नेपाल र बानियाँले पाए गोविन्द वियोगी पत्रकारिता पुरस्कार, सुइरेचौरमा बन्यो पत्रकारिता अध्ययन केन्द्र  

नेपाल र बानियाँले पाए गोविन्द वियोगी पत्रकारिता पुरस्कार, सुइरेचौरमा बन्यो पत्रकारिता अध्ययन केन्द्र  

नुवाकोट : सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार विष्णु नेपाल र राजेन्द्र बानियाँलाई गरेको छ। समाजले राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाललाई ‘विशेष पत्रकारिता पुरस्कार २०७८’ र हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई  ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ प्रदान गरेको हो।
सम्पादक समाज नेपालले २०६२ सालदेखि संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरेको १५ हजार १ र २५ हजार १ राशिको पुरस्कार यो वर्ष पुर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल र बानियाँलाई प्रदान गरे।

समाजले शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा निर्माण गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ शुभारम्भका अवसरमा शनिवार महतले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाई सम्मान गरे।
सोही अवसरमा कांग्रेसका प्रवक्ता डा महतले अध्ययन केन्द्रको हातामा निर्माण गरिएको समाजका संस्थापक अध्यक्ष वियोगीको अर्ध कदको सालिक अनावरण गरे।
उनले नागरिकले पाँच– पाँच वर्षमा मतदान गर्ने मात्र नभई निर्वाचित जनप्रतिनिधिका गतिविधिका बारेमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए। ‘लोकतन्त्रलाई संस्थागत गर्न जीवन पद्धतिमै लोकतान्त्रिक मूल्य, मान्यता उतार्नुपर्ने पर्छ,’उनले भने,‘संविधानमा धेरै कुरा लेखे पनि कार्यान्वयनमा आउन सकेको छैन।’
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले समेत प्रशिक्षण एवं अध्ययन केन्द्र निर्माण गर्न नसकेका बेला सम्पादक समाजले उदाहरणीय काम गरेको बताए। ‘पत्रकारिता क्षेत्रको अभिभावक बन्न राज्यले छिटोभन्दा छिटो आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्छ,’उनले भने,‘प्रशिक्षित पत्रकारले नै नागरिकको अपेक्षाअनुसारको पत्रकारिता गर्न सक्दछन्।’
समाजका महासचिव श्याम डोटेलले नगरकोटभन्दा ५०० फिट उचाइमा रहेको सुइरेचौरमा निर्माण भएको ‘वियोगी पत्रकारिता अध्ययन केन्द्र’मा २५ जनासम्म पत्रकारलाई आवासीय प्रशिक्षण दिन सकिने जानकारी दिए। उनले समाजको भवन निर्माणमा अथक योगदान दिनुहुने वियोगीका ज्येष्ठ सुपुत्र किरण वैद्यलगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अध्ययन केन्द्र सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए। करिब डेढ रोपनी जग्गामा बनेको सो भवन तीन तलाको छ।
सम्मानित पत्रकार मल्ल र बानियाँले सञ्चारकर्मीले हिंसा र निरङ्कुशतालाई साथ दिन नहुने उल्लेख गर्दै पत्रकारितामा व्यापारीकरण बढ्दै गएकामा चिन्ता व्यक्त गरे। नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले अध्ययन केन्द्र भवनको रेखदेख र प्रचार–प्रसारका लागि स्थानीय सरकार र स्थानीय सञ्चारकर्मीको पनि सहयोग रहनुपर्नेमा जोड दिए।
शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सातवटा हिमाल देखिने सुइरेचौर, चिसापानीजस्ता पर्यटकीयस्थल रहेको गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका कारण प्रदेश र सङ्घीय सरकारको पनि सहयोग आवश्यक रहेको बताइन। सातवटा हिमाल देखिने सुइरेचौर पुग्न ९०० मिटर सडक निकुञ्ज भएर जानुपर्छ। चेकपोस्ट भएर यो सडक पार गर्ने आन्तरिक पर्यटकलाई पनि निकुञ्जले ५ सय रुपैयाँसम्म शुल्क लिने गरेकाले पर्यटन प्रवर्द्धनमा समस्या भएको केसीको भनाइ थियो।
कार्यक्रममा वियोगीका ज्येष्ठ सुपुत्र वैद्यले नेपाली पत्रकारिताको थप उन्नयन तथा अध्ययनका लागि  ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ ले सहयोग मिल्ने विश्वास व्यक्त गरे।
इम्जा एसियाका अध्यक्ष टङ्क पन्त र समाजका वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधानलगायतले पत्रकारिताको संस्थागत विकासका लागि अध्ययन केन्द्रले काम गर्नुपर्नेमा जोड दिए।
समाजका सदस्य माधव दुलालले पत्रकारिता प्रशिक्षणका लागि पहिलोपटक समाजले स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ले व्यावसायिक पत्रकारिताको विकास तथा प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गरे। केन्द्र सञ्चालनमा राज्यले आगामी दिनमा ध्यान दिनुपर्ने उनले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.