‘रोगले भन्दा भोकले बढी सताउन थालेकाे छ’

‘रोगले भन्दा भोकले बढी सताउन थालेकाे छ’

काठमाडौं (पहिचान) असार १ – ”हामी सरकारको नियम पालना गरेर घरभित्र बसिरहेका छाैं भने सरकार पनि हामीप्रति जिम्मेवार हुनुपर्छ ।”

“म आनिक राना मगर तेस्रोलिंगी महिला हुँ । म बुटवलमा बस्छु । नील हिरा समाजसँग आवद्ध भएर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको लागि काम गर्छु ।

लकडाउनपछिको मेरो दैनिकी फेरिएको छ । अहिले घरभित्रै बसेर अनलाइनबाट साथीहरूसँग दैनिक बैठक बस्ने, छलफल गर्ने र योजना बनाएर काम गर्दैछु । म घरैबाट रूपन्देही, नवलपरासी र कपिलवस्तु तीनवटै जिल्लाका साथीहरूसँग समन्वय गरी काम गरिरहेकी छु । सेवामा पहुँच नभएका साथीहरूको पहिचान गर्दै उहाँहरूलाई सहयोग गर्नु मेरो अहिलेको प्राथमिकता हो ।

समस्या त मेरा आफ्नै पनि छन् तर म आफैं अधिकारकर्मी भएर हिंडेकी मान्छे मैले नै समस्या देखाउँदा अरू साथीहरूलाई कसले सहयोग गर्छ ? भन्ने प्रश्न म आफैंभित्र उब्जिन्छ अनि म फेरि काममा फर्किन्छु ।

कोभिड–१९ ले उग्ररूप लिन थालेको यो समयमा रोजगारी भएका साथीहरूको पनि साथमा पैसा सकिएको छ । अन्य पेशा–व्यवसाय गर्ने साथीहरू पनि लकडाउनले गर्दा पेशाबाटै वञ्चित हुनुभएको छ । रोगले भन्दा भोकले बढी सताउने अवस्था आएको छ । हरेक दिन मलाई साथीहरूले फोन गरेर ‘हामी भोकै मर्ने हो कि केही गर्ने ?’ भनेर प्रश्न गर्नुहुन्छ । हाम्रो लागि केही पहल गरिदिनुपर्‍यो भनिरहनुहुन्छ ।

मैले तीनवटै जिल्लाका स्थानीय समाजसेवी र वडा कार्यालयसँग राहतको लागि समन्वय गरिरहेकी छु । सिद्धार्थ नगरपालिकाको वडा नम्बर ८ र बुटवल उप–महानगरपालिकाको ५ र १० नम्बर वडा कार्यालयले तेस्रोलिंगी समुदायका आठ जनालाई राहत उपलब्ध गराएको छ ।

हामीले स्थानीय समाजसेवीको सहयोगमा हाम्रो समुदायका ६० जना साथीलाई राहत उपलब्ध गराएका छौं । यो एकदमै राम्रो प्रयास हो । तर यो पर्याप्त छैन । स्थानीय समाजसेवी र चन्दादाताहरूले भने हामीलाई मास्क, स्यानिटाइजर र खाद्यान्न लगायत अन्य के कुराले सहयोग गर्न सक्छौं ? भनेर चासो देखाउनुभएको छ । यो हाम्रो लागि धेरै नै खुशीको कुरा हो ।

अहिले स्थानीय सरकारले टोल विकास समिति मार्फत राहत वितरण गरेको कुरा सुन्नमा आएको छ । टोल विकास समिति भनेको को हो ? यसमा को को सदस्य छन् भन्ने प्रश्न हामीसँग छ । टोल विकास समितिले टोल–टोलमा समस्यामा परेका व्यक्तिलाई खोज्ने हो कि हामी आफैं टोल विकास समिति खोज्दै जाने हो ? त्यो पनि हामीलाई सूचना छैन । यस्तो महामारीको समयमा हामीसँग सोधिनुपर्छ । हामी सरकारको नियम पालना गरेर घरभित्र बसिरहेका छां‌ भने सरकार पनि हामीप्रति जिम्मेवार हुनुपर्छ ।”

साभार : हिमाल खवर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.