गणतन्त्रका ढटुवा प्रतिनिधि

गणतन्त्रका ढटुवा प्रतिनिधि

काठमाडौं (पहिचान) कार्तिक १२ – २०७२ साल असोज ३ गते नेपालमा जारी भएको संविधानलाई बहुमतले स्वीकारेका छन् । अल्पमतको भावना अनुसार संविधान नलेखिएको असुन्तुष्टि अहिले पनि कायम छ । अल्पमतको असन्तुष्टिकाबीच स्थानीय, प्रदेश र संघको चुनाव हुनु नयाँ संविधानको चुनौती थियो । संविधान अनुसार नेपाल पहिलो पटक संघियतामा गएको हो । संघियता कार्यान्वयन तीन तहको चुनावले गर्यो ।

६ महिना बर्ष दिनमा सरकार परिवर्तन गर्न हुने दौडधुप तीन तहको चुनावले ५ बर्षका लागि अन्त्य गरिदियो । दुई तिहाई बहुमतको सरकार बनाउन तत्कालिन एमाले र माओवादीलाई जनमत प्राप्त भयो । त्यही जनमतको आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार संचालनको साँचो लिएको पनि तीन बर्ष पुग्नै लागेको छ ।

यो तीन बर्षमा के भयो ? के भएन ? भनेर प्रश्न गर्ने बेला त अझै भइसकेको छैन भन्नेहरु पनि सुखी नेपाली र समृद्ध नेपालको नारा नारामै सिमित भइरहेको गुनासो सुनाउँछन । चुनावमा घर आँगनमै पुगेका उम्मेदवार कोहीपनि फर्केर मतदाताको आँगन टेक्न मात्रै होइन, अपवाद बाहेक घर आँगन पुग्ने बाटो समेत हिडेका छैनन् ।

जनतालाई फुस्रा आश्वासन दिने नेता कार्यकर्तालाई मतदाताले सुखी नेपाली र समृद्ध नेपाल कहिले देख्न पाउने हुन् ? राणा, पञ्चायत र बहुदलले ढाट्यो, गणतन्त्रमा पनि ढाटेर, झुटा नारा दिएर नै नेतृत्वमा पुग्नु जनप्रतिनिधिको एक मात्र मनोकाक्षा देखिन्छ ।

काभ्रे क्षेत्र नम्वर १ का निर्वाचित सांसद गंगाबहादुर दोङ (बमध्वज), प्रदेश सभा क्षेत्र नम्वर १ का रत्न ढकाल र २ का चन्द्र लामाले जनाएका प्रतिवद्धता पढौं……

१.सुनकोशीमा जलउर्जा उत्पादन र पर्यटन प्रवद्र्धन गर्न

२.प्रदेश सभाको राजधानी काभ्रेलाई बनाउन

३.नमोबुद्ध, धुलिखेल पोखरी नारायणस्थान पर्यटकीय पदमार्ग निर्माण गर्न

४.पनौतीलाई विश्व सम्पदा सूचीमा पार्न

५.पनौतीलाई क्षेत्र नं. १ को व्यापारिक केन्द्र बनाउन

६.कोशीपारी तेमाल नमोबुद्ध लगायतका क्षेत्रमा धार्मिक पर्यटन विकास गर्न

७.भुकम्प पीडितलाई २०७६ सालभित्र स्थायी बसोबासको व्यवस्था मिलाउन

८.महाभारतमा जडिबुटी केन्द्र बनाउन

९.डाँडापारी सडक, विजुलीबत्ती खानेपानी स्वास्थ्य र शिक्षा लगायतका पूर्वाधारको विकास गर्न

१०.डाँडापारीलाई बाख्रापालनको पकेट क्षेत्र बनाउन

११.कोशीपारी मोटरबाटो पीच गर्न

१२.कोशीपारीमा टोलटोलमा सडक विजुली बत्ती खानेपानी स्वास्थ्य र शिक्षा पर्याउन

१३.गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी बनाउन

१४.बौद्धिक अध्ययन केन्द्र बनाउन

१५.काभ्रे जिल्लालाई आर्थिक विकास र समृद्धिको गन्तव्य बनाउन

१६.काभ्रेलाई लगानी र उत्पादनको केन्द्र बनाउन

१७.धुलिखेलमा माउण्टेन फ्लाइटका लागि विमान स्थल बनाउन

यो त काभ्रे क्षेत्र नम्वर १ मा चुनाव जित्न उम्मेदवारले दिएका १७ वटा लिखित प्रतिवद्धता मात्रै हुन् । देशभरका उम्मेदवारले यस्ता हजारौ नारा दिएर नेतृत्वमा पुगे । बहुमतको बलमा आफू अनुकुल निर्णय गराए र आफ्नालाई पोस्ने काम गरे ।

पुरा गर्न नसकिने नारा दिएर जनतालाई ढाट्ने किन ? गणतन्त्र ढटुवाहरुकै हो भनेर पुष्टी गर्ने काम नगरौं । अल्पमतको पनि कुरा सुनौ । आबश्यकता के हो पहिचान गरौ । देशलाई समृद्धीमा लैजान सबै मिलौ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading