सडक दुर्घटना

‘कानुन तोड्दा बहादुरी ठान्ने प्रवृत्तिले दुर्घटना’

‘कानुन तोड्दा बहादुरी ठान्ने प्रवृत्तिले दुर्घटना’

काठमाडौँ : काठमाडौँ नयाँ बानेश्वरको सडकमा विद्यार्थी ‘त्यहाँ पार्किङ गरेर कस्तो रिग्रेट भएको होला’ भन्दै थिए। फुटपाथ सडकमा पार्किङ गर्नेलाई ट्राफिक प्रहरीले चिट काटेर जरिवाना तिराएपछि चालकलाई पक्कै पनि पश्चात्ताप भएको हुनुपर्छ। ट्राफिक नियमको पालना नगर्दा काठमाडौँका सडकमा दिनहुँ दुर्घटना भइरहेका छन्।
गत आर्थिक वर्ष देशभर भएका ३९ हजार ३७९ सवारी साधन दुर्घटनामा २८८३ जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कमा १९ हजार ४७३ दुर्घटना भएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा ४८७ वटा सवारी साधन दुर्घटनामा परेका छन्। मधेस प्रदेशमा मृत्यु सङ्ख्या धेरै रहेको छ। ८ हजार ३०२ सवारी साधन दुर्घटनामा ५८५ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्। गत आर्थिक वर्ष १९ हजार ९७४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। १५५ जना बालक र ६७ जना बालिकाको मृत्यु भएको छ।
देशभर भएका दुर्घटनामा ७ हजार २८२ जना गम्भीर घाइते भएका छन् भने साधारण घाइतेको सङ्ख्या २५ हजार ७२२ जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७७ ०७८ मा ३३ हजार १३५ सवारी साधन दुर्घटना भएकोमा २५०० जनाको मृत्यु भएको थियो। दुर्घटना सङ्ख्या २० हजार ६४० रहेको थियो। गत वर्ष २४ हजार ५३७ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।
चालु वर्षको साउनदेखि असोज मसान्तसम्म दुर्घटनामा परेर ५३७ जनाको मृत्यु भइसकेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए। ९ हजार ३४४ सवारी साधन मध्ये ४ हजार ९४७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। गम्भीर घाइते हुनेको सङ्ख्या १ हजार ४१० छ भने साधारण घाइते हुने सङ्ख्या ६ हजार ३७१ रहेको छ। प्रहरीका अनुसार असोज मसान्तसम्म ५ हजार ८५४ वटा दुर्घटना भएका छन्।
मिचाहा प्रवृत्ति

बागलुङबाट काठमाडौँ आउने गाडीका चालकले सिट सङ्ख्या भन्दा पाँच जना यात्रु बढी चढाए। ती चालकले आफैँ ट्राफिक प्रहरीमा पुगेर पाँच सय रुपैयाँ जरिवाना बुझाए। ट्राफिक प्रहरीले चिट दियो। बागलुङदेखि काठमाडौँसम्म प्रति यात्रु १३ सय रुपैयाँका दरले यात्रुसँग भाडा लिए।
‘सिट सङ्ख्या भन्दा बढी यात्रु राख्ने चालकले पाँच सय जरिबाना बुझाएर ६ हजार थप भाडा असुले,’यात्रुले प्रश्न गरे,‘कस्तो नियम हो? एक पटक जरिवाना बुझाएको चिटले चालकलाई कतै चेकिङ नहुने?’
चालकले कहिले गल्ती देखाउँदैनन्। सडक प्रयोगकर्ता आफै सचेत हुनुपर्ने अवस्था छ। धेरै दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण हुने गरेको छ। मादक पदार्थ सेवन गरेर रातिमा गाडी हुइँक्याउँदा हुने दुर्घटना अहिले घटेका छन्। लाइसेन्समा ‘प्वाल’ पार्ने नियम लागू भएपछि रातिमा हुने सडक दुर्घटनाको सङ्ख्या घटेको छ।
क्षमता भन्दा बढी भारी बोक्दा मान्छे उठ्न नसकेजस्तै हो गाडी पनि। इन्जिन न हो धान्न नसकेर दुर्घटना हुँदा अकालमा ज्यान गइरहेको छ। ग्रामीण भेगमा भिरबाट गुल्टने र सहरी क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्दा हुने गर्छ दुर्घटना।
नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सेवा विभागका उपनिर्देशक शिवराम गौतम धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको बताउँछन्। ‘१० हजार दुर्घटना मध्ये ६ हजार दुर्घटना चालकको लापरबाहीले भएका छन्,’ उनले भने,‘चार हजार दुर्घटना हाई स्पिडका कारण भएका छन्।’
रेडक्रस जिल्ला शाखा काठमाडौँले शिक्षक र विद्यार्थीलाई सडक सुरक्षा ज्ञान दिन थालेको छ। ‘सडक शिक्षा न्यु जेनेरेसन मार्फत हुनुपर्छ। डाइभर्स छ समाज,’गौतमले भने,‘दुर्घटनामा परेर अङ्गभङ्ग भएर बसौँ भन्ने को चाहन्छ होला र?’ आफ्नो ज्यानसँगै अरूको ज्यान बचाउन सडक शिक्षा महत्त्वपूर्ण रहेको उनले बताए।
‘कानुन तोड्ने प्रतिस्पर्धा चलिरहेको छ। दण्डहीनता छ। कानुन तोड्दा बहादुरी ठान्ने प्रवृत्ति छ,’गितामाता मावि स्वयम्भूका शिक्षक रामप्रसाद देवकोटाले भने,‘टाइसुट लगाएकै मान्छे भोटाहिटी सडकमा आकाशे पुलको प्रयोग गर्दैन।’
कालीमाटीको जनप्रभात माविका चूडामणि सुवेदी सडकमा दुर्घटना कम गर्न विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनुपर्ने बताउँछन्। ‘पाठ्यपुस्तकमा सडक सुरक्षाको विषय राख्न तत्काल सम्भव छैन। नयाँ विषय राख्न बर्षाै लाग्न सक्छ,’रेडक्रस काठमाडौँका सभापति श्यामकाजी डोटेलले भने,‘कक्षा खालि भएको समयमा हाते पुस्तक तयार गरेर भए पनि पढाउने गर्नुहोस्।’
यो वर्षको साउनदेखि असोजसम्म सवारी साधनको ठक्करबाट ३३ वटा चौपायाको मृत्यु भइसकेको छ। १२ चौपाया घाइते भएका छन्। सडक दुर्घटनाबाट मान्छे र चौपायाको मृत्यु हुनेको सङ्ख्या बढिरहेको तथ्याङ्कले नै देखाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.