प्रदीप गिरीलाई श्रद्धाञ्जली

‘लोकतन्त्रको अर्को बाटो देख्दिन’

‘लोकतन्त्रको अर्को बाटो देख्दिन’

नेपाल एउटा सानो देश छ। भूगोलका हिसाबले सानो छैन। भारत र चीनका छेउमा परेर हामी सानो देखिन्छौ। विश्वका देशहरूलाई तुलना गरेर हेर्‍यौ भने मनग्यै ठुलो पनि छौ। संसाधनले हामी रहित छौ। गरिब छौ। तर हामी दरिद्र छैनौ। मानसिकता मात्रै गरिब छ।
हामीसँग भएको अक्षय, अद्भुत, अमूल्य प्राकृतिक स्रोतहरू, हाम्रा नदी नालादेखि पर्वत राज हिमालयसम्म हामीले च्याउन पनि भ्याएका छैनौ। हामीलाई त विदेशी डलरको मात्रै भोक छ। खोजी छ। ठुलो सांस्कृतिक विषय छ। राजनीतिक विषय मात्रै छैन।
भारत, चीन, संयुक्त राज्य अमेरिका, युरोपदेखि जापानसम्म। ती देशमा विदेश नीतिका सिलसिलामा यस्तो ज्यादा तथ्यहीन र उग्र मतभेद हुन्छ?
नेपालीले लोकतन्त्र होइन, दलतन्त्रका नाममा साझा विदेश नीति बनाउन सक्दैनौ। मुलुकका सबै दलको साझा विदेश नीति हुनुपर्छ। एक अर्कालाई तल देखाएर मुखको तितो मात्रै पोख्ने हो। आत्मनिर्भर बन्न विदेशी सहयोग चाहिँदैन। माल पाएर चाल पाएका छैनौ। कुन सन्धि खारेज गर्ने? कुन सम्झौता गर्ने? साझा दृष्टिकोण बनाउनुपर्छ।
जनआन्दोलन २०६२/२०६३ सम्झना गराऊ, दोस्रो जनआन्दोलनको उपलब्धि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम संविधान बन्यो। संवाहक अनुहार मोटामोटी रूपमा अहिले सरकारमा छन्। नेकपा माओवादीका नेता प्रचण्ड, मधेसवादी नेता उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री माधव नेपाल सबै यहाँ छन्। दलको तानासाही भन्दा माथि उठेर स्वतन्त्र निर्वाचित पनि छन्। गणतन्त्रको घोषणा पछि आम जनतालाई नयाँ नेपाल सुरु भएको लागेन। विगत १० वर्ष सपनै सपनामा गयो।
आम जनतामा असन्तोष आएको छ। रमाउने काम नगर्नुहोस्। कोभिडको प्रतिकारमा स्थानीय सरकारले प्रशस्त काम गरेका छन्। स्थानीय सरकारलाई शक्तिशाली बनाउन विराट मोर्चा सफल बनोस्। वर्षौँदेखिको बेथिति एकै दिनमा समाधान हुने होइन। मुख्य लक्ष्य र मञ्जिल के हो? बढो प्रयास गरेर संविधानलाई जोगाएका छौ।
संविधानका अन्तर्विरोध, विसङ्गति र भाषागत त्रुटि देखाएर संविधानमा हस्ताक्षर गरिन। संविधान र संसद् बहाली हुनुपर्छ भन्ने मध्येका छौ हामी। आम जनता राज्य सरकारसँग सन्तुष्ट छैनन्।
पाँच वर्षमा एक पटक चुनाव गर्न दिने, अखबार छाप्न दिने, मनपरी गाली गर्न दिने, भोट पनि गराउने लोकतन्त्र भन्ने? मान्छे भोका छन्,नाङ्गा छन्,मरिरहेका छन्। त्यही पनि लोकतन्त्र।
अर्कोतिर एक दलीय व्यवस्था चलाउने। त्यसलाई नयाँ जनवाद भन्ने। सानो आन्दोलन पनि नगरी सोभियत सङ्घ हट्नु पर्‍यो, चीनको भविष्य पनि के हुन्छ थाहा छैन। यी दुइटालाई फ्युजन गर्ने नाममा एक भएका थियौ। गिरिजाप्रसादको नेतृत्वमा विश्वास गरेर नेकपा माओवादी, मधेसवादी सरकारमा आएका थिए। त्यो फ्युजनलाई विगत १५ वर्षमा कन्फ्युजन बनाएका छौ। नेपाली काँग्रेसले सिक्नु परेको छ लोकतन्त्रको रूढ अर्थ। जडसुत्रिय अर्थ। लोकतन्त्र भनेको पाँच वर्षको चुनाव मात्रै होइन। लोकतन्त्र लेख्ने बोल्ने आजादी मात्रै होइन। लोकतन्त्र धेरै गहिरो कुरा हो।
केपी ओलीलाई चेतावनी, लोकतन्त्र भनेको संख्यातन्त्र होइन। लोकतन्त्र भन्ने कुरा सङ्ख्या मात्रै होइन भन्ने पूर्व प्रधानमन्त्री ओलीले बुझ्नु भयो। यो सरकारले लोकतन्त्रको मर्यादा राख्दै लोकतन्त्रको मर्ममा पुग्दै लोकतन्त्रलाई बढी भन्दा बढी र्‍याडिकल जनमुखी कसरी बनाउने? यो दायित्व नेपाली काँग्रेसको हो र काँग्रेसका सभापति शेरबहादुर देउवाको हो।
लोकतन्त्रको जडसुत्रबादी व्याख्याबाट हामी उठ्नु परेको छ। २१ औ शताब्दी आइसक्या छ। २० औँ शताब्दीमा फेल भएका सोभियत युनियनको विघटन पछि एकपछि अर्को पूर्वी युरोपमा ढल्दै गएका ती अनुभूतिलाई राजनीतिक स्तरमा बुझ्नुहोस्। अहिले अरू देशको नाम लिनु ठिक नहोला न त्यो चीनको चकाचौत नै सक्कली हो। पाँच दश वर्ष पनि रहन्न होला त्यसको नक्कली पना। त्यसैगरी थाहा हुन्छ जसरी सोभियत युनियन गर्ल्यामगुर्लुम भयो।
संविधान असफल भए व्यवस्था असफल हुन्छ। सोच्दा पनि कहाली लाग्छ। लोकतन्त्रको अर्को बाटो देख्दिन। लक्ष्य बारे प्रस्ट हुनुहोस्, आम जनताले जिन्दाबाद भन्ने सुधार ल्याउने काम गर्नुहाेस।
दिवङ्गत प्रदीप गिरीले २०७८ साउन १५ गते प्रतिनिधि सभा बैठकको विशेष समयमा राख्नु भएको भनाइको सम्पादित अंश

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading