एनआरएनएको नेतृत्वमा पुग्न रबिनाले गरिन शुभकामना आदानप्रदान 

एनआरएनएको नेतृत्वमा पुग्न रबिनाले गरिन शुभकामना आदानप्रदान 

काठमाडौँ : ‘नेपालीका लागि नेपाली’ भन्ने भावनाका साथ स्थापना भएको गैर आवासीय नेपाली सङ्घको अधिवेशन पहिलो पटक तोकिएको मितिमा हुन सकेन। सन् २००३ देखि हरेक दुई दुई वर्षमा नेतृत्व चयन हुँदै आएको थियो एनआरएनएको। तर, डेलिगेट्सको विवाद परराष्ट्र मन्त्रालय पुग्दा चुनाव हुन सकेको छैन।
अक्टोबरमा हुनुपर्ने चुनाव नोभेम्बर अन्तिममा गर्ने एनआरएनएको वर्तमान नेतृत्वले निर्णय गरेको छ। २०२१-२०२३ का लागि उम्मेदवार घोषणा गरेकाहरू प्रचारप्रसारमा लागिरहेका छन्। वर्तमान उपाध्यक्ष रबिना थापा, बद्री केसी र वर्तमान अध्यक्षसँग पराजित भएका कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
आचार्य वर्तमान सत्ता गठबन्धन र केसी एमालेको उम्मेदवार बनेको चर्चा छ एनआरएनएभित्र।
थापाले एनआरएनएको आधिकारिक उम्मेदवार भएको दाबी गरिरहेकी छन्।
चुनावी प्रचारप्रसारमा रहेका मध्ये रबिना थापाले दीपावली, नेपाल सम्मत र छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान गरेकी छन्। नेपाली काँग्रेसको विदेशमा रहेको जनसम्पर्क मञ्च, राप्रपाको जनसम्पर्क मञ्चका नेतृत्वले रबिनालाई जितको अग्रिम शुभकामना दिए।
भर्चुअल माध्यमबाट भएको कार्यक्रममा विश्वका विभिन्न देशमा रहेका नेपालीले तत्काल चुनाव गराउन नेतृत्वलाई दबाब पनि दिए। जापानका नारायण सुवेदी भन्छन्, २०२१-२३ का लागि उम्मेदवार घोषणा गरेको अब २२-२४ का लागि भन्नू पर्ने भयो। सुवेदीले एनआरएनएको सह कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
अमेरिकाका प्रेम श्रेष्ठले सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप भएको बताए। विधि र विधानलाई आत्मसात् गरेर रबिना थापालाई जिताउन लाग्नु पर्ने उनको मत छ।
एनआरएनएका सञ्जीव श्रेष्ठ अधिवेशन रोकिएकोमा कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउँछन्। कुल आचार्यले राजनीति घुसाएको र कुमार पन्तले मिलाउन नसकेको आरोप लगाउँछन् श्रेष्ठ। अध्यक्षमा विजयी हुने आचार्यको दिवा सपना दुर्घटनामा पर्ने अनुमान श्रेष्ठले सुनाए।
अमेरिका निवासी सुबोध पन्त चर्चित महिलाको रूपमा स्थापित रबिनाको पक्षमा भोट माग्छन्। अमेरिकाकै प्रमोद सिटौला प्रधानमन्त्री शेरबहादुर देउवाले एनआरएनएको चुनावमा हस्तक्षेप नहुने र एनआरएनए स्वतन्त्र रहेको बताएका सुनाउँछन्।
स्विजरल्याण्ड एनसीसी अध्यक्ष ईल्मोर आइसिसीको चुनाव नहुँदा काम गर्न अप्ठ्यारो भएको बताउँछिन्। उनले नेतृत्वमा जो आए पनि चुनाव रोकिन नहुने बताइन।
पोर्चुगलका राजकुमार थापा, बेलायतका योगेन क्षेत्री, रोशन थापा, दुर्गा भण्डारी भट्ट, नारायण थापा, राजन सुवेदी,अमृता थापा जनार्दन अर्याल, राजेन्द्रमणि भण्डारी, नवराज भट्टराई ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ स्थापना भएको संस्थामा पहिलो पटक चुनाव हुन नसक्नुलाई विडम्बना भन्छन्।एनआरएनएलाई फुलको गुच्छाहरू मालामा उनिए जस्तै एकसुत्र भएर बाँध्न सक्नु पर्ने बताउँछन् उनीहरू।
संस्थालाई विवादमुक्त बनाउनुपर्ने उनीहरूको सुझाव थियो।
पिएनजीबाट पहिलो पटक २० जना प्रतिनिधि मतदानका लागि चुनिएका छन्। पहिलो पटक प्रतिनिधि हुन पाएकोमा नवराज भट्टराईलाई खुसी लागेको छ। युवा र महिलाको नेतृत्व गर्ने रबिनालाई अध्यक्ष बनाउन लागिएको सुनाउँछन् उनी।
एनआरएनएका सबै सदस्यले मतदान गर्न पाउनु पर्ने माग अहिले रबिनाको मात्रै छैन। क्यानडाका सम्राट् थापा डेलिगेट्स छान्ने र नेतृत्व चयन गर्ने क्रम अब भङ्ग हुनुपर्ने बताउँछन्। एनआरएनएका सबै सदस्यले नेतृत्व चयनका लागि हुने चुनावमा मतदान गर्न पाउनु पर्ने थापाले बताए।
तिहारको टिकाको अघिल्लो दिन अध्यक्ष कि प्रत्याशी रबिना थापाले काँग्रेस पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रमुख अतिथि बनाएर विश्वभर रहेका नेपालीको शुभकामना आदान कार्यक्रम गरेकी हुन्।
कार्यक्रम सञ्चालक एवं महासचिवका उम्मेदवार विनय अधिकारीले १८ वर्षको इतिहासमा पहिलो पटक तोकिएको मितिमा चुनाव हुन नसकेको बताए। परराष्ट्र मन्त्रालयमा गएर विवादका नाममा चुनाव नरोक्न दबाब दिनु पर्ने अधिकारीले बताए।
भर्चुअल रूपमा गरिएको कार्यक्रममा काँग्रेस पूर्वमहामन्त्री सिटौलाले आन्तरिक विवादमा राजनीतिक हस्तक्षेप हुन नहुने बताए। उनले एनआरएनएलाई साथ र सहयोग रहेको सुनाए। आन्तरिक विवाद आन्तरिक रूपमा नै समाधान नगरे बाह्य तत्त्वले खेल्ने ठाउँ पाउने भन्दै उनले गैर आवासीय नेपालीले आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने बताए।
अध्यक्षकी प्रत्याशी थापाले यो पटक महिलालाई नेतृत्वमा पुर्‍याएर इतिहास रच्ने अवसर भएको बताइन। यो पटक आफूलाई सहयोग गरेर विजय गराउन अनुरोध गरिन रबिनाले।
जमुना घलेले अध्यक्षमा उम्मेदवारी दिए पनि विजयी हुन सकिनन्। घलेपछि अध्यक्षमा उम्मेदवारी दिने रबिना दोस्रो महिला हुन्। उनी अमेरिका निवासी हुन्। यो पटक अध्यक्षमा महिला विजयी हुने र पहिलो पटक महिलाले एनआरएनएको नेतृत्व सम्हाल्ने दाबी रबिनाको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.