कोरोना भाइरस : लकडाउनले कमाई बन्द हुँदा खानै समस्या

कोरोना भाइरस : लकडाउनले कमाई बन्द हुँदा खानै समस्या

भारत (पहिचान) चैत्र २२ – ‘हाम्रो वरिपरी खाद्यान्नको अभाव छ । घरमा पनि केही छैन । खाद्यान्न पाइने ठाउँ पनि निकै पर छ । लकडाउनका बेला त्यति पर कसरी जानु?’

नोएडा यौनकर्मीका रुपमा कार्यरत तेस्रोलिंगी आलियाले भोग्नु परेको समस्या हो यो । उनको आम्दानीको माध्यम रोकिएको छ र अब चिन्ता खाना तथा भाडा कसरी तिर्ने भन्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप भारतमा अहिले २१ दिने लकडाउन जारी छ ।

यसका कारण मजदूर तथा अरु दैनिक काम गरेर गुजारा चलाउनेहरु जस्तै तेस्रोलिंगी समुदायलाई पनि छाक कसरी जुटाउने भन्ने चिन्ता थपिएको हो । उनीहरुको अबस्था अरुहरुको भन्दा विकराल छ ।

आलियाले भनिन्, ‘हाम्रो काम बारे प्रहरीलाई थाहा छ । बाहिर निस्केमा त्यहि कामका लागि निस्किएको ठान्छन् । त्यसैले व्यवहार राम्रो हुँदैन । कमाई बन्द भएको छ । सामूहिक पैसा जम्मा गरेर गुजारा चलाइरहेका छौँ ।’

बिहार कि सोनम टोला बधाई दिने काम गर्छिन् । उनी हालै गाउँबाट फर्किएकी हुन् । लकडाउनपछि काम बन्द भएको र अब आफूसँगै पूरै परिवारको चिन्ताले सताएको उनले बताइन् ।

सोनमले भनिन्, ‘बिहारमा बुवाआमाको खर्च पनि मैले नै चलाउने गरेकी छु । हालै गाउँ गएकी थिएँ, निकै खर्च भयो । आएर कमाउँछु भन्ने सोचेकी थिएँ, तर अहिले त सबै बन्द छ । घर के पठाउने होला भन्ने भएको छ । केही जम्मा पैसा छ, त्यो आफैलाई चाहियो । कोरोना भाइरसका कारण मरुन् नमरुन्, काम गर्न नपाउँदा खान नपाएर भने पक्कै मरिन्छ ।’

कोशिस गरेर पनि आफूले राशन कार्ड बनाउन नसकेको सोनमले बताइन् । त्यहि कारण उनले राशनका लागि सरकारी सहयोग प्राप्त गर्न सकेकी छैनन् । साथीसँग मागेर काम चलाइरहेको उनले बताइन् ।

तेस्रोलिंगीका लागि काम गर्ने संस्था बसेराकी संयोजक रामकलीका अनुसार अहिले धेरै तेस्रोलिंगी बेरोजगारी र खाद्यान्न अभावको अवस्थामा छन् । उनले भनिन्, ‘सहयोगको अपेक्षा गर्दै धेरैको फोन आउँछ । हाम्रो समुदायमा दैनिक कमाएर गुजारा चलाउनेहरु धेरै छन् । उनीहरको कमाई बन्द हुँदा खानै समस्या भएको छ ।’

परिवारको सहयोग र मायाको अभाव अर्को समस्याका रुपमा रहेको छ तेस्रोलिंगीहरुका लागि । परिवारबाट बहिष्कृत हुनु पर्ने बाध्यताबाट गुज्रिएका धेरै छन् ।

दिल्लीका आकाश पालीले पहिले तेस्रोलिंगी हुनुको दुःख भोगे र अहिले लकडाउनले दिएको समस्या भोगिरहेका छन् । उनीे लिंग परिवर्तन गरेर पुरुष बनेका हुन् । उनी एक ब्युटि पार्लरमा काम गर्दै आएका थिए, तर लकडाउन केहीअघि उनको जागिर पनि गयो ।

उनले भने, ‘मेरो अफिसमा म तेस्रोलिंगी रहेको थाहा पाएपछि जागिरबाट निकाले । कम्पनीले मेरो दिनु पर्ने पैसा पनि दिएको छैन् । अर्को ठाउँमा काम खोजौँला भन्नलाई लकडाउन छ ।’

उनले भने, ‘घरमा पैसा चाहिएको थियो, मसँग भएको दिएँ । लागेको थियो अब त परिवारले अपनाउँछ । तर त्यस्तो भएन । म विलकुल एक्लो भएको छु । उधारोबाट घर चलाएको छु । भाडा तिर्ने पैसा छैन ।’

दिल्ली सरकारले बेघरका लागि रेन बसेरा र केही स्कुलमा खानाको व्यवस्था गरेको भए पनि आफूहरु त्यहाँ पुगेर खान सक्ने अवस्था नरहेको आकाशले बताए ।

रामकलीका अनुसार अधिकांश तेस्रोलिंगीले राशनकार्ड पाएका छैनन् । यसले गर्दा उनीहरुले सरकारी सुविधा पाउन सकेका छैनन् । परिवारबाट टाढा रहेकाले सम्पूर्ण कागजात नहुँदा उनीहरुलाई समस्या भएको छ ।

स्रोतः बिबिसी हिन्दी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading