चुनावको मुखमा बिदेसिँदै नेपाली

चुनावको मुखमा बिदेसिँदै नेपाली

निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ। मङ्सिर ४ गते हुन लागेको निर्वाचनले गरिब जनतालाई केही फरक पारेको छैन। भोट हाल्न विदेशबाट भित्रिनुको साटो दैनिक हजारौँ नेपाली बाहिरिइरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर हेर्‍यो भने सबै नेपाली विदेशिसकेका छन् जस्तो महसुस हुन्छ। भोट हाल्ने मतदाता जति सबै खाडी छिरेका छन्। अहिले चुनावलक्षित प्रचारप्रसार कार्यक्रम सुरु भइसकेको छ।
राजनीतिक दलका नेताहरू विभिन्न आश्वासन लिएर घरदैलो कार्यक्रम गरिरहेका छन्। त्यो मध्ये एक चुनावी एजेन्डा बनेको विषय हो वैदेशिक रोजगारी। हामीलाई भोट दिए देशमै रोजगारीको अवसर सिर्जना गर्छौँ भनेर नेताहरूले वर्षौँदेखि भन्दै आएका छन्। तर, उनीहरूको यो आश्वासनले जनतालाई कुनै प्रभाव पारेको छैन। नेताको उही आश्वासन सुन्दासुन्दै जनताको कान पाकिसकेको छ।
हिजो पनि नेताहरूले यही भनेर भोट मागेका थिए। तर, जनताको जीवनमा यसले के प्रभाव पार्‍यो? निर्वाचनको बेलामा रुँदारुँदै मुलुक छोडिरहेका छन्। श्रम स्वीकृति लिनेको सङ्ख्या दिनहुँ बढिरहेको छ। बिहान बेलुकाको छाक टार्नकै निम्ति विदेश जानुपर्ने बाध्यता छ। देशको आधा जनशक्ति विदेशमा छन्। अलिकति सोचविचार गर्ने नै विदेशमा भएको फाइदा राजनीतिक दलले उठाउँदै आएका छन्।
अधिकांश पार्टीले चुनावलक्षित घोषणा पत्र सार्वजनिक गरिसकेका छन्। हरेक पार्टीले आफ्नो संकल्पपत्रमा रोजगारीको विषय उठाएका छन्। यति वर्षमा यतिलाई रोजगारी दिन्छौँ भनेर घोषणा पत्र त तयार पारे तर कुन क्षेत्रमा रोजगारी दिने प्रस्ट पारेनन्। नेपालका उद्योग जति राजनीतिक दलले बेचेर खाइसकेका छन्।
व्यापार व्यवसाय गर्नका लागि लगानी गर्न सक्ने क्षमता नेपाली जनतासँग छैन। कृषिमै आत्मनिर्भर बनौँ भने पनि देशमा बिचौलियाको बिगबिगी छ। अनि अन्तिम विकल्प के? वैदेशिक रोजगारी होइन? दलहरूले जनतालाई धेरै आश्वासन दिए। खोक्रो सपना देखाए तर त्योमध्ये कुनै पनि पूरा गर्न सकेनन्। यहाँ बसेर दलका फजुल कुरा सुन्नुको साटो विदेशमा गएर कमाउँदै गर्छु भनेर चुनावको मुखमा मतदाताले जन्मभूमि छोडिरहेका छन्।
निर्वाचन आयोगले विदेशमा भएका नेपाली जनतालाई मतदान गर्ने व्यवस्था मिलाउन सकेन। चुनावको बेलामा विदेश जाने क्रम रोक्न पनि आयोग असमर्थ रह्यो। आयोग भन्छ,‘जनसङ्ख्याको आधारमा ५५ प्रतिशत जनताले भोट हाले भने निर्वाचन सफल हुन्छ।’ निर्वाचन गराउँदा जनताले तिरेको अर्बौँ रुपैयाँ खर्च हुन्छ। तर, सबै जनताले भोट हाल्न पाउने प्रबन्ध मिलाउन आयोगले सक्दैन।
चुनाव गराउने भन्ने आयोगको नौटङ्की मात्र हो। अर्थ मन्त्रालयले अर्बौँ बजेट पठाउँछ। यो र त्यो खरिद गरियो भनेर सबै बजेट झ्याम्म पारिन्छ। स्पष्ट रूपमा भन्नुपर्दा चुनाव आउनु भनेको आयोगका कर्मचारीलाई दसैँ आउनु सरह हो। कमाउने ठाउँ जो पाउँछन्। आयोगले जति बजेट माग्यो,अर्थ मन्त्रालयले कहीकतै प्रश्न नगरी पैसा दिन्छ। त्यसमध्ये आधा रकम त भ्रष्टाचार नै हुन्छ।
निर्वाचनमा जनताले तिरेको करमा रजाइँ चल्छ। माथिदेखि तलसम्मकाले कमाउने मौका पाउँछन्। विदेशमा गएर जनताले मरिमरी कमाएर पठाइरहेका छन्। यहाँ भने त्यसको केही ‘भ्यालु’ नै छैन। एउटा कलम किनेर सय वटाको बिल बनाउँछन्। चुनाव आउँदा फाइदा हुने भनेको सरकारी कर्मचारी, नेता र व्यापारीलाई हो। सरकारी कर्मचारीले कमाउने अवसर पाउँछन्। चुनाव गराउँदा सरकारले लिएको विदेशी ऋण नेपालीकै टाउकोमा थुपारिन्छ।
मतदान गर्ने दिन बेलुकाको ५ बजेसम्म नेताले जनता चिन्छन्। त्यसपछि त्यो नेतालाई जनताको मतलब छैन। पाँच वर्षको कार्यकालमा तिनीहरू फर्केर पनि जनताको घरमा पुग्दैनन्। यस्तालाई दुःख गरेर के भोट दिनु?
जनता पनि आश्वासनमा पर्छन्। जागिर नपाएकालाई जागिर दिन्छु भनेपछि उसलाई केही चाहियो? आफ्नो घरअगाडिको बाटो बनाइदिन्छु भनेपछि जनताले भोट दिन्छन्। तर, त्यो सडक कहिल्यै निर्माण हुँदैन। नेताहरू सत्तामा पुग्नका लागि जस्तोसुकै काम गर्न पनि तयार छन्। जनतामा पनि चेतनाको कमी भएजस्तो देखिन्छ।
नेतालाई त के छ अहिले १० करोड खर्च गर्छन्। पाँच वर्षको कार्यकालमा काम गर्नुको साटो त्यसको दोब्बर कमाउन खोज्छन्। हिजो सरकारी जग्गा, गुठीको जग्गा हिनामिना गर्दाको पैसा त यिनीहरूसँग छ। खर्च गर्न नसक्नेले यो चोटि चुनाव नै लडेनन्। पार्टीले टिकट दिन्छु भने पनि उनीहरू चुनावी मैदानमा आएनन्। जनताका लागि काम गर्ने सबै पछाडि हटेका छन्। उही कामचोर नेताहरू चुनावी मैदानमा होमिएका छन्।
नेताहरूको गुलामी गर्न सक्नेले जागिर पाउने हुन। अहिले चुनावका जसले आफ्नो साथ समर्थन गरेका छन्, नेताहरूले पनि तिनलाई मात्र देख्छन्। यिनीहरूका लागि जनता सत्तामा पुग्ने भर्‍याङ मात्र हुन्। जुन कुरा पछिल्लो समय जनताले पनि बुझिसकेका छन्। सरकारले सात वटा खाडी मुलुकमा ‘फ्री टिकट, फ्री भिसा’ भनेको छ। तर, म्यानपावरहरूले ती मुलुक पठाउनका लागि पनि दुई तीन लाख रुपैयाँ उठाइरहेका छन्।
अब पनि सरकारले रेमिटेन्स मात्र हेर्ने हो भने नेपाल रहँदैन। जनता सबै खाडीमा अनि नेता मात्र देशमा बस्ने? देशका जनतालाई सरकारले भेडाबाख्राझैं बेचिरहेको छ। नेपाली जनता भेडाबाख्रा नै हुन्? रोग नलागेका सबै विदेश हिँडेका छन्, बुढाखाडा मात्र यहाँ छन्। अनि देशको विकास कसरी हुन्छ? पैसा कमाउनका लागि आफ्नो घरपरिवारबाट टाढिँदा वैवाहिक सम्बन्ध तहसनहस भएका छन्। यसले थप जटिल अवस्था ल्याउन सक्छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading