मनिसा र भूमिका राष्ट्रपतिबाट विभूषित, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई बोलाइएन 

मनिसा र भूमिका राष्ट्रपतिबाट विभूषित, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई बोलाइएन 

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवी विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रदान गरेकी छन्।
नयाँ वर्ष २०७९ सालको पहिलो दिन वैशाख १ गते राष्ट्रपति भण्डारीबाट ६ सय ७० जना विभूषित भएका राष्ट्रपति कार्यालयले जनाएको छ।
गृहमन्त्री बालकृष्ण खाँण अध्यक्ष रहेको विभूषण समितिको सिफारिस अनुसार पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका दुई जना अधिकारकर्मी राष्ट्रपतिबाट विभूषित भएका छन्।
पहिचान अनुसारको नागरिकता, वैवाहिक अधिकारसहित समान अधिकारको माग गर्दै आएका दुई जना अधिकारकर्मी विभूषण सिफारिस समितिको सम्पर्कमा पुगेकाले मानपदवी प्रदान गर्न सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए।
‘पहिला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक छन् भन्ने सुनिँदैनथ्यो,’पोखरेलले भने‘पहिलो पटक विभूषण समितिको सम्पर्कमा आएका उनीहरूको नाम मानपदवी प्रदान गर्न सिफारिस भएको हो।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले २२ वर्ष अगाडिदेखि अधिकार प्राप्तिका लागि संस्थागत रूपमै अभियान चलाउँदै आएका छन्। संस्थागत अभियान सुरु गर्ने नील हिरा समाजकी कार्यकारी निर्देशक मनिसा ढकाल र अधिकारकर्मी भूमिका श्रेष्ठ पहिलो पटक राष्ट्रपतिबाट विभूषित हुने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय बनेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी मनिसा र भूमिकालाई जनसेवाश्री मानपदवी  

नील हिरा समाजका संस्थापक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तलाई यसअघि सरकारले मानपदवी प्रदान गर्न सिफारिस गरे पनि उनले लिएनन्। पन्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नभई संविधान सभाका सबै सदस्यको रूपमा मानपदवी पाउने सिफारिसमा परेका थिए।
राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवी पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरू स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व. दुर्गानन्द झा, स्वरसम्राट स्व. नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरिएको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि घोषणा गरिएको विभूषण ‘महाउज्ज्वल राष्ट्रदीप’ विवादमा परेकाले पाएनन्। गृह मन्त्रालयले प्रधानन्यायाधीश निलम्बनमा परेका कारण पूर्वघोषित विभूषण ग्रहणका लागि उनलाई नबोलाएको बताएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायतका मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading