निर्वाचन आचारसंहिता

माधव नेपाललाई कारबाही गर्ने पत्रबारे प्रहरी बेखवर, प्रमुख आयुक्त उपदफामा चिप्लिए

माधव नेपाललाई कारबाही गर्ने पत्रबारे प्रहरी बेखवर, प्रमुख आयुक्त उपदफामा चिप्लिए

काठमाडौं : निर्वाचन आयोगले माधवकुमार नेपाललाई फौजदारी अभियोगमा अनुसन्धान गर्न पठाएको भनिएको पत्र प्रहरी कार्यालय रौतहटमा पुगेको छैन। आयोगले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पत्र पठाएको आई नपुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आधिकारिक रूपमा पत्र प्राप्त नभएको कार्यालयका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिए। ‘हामीले पनि सामाजिक सञ्जालमा पत्र देखेका हौँ,’एसपी मगरले पहिचानसँग भने,‘आधिकारिक रूपमा आएको छैन, आएपछि अनुसन्धान गर्छौ।’
प्रहरी कार्यालयमा पत्र पठाए नपठाएको विषयमा निर्वाचन आयोग पनि बोलेको छैन। आयोगका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले आफू राजु गुरुङको उम्मेदवारी खारेजको मुद्दामा सर्वोच्च अदालतमा जानु परेकाले पत्र गए नगएको थाहा नभएको बताए।‘मलाई यसबारे थाहा भएन,’वाग्ले भने,‘भोलि(शनिवार) अफिस गएपछि बुझेर भनौला।’
पत्र आएपछि प्रहरीले एक्सन लिने जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सुनिल मल्लले बताए। ‘अहिलेसम्म आधिकारिक रूपमा पत्र आएको छैन,’मल्लले भने,‘पत्र आएपछि प्रहरीले एक्सन लिन्छ।’ उनले पनि सामाजिक सञ्जालबाट आयोगले पत्र लेखेको थाहा पाएको बताए। नेपालले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर फ्री भिसा, फ्री टिकटमा विदेश पठाउने अभिव्यक्ति दिएका थिए।
प्रमुख आयुक्त चिप्लिए
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माधवकुमार नेपाललाई कारबाही नगरेको भन्दै अनुसन्धान गर्न प्रहरी कार्यालयमा पत्र पठाएको बताएका छन्। उनले आयोगले कारबाही नगर्ने भन्दै जहाँ आकर्षित हुन्छ त्यही पठाएको बताए। ‘दफा २० को उपदफा ज, झ आकर्षित भएको र त्यो कारबाही आयोगले गर्न सक्दैन,’थपलियाले भने,‘यदि त्यस्तो गरेको भए प्रहरी मार्फत जाने भएकाले त्यो पठाइदिएको हो,कारबाही गरेको होइन।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेको दफा २० मा उपदफा (छ) सम्म मात्रै छ। उनले पत्रकार सम्मेलनमा बोलेको उपदफा (ज) र (झ) निर्वाचन कसुर तथा सजाय ऐन २०७३ मा छैन। दफा २० मा उपदफा (छ)सम्म मात्रै छ। उपदफा (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने र उपदफा (छ) मा धर्म भकाउने वा प्रतिज्ञा गराउनेलाई निर्वाचन कसुर तथा सजाय ऐन अनुसार कारबाही हुने लेखिएको छ।
आयोगले पठाएको पत्रमा भने दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गरेकाले दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन भनिएको छ।
२०७४ को स्थानीय तह चुनावमा चितवनमा मतपत्र च्यात्नेलाई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही भएको थियो। मतपत्र च्यात्नेलाई दुई वर्ष जेलमा कोचेको कानुन अनुसार नै अनुसन्धान गर्न आयोगले प्रहरी कार्यालयमा पत्र पठाएको दाबी गरेको छ।
काँग्रेस महामन्त्रीलाई स्पष्टीकरण
निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं झापा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको जनाएको छ। झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनीन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गर्दै गरेको तस्बिर विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गरेको श्रव्य दृश्य सामग्रीका विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ को (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षलाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ। स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईँबाट रकम हस्तान्तरण भएको बारे के कसो भएका हो? यदि तपाईँबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्न नपर्ने हो?’ यो पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ।
राजुको उम्मेदवारी खारेजपछि गठबन्धन छलफलमा
सर्वोच्च अदालतले बैङ्किङ कसुर मुद्दामा कालोसूचीमा रहेका रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ। सत्ता गठबन्धनको एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयले निर्णय न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सदर गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
गुरुङको उम्मेदवारी खारेजसँगै एकीकृत समाजवादीले भागबन्डामा पाएको प्रतिनिधि सभाको २० मध्ये एउटा निर्वाचन क्षेत्र गुमाएको छ। रुपन्देही २ का उम्मेदवार नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले अब सत्ता गठबन्धनसँग भिड्नु नपर्ने भएको छ ।
पौडेलको प्रतिस्पर्धा अब आठ स्वतन्त्र र साना ६ दलका उम्मेदवारसँग हुने छ। गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले अब कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल थालेको छ।
तर निर्णय भने नभएको सत्ता गठबन्धनको नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले बताउनु भयो । ‘साथीहरू छलफल गरिरहेका छन्, निर्णय भएको छैन,’काँग्रेस प्रवक्ता महतले भने,‘त्यहाँका साथीहरूको सरसल्लाह होला, कति दिन लाग्छ भन्ने अहिले भन्न सकिँदैन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading