा पनि आफुहरुलाई वेवास्था गरिएको र अभिभावकले जवरजस्ती छोरा वा छोरी भनेर डाटा दिने गरेका कारण पनि उनिहरुको संख्या यति नै हो भन्न नसकिने उनले बताइन् । यस्तै लिड नेपाल दमकका अध्यक्ष शुसिल पौडेलले नेपालको कुल जनसंख्याको १० प्रतिशत मानिस यो समुदायको रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङ, दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बराल, दमक अपाङ्ग सहयोग समितिका सचिव मदन बोहोरा लगायतले सबैभन्दा पहिले आफु जुन ठाउँ र समाजमा रहिएको छ त्यहिबाट खुलेरै आउन आग्रह गरे । वडाध्यक्ष गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संख्या बुझाउन आग्रह गरे । उनले अनि मात्र यस समुदायको हितमा काम गर्ने र आफ्नो वडाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

समाजको अन्धविश्वास र कुरितिका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले राज्यका कुनै पनि निकायमा आफ्नो लैंगिक पहिचान सहित अवसर पाउन सकेका छैनन् । उनीहरुलाई मनोरञ्जनको साधनको रुपमा मात्र हेरिएको लिड नेपाल झापाकी कार्यक्रम संयोजक सुब्बाले बताइन् ।

सुब्बाका अनुसार कानूनी समस्या, शौचालयको समस्या, नागरिकता प्राप्ति, घरपरिवारबाट अवहेलना, बलजस्ती विवाह, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका आधारभुत सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ । तेसोलिंगी विभेद र अवहेलना तथा यौन हिंसामा पर्ने गरेको उनले बताइन् ।

पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तका कारण आफुहरुको बारेमा केही राम्रा प्रवधान तथा कानून बनेको सुब्बाले बताईन् । नेपालमा सरकारी कार्यलयका हाकिमदेखि पियनसम्म यो समुदायका रहेका र उनीहरु समाजको डरमा कारण बाहिर आउन नसकको उनले भनिन् ।

लिड नेपाल दमकले झापासँगै इलाममा पनि काम गर्दै आएको छ । इलाममा पनि करिब ७ हजार ब्यक्ति तेस्रोलिंगी समुदायका व्यक्ति रहेको लिड नेपालले बताएको छ । यो बर्ष झापामा ६ जनामा एचआईभी एड्स देखिएको कार्यक्रम संयोजक सुब्बाले जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.