लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

गाईजात्रा उत्सवमा सहभागी हुन अमेरिकी विशेष दूत काठमाडौँमा

गाईजात्रा उत्सवमा सहभागी हुन अमेरिकी विशेष दूत काठमाडौँमा

933
SHARES

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न काठमाडौँ आएकी छन्। उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले मनाउने गाईजात्रा उत्सवमा सहभागी हुन काठमाडौँ आएकी हुन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको अधिकार उत्थान सम्बन्धी अमेरिकी विशेष दूत स्टर्नलाई अमेरिकी दूतावासले नेपालमा स्वागत गरेको छ। अमेरिकी दूतावासले घोषणा गरेको सप्ताहव्यापी नेपाल प्राइड महोत्सवका विविध कार्यक्रम सोमबारदेखि सुरु भइसकेको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका हरेक व्यक्तिको मर्यादा र अधिकारको सुनिश्चितताका लागि कार्यरत संस्थाहरूसँग सहकार्य गरेर नेपाल प्राइड महोत्सवका कार्यक्रम गरिरहेको दूतावासले जनाएको छ।
यो सप्ताह लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र उपलब्धिको कदर गर्नमा केन्द्रित रहने दूतावासले जनाएको छ। ‘सबैलाई समान व्यवहार गरिने समाजको निर्माण गरौँ’ भन्ने नारा दूतावासले राखेको छ।
विशेष दूत स्टर्न काठमाडौँ आइपुगेको जानकारी दिएको दूतावासले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको क्षेत्रमा नेपाल दक्षिण एसियामै अब्बल रहेको उल्लेख गरेको छ।
तीन हजार लैङ्गिक अल्पसङ्ख्यक सहभागी हुने, अमेरिकी दूतावासको सप्ताहव्यापी कार्यक्रम सुरु
भ्रमणका क्रममा विशेष दूत स्टर्नले नेपाल र अमेरिकामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षणका क्षेत्रमा गर्न सकिने विभिन्न संयुक्त प्रयासहरूका बारेमा छलफल गर्ने दूतावासले जानकारी दिएको छ।
उनले विभिन्न सरकारी अधिकारीहरू लगायत मानव अधिकार अभियन्ताहरू तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूसँग भेटघाट गर्ने छिन्।
नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिले साउन २७ मा १९ औँ गर्व दिवस र गाईजात्रा उत्सव मनाउँदै छन्। नील हिरा समाजका अनुसार गाईजात्रा उत्सवमा देशभरका तीन हजार समुदायका व्यक्ति सहभागी हुने छन्। मङ्गलवार नेपाल आएकी अमेरिकी विशेष दूत जेसिका स्टर्न पनि गाईजात्रा उत्सवमा सहभागी हुने समाजकी कार्यकारी निर्देशक मनीषा ढकालले जानकारी दिइन।

समाचार शेयर गर्नुहोस्
933
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.