नेताहरूमा ‘सिङ्गल हिरो’ बन्ने महत्त्वाकाङ्क्षा, विकल्प बन्न सकेन वैकल्पिक राजनीति

नेताहरूमा ‘सिङ्गल हिरो’ बन्ने महत्त्वाकाङ्क्षा, विकल्प बन्न सकेन वैकल्पिक राजनीति

1.2k
SHARES

काठमाडौं : राजनीतिक दलका नेताहरूमा ‘सिङ्गल हिरो’ बन्ने महत्त्वाकाङ्क्षा मौलाएको छ। यस्तै महत्त्वाकाङ्क्षाले २०७४ को चुनावमा वैकल्पिक शक्तिको नारा घन्काउने विवेकशील साझा अहिले आफैँ विवेक गुमाएको अवस्थामा पुगेको छ।
साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र राजावादी कित्तामा मिसिएका छन्। उनी राप्रपाबाट काठमाडौं क्षेत्र नम्बर १ को उम्मेदवार बनेका छन्। उनको वैकल्पिक राजनीतिको सुगा रटान अहिलेको चुनावमा भताभुङ्ग बनेको छ।
दल बिनाका स्वतन्त्रको नेतृत्व स्थापित गराउने अभियान बोकेर मङ्सिर ४ को चुनावी मैदानमा उत्रिएका रबी लामिछानेमा पनि ‘सिङ्गल हिरो’ बन्ने महत्त्वाकाङ्क्षा हाबी भएको छ। चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछाने परम्परागत दलका उम्मेदवारबाटै विस्थापित हुने जोखिममा परेका छन्।
वैकल्पिक नारा लगाउनेहरूको ‘सिङ्गल हिरो’ बन्ने महत्त्वाकाङ्क्षाले राजनीतिक दलको विकल्प अबको पाँच वर्ष पछि धकेलिने देखिएको छ। राजनीतिक दलहरूप्रति बढेको वितृष्णा क्यास गर्न सक्ने आकलन गरिए पनि स्थानीय चुनावमा जस्तो वातावरण बन्न सकेको छैन।
राजनीतिक दलका नेताहरूमा रहेको ‘सिङ्गल हिरो’ बन्ने महत्त्वाकाङ्क्षालाई च्यालेन्ज गर्न स्वतन्त्र उम्मेदवारी परे पनि पार्टी भित्रका इमानदार नेता कार्यकर्ता मकैमा घुन पिसिएझैँ पिसिन बाध्य भएका छन्।
एमालेका ‘सिङ्गल हिरो’ केपी शर्मा ओलीको आलोचना गर्ने भीम रावल, घनश्याम भुसाल दपेटिएका छन्। भुसालले स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनको समर्थन प्राप्त गरेका छन्। रावलले भने पार्टी भित्रै बसेर ओलीको स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णयको विरोध गरेका छन्।
काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले अब पार्टी नछाड्ने र पार्टीभित्रै रहेर विधि पद्धति र न्यायका निम्ति लड्ने बताएका छन्। उनले आफूलाई पार्टीको उम्मेदवार बन्न नदिन देशी–विदेशी प्रतिक्रियावादीहरूको हात रहेको आरोप नै लगाए।
ओलीका असंवैधानिक कदमविरुद्ध बोलेका कारण नै आफूले टिकट नपाएको गुनासो रावलको छ। ओलीले आफ्ना विरोधीलाई उठ्नै नदिने रणनीति अपनाएकाले अब एमाले भन्ने पार्टी नै रहन नसक्ने रावलले बताए। ‘हिजोको व्यवस्थाका अत्याचारीहरू, यो देशलाई होली वाइनमा डुबाएर नेपालको धरातल समाप्त गर्नेहरू र संविधानमा आगो लगाएर नेपालमा नाकाबन्दी लगाउने कुराका समर्थकहरूलाई त्यहाँ पुर्‍याउने?’रावलले भने,‘म मात्र होइन त्यस्ता दर्जनौँ नेताहरू छन्, उनीहरूलाई पाखा लगाउने कुराको यो विरोध हो।’
उनले सैद्धान्तिक र राजनीतिक रूपमा नलडी अब एमाले रहन नसक्ने बताए। ‘नेकपा एमाले पार्टी अव यो नेकपा एमालेको रूपमा रहन सक्दैन,’रावलले भने,‘यसको नाम मार्क्सवादी लेनिनवादी त झन् रहन सक्दैन।’
काँग्रेसमा बेद्रोहीलाई अफर
नेपाली काँग्रेसले टिकट नपाएको झोकमा विद्रोही उम्मेदवार बनेकालाई फकाउन थालेको छ। निर्वाचन आयोगले तोकेको समयमा बागी उम्मेदवारले मनोनयन पत्र फिर्ता नगरेपछि काँग्रेसले फकाउन थालेको हो।
बुधवार दिउँसो १ बजेसम्मको समयमा उम्मेदवारी फिर्ता नगरेका बागीलाई ५ वर्षका लागि निष्कासन गरेको काँग्रेसले बिहीबार फेरि विज्ञप्ति निकालेर कारबाही फुकुवाको अफर गरेको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर अहिले पनि उम्मेदवारी फिर्ता लिएर गठबन्धनका आधिकारिक उम्मेदवारलाई सहयोग गरे कारबाही फुकुवा गर्ने आश्वासन दिएका छन्।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने ब्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’ विज्ञप्तिमा उल्लेख छ।
सत्तारुढ गठबन्धनका उम्मेदवार उठेका केही स्थानमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन्। जसले आधिकारिक उम्मेदवारलाई समस्या पर्ने भएपछि काँग्रेसले बागीलाई फकाउन सुरु गरेको हो। बुधवार काँग्रेसले बागी उठेका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो।
सिङ्गल हिरो बन्ने महत्त्वाकाङ्क्षा राखेका नेताहरूले आफ्ना प्रतिस्पर्धीलाई तल्लो तहमै सीमित गर्दा राजनीतिक दूषित बन्दै गएको छ। सिङ्गल हिरो बन्ने महत्त्वाकाङ्क्षाले नेपालका सबै राजनीतिक दलहरूप्रति आमजनताको वितृष्णा बढेको छ।

समाचार शेयर गर्नुहोस्
1.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.