चुनाव

मतदाता प्रभावित पार्नेलाई ठाउँको ठाउँ कारबाही गर्न निर्देशन

मतदाता प्रभावित पार्नेलाई ठाउँको ठाउँ कारबाही गर्न निर्देशन

चितवन : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उच्च मनाेबलका साथ काम गर्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई थपलियाले निर्देशन दिएका हुन।

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सत्य सेवा सुरक्षणम्को संकल्पसहित प्रहरीले स्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन चनाखो भएर काम गर्न निर्देशन दिए।

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिएकाे उनले बताए। उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह पनि गरे।
`मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्,त्यसको सूक्ष्म विश्लेषण गर्नुस्। केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई सुरक्षाको प्रत्याभूति गराउनुस्´ प्रमुख आयुक्त थपलियाले भने, `मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा (कुदृष्टि) लगाएमा, सम्झनुस्, त्यो तपार्ईँका विरुद्धको कुदृष्टि हो, त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस्।´

चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत सहभागी कार्यक्रममा शिक्षालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले आयोगको निर्देशनबमोजिम निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउन नेपाल प्रहरीले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बताएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.