चुनाव

काठमाडौं ६ मा रोचक प्रतिस्पर्धा : दागी भर्सेस सादगी

काठमाडौं ६ मा रोचक प्रतिस्पर्धा : दागी भर्सेस सादगी

काठमाडौं : काठमाडौँका १० क्षेत्रमध्ये ६ लाई काँग्रेस र एमालेले भिन्न रूपले हेर्ने गरेका छन्। उक्त क्षेत्रलाई काँग्रेसले ‘सुरक्षित’ ठानेको छ भने एमालेले ‘ट्रायल’ क्षेत्रका रूपमा बुझ्ने गरेको छ। मङ्सिर ४ गतेको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धन आबद्ध दल र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन्।

सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेसका सादगी नेता तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान ‘ह्याट्रिक’ गर्न र केहीअघि मात्र एमालेमा प्रवेश गरेका पूर्वआईजिपी सर्वेन्द्र खनाल ‘ट्रायल उम्मेदवार’का रूपमा मतदाताको घरदैलो पुगिरहेका छन्। त्यसैले उक्त क्षेत्रमा यस पटक रोचक प्रतिस्पर्धा हुने निश्चित छ। दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौँका रैथाने प्रधान र २६ औँ आइजिपीको फुली लगाएर अवकाश लिएका खनालबिचको प्रतिस्पर्धा यसै पनि रोमाञ्चक हुने अनुमान गरिएको छ।

अझ रोचक त के छ भने सोही क्षेत्रबाट दुई पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका प्रधान आफ्ना हरेक मतदातासँग परिचित छन्। आफ्नो क्षेत्रभित्रका चोक–चौतारा, मठ–मन्दिर, चैत–गुम्बा, चर्च–मस्जिद, गल्ली, टोल मात्र होइन हरेक घरका दैला र भर्‍याङको आकारप्रकार छामेका छन्। सडकहरूको नाप, ढुंगेधाराहरुको सङ्ख्या कण्ठस्थ गरेका छन्।

मुख्य प्रतिस्पर्धीका रूपमा आएका खनाल खासै परिचित छैनन्। खनाल मतदातासँग घुलमिल हुनै पाएका छैनन्। चारभाग मध्ये एकभाग पनि टोलको फन्को लगाउन भ्याएका छैनन्। यद्यपि आफ्नो चुनावी अभियानलाई भने खनालले चर्काएका छन्।

उक्त क्षेत्रबाट राप्रपाबाट गायक सञ्जय श्रेष्ठ, निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि घरदैलोमा व्यस्त छन्। त्यो भन्दा पनि पूर्वरक्षामन्त्री प्रधान र पूर्वआईजीपी खनालबिचको प्रतिस्पर्धालाई निकै महत्त्वका साथ हेरिएको छ। प्राध्यापन पेसा त्यागेर राजनीतिमा होमिएका प्रधान र सरकारी जागिरबाट रिटायर्ड भएर फुर्सदको समय सदुपयोग गर्न आएका खनालको प्रतिस्पर्धालाई कतिपय विश्लेषकले प्रतिस्पर्धा नै ठानेका छैनन्। खनाल भन्छन्,‘म हार–जितका लागि आएको होइन। सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान लागेकाले जोगाउन आएको हुँ।’ प्रधानले पनि खनालको उम्मेदवारीलाई अराजनीतिक भनेका छन्। अराजनीतिक उम्मेदवारसँग आफ्नो प्रतिस्पर्धा नै नहुने प्रधानको दाबी छ।

दागी भर्सेस सादगी

प्रहरी सेवामा रहँदा खनालले गरेका कामहरू जीवनमा नमेटिने दाग बनेर बसेका छन्। जसलाई विपक्षीले चुनावी मसला बनाएका छन्। उनलाई दागी उम्मेदवार भनेर प्रचार गरिरहेका छन्। भलै, खनालले भने प्रहरी सेवामा रहँदा लोकप्रिय काम गरेको, भ्रष्टाचारीलाई कठघरमा उभ्याएको र गुन्डाहरूलाई तह लगाएको भन्दै मत मागिरहेका छन्।

उनकै कार्यकालमा बिर्सनै नसिकिने निर्मम घटना घटे। उनको कार्यकालमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र सो घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको, सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको, ‘सांसद अपहरण’ काण्डमा मुछिएको भनेर प्रचार गरिएको छ। त्यतिमात्र नभई आफैँ निर्वाचन लडेको सामाखुसी कपुरधारा क्षेत्रमा कुमार श्रेष्ठ (घैँटे)लाई खनालकै निर्देशनमा फेक इन्काउन्टर गरी हत्या गरेको आरोप छ। जसका कारण युवा मतदाता उनीसँग सन्तुष्ट छैनन्।

सामान्य जीवनयापन गरिरहेका प्रधान भने सादगी नेताका रूपमा परिचित छन्। बर्षौंदेखि उनी मतदाताको साह्रोगाह्रो, दुख–बिमार, आपत् विपत्, जन्ती–मलामी पुगिरहने गरेकाले प्रिय छन्। २०३६ सालमा विद्यार्थी राजनीति र २०४८ देखि नै काँग्रेसको सक्रिय भूमिकामा रहेका प्रधानले २०७० सालमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए। उनी भन्छन्,‘राजनीतिमा लागेर धेरै साथीहरूले आर्थिक उन्नति गरे। मैँले राजनीतिलाई सेवा ठानेँ। छँदाछँदैको प्राध्यापन पेसा त्यागे र जनताको सेवामा समर्पित भएँ। मेरो क्षेत्रका जनताका लागि जानेर केहीपनि बेइमान गरेको छैन। हैसियतले भ्याएसम्म सेवा गरेको छु। जीवनको उत्तरार्धमा आएर म बेइमानी गरेर देह त्याग गर्न चाहन्न।’

प्रधान सदन चलेको दिन र पार्टीको महत्त्वपूर्ण काममा व्यस्त हुनुबाहेक हरेक दिन आफ्ना मतदाताको घरदैलोमा पुग्ने गरेको बताउँछन्। दुई कार्यकाल सांसद रहँदा ठुला राष्ट्रिय मुद्दाहरू उठाएर आफ्नो क्षेत्रको नाम र इज्जत राखेको दाबी उनको छ। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयक विरुद्ध जागरण अभियान ल्याएर सरकारलाई घुँडा टेकाउन सफल भएको, खुलामञ्च खाली गर्न र अवैध ढङ्गले बनाएका सटर हटाउन, कङक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्त्विक ढङ्गले मल्लकालीन रानीपोखरी बनाउन आफूले महत्त्वपूर्ण योगदान गरेको उनले सुनाउने गरेका छन्। त्यसबाहेक आफ्नो निर्वाचन क्षेत्रमा ठुला आयोजनाहरू भित्र्याउन भूमिका खेलेको उनको दाबी छ।

प्रधानले एमाले अध्यक्ष ओलीले संविधान मिच्ने काम गरेकोले त्यसलाई सही मार्गमा ल्याउन सत्ता गठबन्धनको आवश्यकता परेको बताउँदै संविधान रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। उनले ‘जनताको जिम्मेवारी, जनतालाई जनाधिकार, जनताप्रति जबाफदेहिता’ नारा अघि सारेका छन्।

एमालेका लागि परीक्षण मात्र

एमालेले काठमाडौं ६ लाई आफ्नो सुरक्षित क्षेत्रका रूपमा स्वीकारेको छैन। त्यसैले टेस्टका लागि सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि सोही क्षेत्रमा रैथाने एमालेका नेताहरू सन्तुष्ट छैनन्। उक्त क्षेत्रमा एमालेबाट योग्य र सक्षम उम्मेदवारहरू हुँदाहुँदै खनाललाई टिकट दिएपछि एमालेभित्र भाँडभैलो मच्चिएको छ।

प्रहरी सेवामा रहँदा कुशल प्रशासक, गुन्डा, तस्कर, भ्रष्टाचारी, माफिया, दलाल र अपराधीहरूलाई दण्डित गर्न कुनै कसुर नराखेका उम्मेदवार भनेर उनलाई प्रचार गरिए पनि मतदाताले त्यसलाई स्विकार्न सकिरहेका छैनन्। उनको विवादित छवि सामाजिक सञ्जालमा छरपस्ट भएपछि मतदाताको मनोविज्ञान बदलिएको छ। त्यतिमात्र नभई राजनीतिमा त्याग गरेका नेतालाई टिकट नदिएर पूर्व प्रशासकलाई उम्मेदवार बनाएपछि एमालेका प्रतिबद्ध कार्यकर्ताहरूमा निराशा छाएको छ।

मतको अङ्कगणित

गत वैशाखमा भएको स्थानीय तहको मतलाई आधार मानेर विश्लेषण गर्ने हो भने उक्त क्षेत्रमा काँग्रेस बलियो देखिन्छ। स्थानीय तहमा नेपाली काँग्रेसले १६ हजार ४ सय ७९ मत पाएको थियो भने नेकपा एमालेले १३ हजार ४ सय ४५ मत ल्याएको थियो। माओवादी केन्द्रले २ हजार ३ सय ३९, एकीकृत समाजवादीले १ हजार ७ सय ५२, राप्रपाले १ हजार ७ सय ४६ मत ल्याएको थियो।

काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा तथा टोखा नगरपालिकाका १, ८, ९, १० र ११ नम्बर वडाहरू समावेश छन्।

काठमाडौं महानगरपालिकाको उपमेयर भइसकेकी हरिप्रभा खड्की प्रदेश सभा(क)र प्रदेश (ख)का सत्ता गठबन्धनका विष्णुभक्त तिमिल्सिना जस्ता प्रभावशाली उम्मेदवार रहेकाले प्रधानसहितको गठबन्धनको टिमले विजयी हासिल गर्ने आकलन गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.