इशानलाई परिवर्तित नाम र ‘अन्य’ लैंगिक पहिचानको नागरिकता

इशानलाई परिवर्तित नाम र ‘अन्य’ लैंगिक पहिचानको नागरिकता

काठमाडौं (पहिचान) फागुन १ – सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई इच्छाएको नाम र लैंगिक पहिचान सहित नागरिकताको प्रतिलिपि दिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले अन्तरलिंगी इशान रेग्मीलाई इच्छाएको नाम र ‘अन्य’ लैंगिक पहिचानको नागरिकता दिएको हो ।

बाजुरा जिल्ला साविकको कुुल्देवमाण्डौ वडा नम्वर ९ हाल बुढीगंगा नगरपालिका वडा नम्वर ५ का रेग्मीले नाम र लिंग परिवर्तन गर्न माग गरेको निवेदन र गृह मन्त्रालयको परिपत्रका आधारमा नागरिकताको प्रतिलिपि दिइएको प्रमूख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । ‘लिंग परिवर्तन गर्न सकिने भनेपनि नाम परिवर्तन गर्नेबारे गृहको परिपत्रले केही बोलेको छैन पहिचानसँगको कुराकानीमा प्रजिअ न्यौपानले भने, लिंग परिवर्तन गरेपछि पूरानो नाम असान्र्दभिक हुने भएकाले नाम समेत परिवर्तन गरेर नागरिकताको प्रतिलिपि दिइएको हो ।’

उनले आवश्यकता र औचित्यका आधारमा पार्वती कुमारी रेग्मीको महिला लैंगिक पहिचानमा रहेको पुरानो नागरिकता खिचेर इशान रेग्मी नाम र ‘अन्य’ लैंगिक पहिचान राखेर नागरिकताको प्रतिलिपि जारी गरिएको बताए । ‘लिंग परिवर्तन गरेपछि पुरानो नाम अमिल्दो हुन्छ उनले भने, नाम र लिंग परिवर्तन गरेर नागरिकता जारी भएको जानकारी गृह मन्त्रालयमा पठाएका छौ ।’ उनले महिलाबाट पुरुष र पुरुषबाट महिला लैंगिक पहिचानमा नागरिकता लिन भने मेडिकल रिपोर्ट चाहिने बताए ।

जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा पहिलो पटक इशान रेग्मीलाई ‘अन्य’ लैंगिक पहिचानको नागरिकता दिएको हो । नागरिकताको प्रतिलिपिमा नाम नै परिवर्तन गरिएको भने सम्भवत यो पहिलो हो । गृह मन्त्रालयको तथ्यांक अनुसार देशभर १३ सय जनाले अन्य लैंगिक पहिचानमा नागरिकता लिइसकेका छन् । गृहले २०६९ साल पुस १६ गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै ‘अन्य’ लैंगिक पहिचानमा नागरिकता दिन भनेको थियो ।

आफूलाई अन्तरलिंगी अधिकारकर्मीको रुपमा चिनाउँदै आएका रेग्मीले नाम परिवर्तन गर्ने नियम कानूनमा नभएकाले कन्भिन्स गराएर नागरिकताको प्रतिलिपि लिन सफल भएको बताए । काठमाडौंबाट बाजुरा पुगेर नागरिकता लिन १५ दिन लागेको उनले बताए । रेग्मीले पहिचान अनुसारको नागरिकता पाउँदा धेरै खुशी लागेको बताए ।

उनले पहिचान अनुसारको नागरिकता लिन बुढीगंगा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष सहित ५ जना साक्षी राखेर गरिएको सर्जिमनको पत्र जिल्ला प्रहरी कार्यालय लगेका थिए ।

जिल्ला प्रशासन कार्यालयले जन्मदा महिला लिंगमा जन्मेको र निश्चित उमेर पछि विभिन्न ग्रन्थी र शारीरिक अंगहरुको विकासले गर्दा पुरुषको जस्तो शारीरिक विकास भएको चालचलन हाउभाउ, मनोविज्ञान पुरुष जस्तो देखिएकाले हिलाको नाममा दिन उपयुक्त देखिएको निर्णय गरेर अन्य लैंगिक पहिचानमा नाम पनि पुरुषको राखेर नागरिकता दिएको रेग्मीले जानकारी दिए ।

नागरिकता प्रमाणपत्रमा नाम र लिंग सच्याएका अधिकारकर्मी रेग्मीले शैक्षिक प्रमाणपत्रमा नाम र लिंग सच्याउन शैक्षिक संस्थाहरुमा निवेदन दिने बताए ।

१५ सय एलजीबीटीआईलाई पहिचान अनुसारको नागरिकता

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading