सांसदको चुनाव

उम्मेदवारको नाम सिफारिसमा आरजुको ह्याट्रिक, रामचन्द्र सर्वसम्मत हुन असफल

उम्मेदवारको नाम सिफारिसमा आरजुको ह्याट्रिक, रामचन्द्र सर्वसम्मत हुन असफल

काठमाडौं : मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावका लागि दलहरूले उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका क्षेत्रीय समितिहरूले केन्द्रमा नाम सिफारिस गरिरहेका छन्।
प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले सबैभन्दा धेरै क्षेत्रबाट सिफारिस हुने रेकर्ड नै बनाएकी छन्। हालसम्म उनको नाम कैलाली, डडेलधुरा, बाँके, बर्दिया र बागलुङबाट सिफारिस भइसकेको छ। आरजु अझै अरू क्षेत्रबाट पनि सिफारिसमा पर्ने लबिङमा लागिरहेकी छन्।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्नै गृह जिल्लामा सर्वसम्मत सिफारिस हुन असफल भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट पौडेलसँगै गोविन्द भट्टराई र शङ्कर भण्डारीको नाम सिफारिस भएको छ। २०७४ को चुनावमा पौडेल पराजित भएका थिए।
तनहुँ क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य प्रदीप पौडेल, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र चितवन क्षेत्र नम्बर २ बाट तेस्रो नम्बरमा केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठको नाम सिफारिस भएको छ। सुनसरी क्षेत्र नम्बर ४ बाट सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सिफारिस भएका छन्।
दलहरूका क्षेत्रीय समितिहरूले गुन्डादेखि, श्रीमान् श्रीमती मात्र होइन एकै परिवारका तीन जनासम्मको नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन्। बारा काँग्रेसले निर्वाचन क्षेत्र ४ (क) को लागि एकै परिवारका तीन जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ सिफारिस भएका छविलाल शर्माकी श्रीमती गीता शर्मा तथा बहिनी मिना शर्मा (ढकाल) समानुपातिकतर्फ सिफारिस भएका हुन्। काँग्रेसले जिउँदै मान्छे इट्टाभट्टामा लगेर मारेको अभियोग लागेर थुनामा रहेका मोहम्मद अफ्ताब आलमदेखि भ्रष्ट्राचार मुद्दामा मुछिएका विजयकुमार गच्छदारसम्मको नाम सिफारिस गरेको छ।
एमालेबाट गुन्डा नाइके चक्रे मिलन सिफारिस
एमाले गोरखाले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि २ नम्बर क्षेत्रबाट गुन्डा नाइके चक्रे मिलनको नाम सिफारिस गरेको छ। गुण्डागर्दी गरेर अकुत सम्पत्ति कमाएको आरोपमा पटक पटक जेल परिसकेका चक्रेलाई एमाले गोरखा क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेको हो।
नेकपा एमालेका विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट, रुपन्देही क्षेत्र नं ५ बाट हाल राष्ट्रियसभामा एमाले संसदीय दलका नेता रहेका खिमलाल भट्टराई, दाङ क्षेत्र नम्बर ३ बाट युवराज ज्ञवालीसहित केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस भएको छ।
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा, दाङ क्षेत्र नम्बर २ बाट महासचिव शङ्कर पोखरेल, अछाम क्षेत्र नम्बर १ बाट भीम रावल, माओवादीबाट एमालेमा आएका लेखराज भट्ट भने कैलाली ४ बाट सिफारिस भएका छन्। विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका ठाकुर गैरे पाल्पा क्षेत्र नम्बर– २ बाट, रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट र उहाँकी श्रीमती जुलीकुमारी महतो क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सिफारिस भएका छन्। प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ।
यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस भएका छन्। जसपाका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादव पर्सा १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुँदा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं. १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरिएको छ।
राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने र पार्टीको माथिल्लो तहको भूमिकामा रहेका कतिपय नेताहरू भने मुख्यमन्त्री बन्न प्रदेशसभामै नजर गाडेर बसेका छन्। त्यसमा यसअघि मुख्यमन्त्री भइसकेकादेखि मुख्यमन्त्रीको दौडमा रहेर पनि असफल भएकाहरू छन्। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङ पुनः लमजुङबाट प्रदेश सभा ’ख’ बाट उम्मेदवार सिफारिस भएका छन्। एमाले कर्णाली प्रदेश कमिटीका ईन्जार्च यामलाल कँडेललाई सुर्खेत क्षेत्र नम्बर २ (क) बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.