ब्लगर लेक्स लिम्बु : गौरवको महिनाको अवसरमा भिडियो सार्वजनिक

ब्लगर लेक्स लिम्बु : गौरवको महिनाको अवसरमा भिडियो सार्वजनिक

काठमाडौँ : युके निवासी नेपाली ब्लगर लेक्स लिम्बुले जुन १ तारिखमा आफ्नो नयाँ भिडियो गौरव सार्वजनिक गर्दै गौरवको महिना मनाउँदै छन्। गौरव महिना विश्वभरका सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको उत्सवप्रति समर्पित छ। लिम्बु र अविस्कार राई अभिनीत भिडियोमा दुई जना समयौनिक पुरुषहरूबिचको प्रेमलाई दर्साइएको छ भने विशेष उपस्थितिका रूपमा लिम्बुका आफ्नै बाबुआमालाई समेत देख्न सकिन्छ।

विज्ञापन शैलीको उक्त छोटो भिडियोको निर्देशन रामुना पुनले गरेका हुन् भने सुशान्त विष्टको साउन्ड ट्र्याक ‘म तिम्रोको’ समेत मिश्रण रहेको छ। यो भिडियोको छायाङ्कन युकेको ह्याम्प शायरमा चाउटन भिलेजमा गरिएको हो। लिम्बुले सन् २०१८ मा एउटा युट्युब भिडियो सार्वजनिक गर्दै आफ्नो यौन झुकावबारे सार्वजनिक गरेका थिए।

लिम्बु भन्छन्–‘सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूका प्रति र अहिलेसम्मको हाम्रा यात्रा प्रति ध्यान केन्द्रित गर्न गौरवको महिना उत्तम तरिका हो। जब तपाई आफू जो हो त्यसमा गर्व गर्न सक्नुहुन्छ, त्यो कति सुन्दर हुनसक्छ भन्ने यो छोटो भिडियो मार्फत मैले सार्वजनिक गर्न चाहेको हुँ। यद्यपि सुरुमा मैले मेरो भिडियोसँगै देखा पर्ने व्यक्ति खोज्नका लागि सङ्घर्ष गर्नुपरेको थियो। आविष्कार यो परियोजनाका लागि आउँदा म ढुक्क भएँ।’

निर्देशक रामुना आफ्नो अनुभव बाँड्दै भन्छिन्–‘जब लेक्सले यो भिडियो गौरवका लागि मसँग सम्पर्क गरे, तब म कथाको सरलताबाट तुरुन्तै आकर्षित भएँ। व्यापक सन्दर्भमा यसको वजन निकै भारी थियो। तर चारै जना पात्रहरूबिच साटासाट गरिएको भावनाको तरलता वास्तविक, विश्वसनीय, कच्चा र सबै कुरा सरल बनाउने खालको छ। मैले यो कथालाई प्रेमका साथ बुझेँ र छायाङ्कन गरेँ। म सबैले यो कथालाई यसै गरी स्वीकार गर्ने अपेक्षा गर्दछु। मेरा लागि गौरव भनेको तपाई आफू जो हो त्यही हुने र तपाईँले जे चाहेको यो उसलाई प्रेम गर्ने धारणा हो। न त धेरै, न त अरू कुनै।’

भिडियोमा गौरवको रूपमा अभिनय गरेका आविष्कार आफ्नो अनुभव बाँड्दै भन्छन् – ‘गौरवको महिनाले पहिले तपाई आफैमा को हो भन्ने स्वीकारोक्तिलाई प्रतिनिधित्व गर्छ। साथै तपाई मात्र एक्लो हुनुहुन्न भन्ने महसुस गराउने चीजलाई प्रतिनिधित्व गर्छ। तपाई भन्न सक्नुहुन्छ कि किन मैले यो भिडियोमा काम गरेँ? यद्यपि नेपाली समुदायमा सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई सचेत बनाइएको छ तर मेरो विचारमा यो अझै पनि संवेदनशील  विषय हो। यो भिडियो बनाएर र यसरी प्रस्तुत गरेर यसले मान्छेको सोचमा बिस्तारै परिवर्तन ल्याउने र मान्छेहरूलाई यस विषयमा अझ बढी सहज बनाउने आशा छ।’

अमेरिका बाहिरका धेरै मानिसका लागि समयौनिक व्यक्तिहरूको अधिकारहरू परिवर्तन गर्न सफल प्रदर्शनका रूपमा परिचित स्टोनवाल विद्रोह भएको महिना जुन महिनालाई गौरवको महिनाका रूपमा छानिएको हो। पछिल्ला वर्षहरूमा जुन महिनाको दोस्रो शनिबारलार्ई नेपाल गौरव यात्राका रूपमा मनाइँदै आएको छ। सन् २०१९ देखि गौरव यात्रा काठमाडौँमा मनाइँदै आएको छ।

जानकारीका लागि अनुरोध : लेक्स लिम्बु र आविष्कार राई वास्तविक जीवनमा प्रेम सम्बन्धमा छैनन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.