चुनाव

रौतहट–४ मा त्रिपक्षीय भिडन्त

रौतहट–४ मा त्रिपक्षीय भिडन्त

रौतहट : रौतहट–४ बढी चासोको क्षेत्र बनेको छ। कारण हो, दोहरिएर कोही एउटै नेताले चुनाव नजित्नु। एकचोटी जितेका उम्मेदवार अर्को पटक जितेको रेकर्ड छैन। क्षेत्र नं ४ का जनताले एक पटक भन्दा बढी कुनै उम्मेदवारलाई रुचाएको पाइँदैन।

सत्ता गठबन्धन, एमाले–जसपा गठबन्धन, राप्रपा, स्वतन्त्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिना र एमाले–जसपा गठबन्धनबाट एमालेका उद्धवप्रसाद रेग्मी उम्मेदवार छन्।

राप्रपाबाट रूपलाल राय यादव र ८ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। रौतहट–४ मा नयाँ उम्मेदवारले जित्ने गरेको इतिहास छ। यो इतिहास तोडेर आफू नै पुनः जित्ने दाबी सत्ता गठबन्धनका उम्मेदवार तिमल्सिनाको छ।

‘२०७४ मा एमाले–माओवादी गठबन्धन हुँदा पनि यो क्षेत्रमा मैले जितेको हुँ। विकास निर्माणका अधुरा काम पूरा गर्न पनि यसपालि जनताले फेरि जिताउनुहुन्छ भन्ने विश्वास छ,’ तिमल्सिनाले चुनावी सभाहरूमा भन्ने गरेका छन्, ‘धेरै काम गर्न बाँकी छ।’

उनले स्थानीय, प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने भएकोले विकास निर्माणका काम गर्न सजिलो हुने पनि बताएका छन्। ‘२०७४ मा मैले चुनाव जितेँ तर केन्द्रमा वामगठबन्धनको सरकार बन्यो। सोचेजस्तो काम गर्न सकिएन,’ उनले भने, ‘यसपालि तलदेखि माथिसम्म हाम्रो गठबन्धनको सरकार बन्छ। विकास निर्माणका काम गर्न सजिलो हुन्छ।’

एमाले–जसपाबाट साझा उम्मेदवार उद्धवप्रसादले क्षेत्रको विकासका लागि आफूहरूलाई जनताले जिताएर पठाउने विश्वास व्यक्त गरे। उनले देश विकासका लागि एमाले नेतृत्वको गठबन्धनलाई मत दिनुपर्ने बताए। ‘यो क्षेत्रको विकासका लागि एमाले उम्मेदवारलाई जनताले जिताउनेछन् भन्ने विश्वास छ,’ उनले भने।

काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार साहले सत्ता र एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई चुनौती दिइरहेका छन्। गत वैशाखमा स्थानीय चुनावमा मेयरको टिकट मागेका थिए तर कांग्रेसले दिएको थिएन। त्यसै बेलादेखि रुष्ट काँग्रेसका पुराना नेता मानिने अजय साहले चुनावमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
तिमिल्सिना, रेग्मी र स्वतन्त्र उम्मेदवार साहबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। साहले यो क्षेत्रमा जनताले आफूलाई जिताएर पठाउने बताउने गरेका छन्।

गत वैशाखमा भएको स्थानीय चुनावको मतअनुसार सत्ता गठबन्धन अगाडी छ। कांग्रेस नेतृत्वको गठबन्धन ५५ हजार २ सय ७१ मतसहित अगाडि छ। एमाले गठबन्धनको १९ हजार १ सय ९ मत छ। यो मत कायम राख्न सके सत्ता गठबन्धनका उम्मेदवार तिमल्सिनाको जित सुनिश्चित जस्तै छ। तर यो क्षेत्रमा २०४८ सालदेखि दोहोर्‍याएर कसैले पनि जितेको इतिहास नभएकाले तिमल्सिना पनि ढुक्क हुन सकिरहेका छैनन्।

तिमल्सिना तेस्रोपटक उम्मेदवार भएका हुन्। २०७४ मा उनले एमालेका रामकुमार भट्टराईलाई हराएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading