निर्वाचन

इलाम–२ : खड्काको आक्रामक प्रचार र एमालेको फुट नेम्वाङका लागि भारी

इलाम–२ : खड्काको आक्रामक प्रचार र एमालेको फुट नेम्वाङका लागि भारी

इलाम : असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा सुवासचन्द्र नेम्वाङको मुहारमा चमक थिएन। मलिन र शान्त देखिएका नेम्वाङ इलाम–२ बाट पाँचौँ पटक उम्मेदवारी दर्ता गरिरहँदा शंसकित थिए।

पहिलो कारण सामाजिक सञ्जालमा हिलाम्मे सडकको तस्बिर पोस्ट गर्दै ‘नेम्वाङ हराऊ अभियान’ चर्किएको थियो। यो अभियान अझै निरन्तर छ र भित्रभित्रै भाइरल भइरहेको छ। दोस्रो कारण, उनी यस पटक नयाँ अनुहारहरूसँग प्रतिस्पर्धामा छन्। शालीन र भद्र स्वभाव साथै नम्र बोलेर मतदाता प्रभावित गर्दै आएका उनीमाथि दर्जनौँ चुनौतीहरू थपिँदै थिए। दुई पटक संसद् विघटनको साक्षी बसेर पाँच वर्षमा ‘वाली’ उठाउन आएको भनेर उनीमाथि मतदाताको आक्रोश चुलिँदो छ।

उम्मेदवारी दर्तासँगै चुनावी अभियानमा होमिएका एमाले उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष नेम्वाङले हरेक चुनावी सभामा उत्साहजनक भाषण गर्न सकिरहेका छैनन्। २३ वर्षमा भएका अधुरा कामहरूको फेहरिस्त र प्रष्टीकरणमा उनको भाषणबाजी चलिरहेको छ। यद्यपि, पाँचौँ पटक विजयी हुने उद्देश्यसहित उनी घरदैलोमा पुगिरहेका छन्। मतदाता हौस्याइरहेका छन्। ‘हेभीवेट’को गरिमा कायम राख्न उनी कम्मर कसेर लागेका छन्।

यस पटक नेम्वाङका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनौती बनेर खडा भएका छन्। काँग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा विजयी भएका खड्का नेम्वाङका लागि विल्कुल नयाँ अनुहार हुन। साथै इलाम क्षेत्र नम्बर २ मा खड्काको सामाजिक गतिविधि र आक्रामक चुनावी प्रचार नेम्वाङका लागि भारी बनिरहेको छ।

इलामका दुर्गम गाउँहरूलाई आफैँले माथि उकासेको दाबी गरिरहेका नेम्वाङका लागि यस पटकको चुनाव विगतको जस्तो सहज देखिँदैन। आफ्ना पुराना र नियमित मतदान गर्दै आइरहेका मतदाताहरू नेम्वाङप्रति खुसी छैनन्। किनकि प्रतिस्पर्धीहरुले उनले अधुरै छाडेका दर्जनौँ विकासे योजनाहरूलाई चुनावी मसला बनाइरहेका छन्। जसका कारण मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको छ। मतदाता विकल्प खोजिरहेका छन्।

उत्साहित खड्का

निर्माण व्यवसाय र राजनीतिलाई सँगै अघि बढाइरहेका डम्बर खड्का इलामका स्थायी बासिन्दा हुन्। उनी नियमित जिल्लामै बस्छन्। तर सुवास नेम्वाङ केन्द्रीय राजनीतिमा व्यस्त हुने भएकाले जिल्लामा समय दिन भ्याउँदैनन्। जिल्लामा बसेर खड्का सङ्गठन विस्तार मात्र गरिरहेका छैनन्, दुःख–बिमार, आपत्–विपत्, मेला–महोत्सवमा आर्थिक सहयोग बोकेर गाउँ गाउँ पुगिरहेका छन्। जसका कारण मतदाता उनीसँग प्रत्यक्ष जोडिएका छन्।

खड्का भन्छन्,‘सबै पार्टीसँग आस्था राख्ने इलामेली जनताको सुखदुखमा म सधैँ सँगै छु। मेरो सक्रियतालाई देखेर हजारौँ इलामे जनताले काँग्रेस रोजेका छन्। जिल्लाका लागि सिन्को नभाँचेका नेम्वाङलाई यस पटक इलामेली मतदाताले बिदा दिनेछन्। यो निश्चित छ।’ खड्काले भनेजस्तै ठ्याक्कै त नहोला तर नेम्वाङप्रति एकखालको वितृष्णा भने पैदा भएको छ। यद्यपि, काँग्रेसका जिल्लास्तरीय नेताहरूलाई सँगै चुनावी अभियानमा हिँडाउन खड्काका लागि पनि चुनौती देखिएको छ।

नेम्वाङलाई थपिएको चुनौती

इलाम २ मा २०५६ साल यता नेम्वाङले पराजय बेहोर्नु परेको छैन। उनी बलिया उम्मेदवार हुन। यसपालि भने परिस्थिति केही बदलिएको छ। एमाले केन्द्रीय कमिटीमा देखिएको तिक्तता तल्लो स्तरसम्म पुगेको छ। यसमा इलाम २ अछुतो छैन। एमालेभित्रको गुटबन्दी, असन्तुष्टि बाहिर नदेखिए पनि भित्रभित्रै सल्किँदो छ। जसको असर यसपालि नेम्वाङलाई पर्ने निश्चित छ।

पार्टीको आन्तरिक विवाद भन्दा पनि उनीप्रति मतदातामा छाएको निराशा प्रमुख कारण बनिरहेको छ। साथै सत्तारुढ गठबन्धनको बलियो उपस्थिति नेम्वाङका लागि खतरा बन्ने देखिन्छ। यता विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको छ। जुन सामाजिक सञ्जालमा छरपस्ट छ।

विशेषगरी राँके–रवि सडक, जितपुर–मङ्गलवारे सडक साथै अन्य जनजीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीलगायत क्षेत्रमा नेम्वाङको भूमिका प्रभावकारी नभएको आरोप छ। तर नेम्वाङले आफ्नै पहलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र इलामका ‘कर्णाली’मानिने गाउँहरूलाई आफ्नै पहलमा समृद्ध बनाउँदै लगेको प्रतिक्रिया दिइरहेका छन्।

०७४ को संसदीय चुनावमा माओवादी र एमालेबिचको गठबन्धनबाट जितेका नेम्वाङले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापालाई पराजय गराएका थिए। नेम्वाङको क्षेत्रमा यो पटक एमाले फुटेका कारण आफूले जित्ने काँग्रेसको दाबी छ। एमाले पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीति गठबन्धनले बनाएको छ।

इलाम जिल्लामा १० पालिकामध्ये दुई नगरपालिका र तीन गाउँपालिका नेम्वाङ–खड्काको क्षेत्रमा पर्छ। गत स्थानीय चुनावमा काँग्रेसले इलाम नगरपालिकाको मेयर–उपमेयर नै जितेको थियो भने एमालेले देउमाई नगरपालिकामा मेयर र उपमेयर जितेको थियो। यस्तै, चुलाचुली गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो। फाकफोक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको थियो।

मतको लेखाजोखा

गत स्थानीय तहको निर्वाचनमा खसेको मतका आधारमा नेताहरूले आफ्नो विजयी सुनिश्चित भएको दाबी गरिरहेका छन्। इलाम २ को सवालमा पनि सूर्य चिन्हमा खसेको मत र रुख–कलम–हसिंया हतौडामा खसेको मतको आधारमा उम्मेदवारहरूले आफ्नो चुनावी रणनीति बनाइरहेका छन्।

नेम्वाङले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसका केशव थापालाई पराजित गर्दा ३६ हजार ५ सय १७ मत ल्याएका थिए भने थापाको २६ हजार ८ सय ६५ मत आएको थियो। तर गत स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा एमालेभन्दा काँग्रेस अगाडि देखिएको छ। इलाम नगरपालिकामा नेपाली काँग्रेसका मेयरको मत १३ हजार १६५ छ भने एमालेले १० हजार ५८७ मत ल्याएको छ। देउमाईमा एमालेले ८,६२२ मत ल्याउँदा काँग्रेस ७,६२२ मत ल्याएर दोस्रो भएको छ। माङसेबुङ गाउँपालिकामा एमालेले ३,८९८ मत ल्याउँदा काँग्रेसले ३,४९५ मत पाएको छ।

फाकफोकथुम गाउँपालिका र माई नगरपालिकामा एमालेको मत धेरै छ। फाकफोकथुममा एमालेले ५,३२२ मत ल्याउँदा काँग्रेसले ४,८२१ मत ल्याएको छ। चुलाचुली गाउँपालिकामा भने करिब तीन हजार मतले काँग्रेस अगाडि छ। माई नगरमा एमाले थोरै मतले अगाडि छ। सबै पालिकाहरूको मत हेर्दा गठबन्धन चार हजार बढी मतले अगाडि छ। तर स्थानीय तह निर्वाचनको मत परिणामलाई हेरेर सङ्घीय चुनावको विश्लेषण गर्न नसकिने स्थानीयको दाबी छ।

इलाम २ (क) मा एमालेका गणेश बरालसँग गठबन्धनको तर्फबाट काँग्रेसका गोविन्द गिरीले प्रतिस्पर्धामा छन् भने २ (ख) मा गठबन्धनबाट माओवादीका हर्क लावती र एमालेका राम राना चुनावी मैदानमा छन्। इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना अन्य (तेस्रोलिङ्गी) गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता छन्।

जातीय मत र धर्मगुरुको भूमिका

इलाम २ बाट नेम्वाङले निरन्तर जित्दै आउनुको प्रमुख कारण जातीय र किराँत धर्मगुरु आत्मानन्द निङदेनको आर्सीवाद मुख्य मानिन्छ। मनोनयनको अघिल्लो दिन गुरुको निजी आश्रम लारुम्बा पुगेर नेम्वाङले किरात धर्मगुरु गुरुआमा बसेको ठाउँ, पोक बसेको ठाउँ र किराँतको पवित्र केन्द्र माङसेबुङ रहेको भनेर फकाए र आर्सीवाद लिए। नेम्वाङले गुरुसामु महागुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा र धर्म निरपेक्ष घोषणा गर्न एमालेको ठुलो भूमिका रहेको सुनाए।

तर विकासे कामहरू अधुरा रहेकाले यस पटक धर्मगुरु र गुरुआमा नेम्वाङप्रति त्यति खुसी छैनन्। उक्त क्षेत्रमा आश्वासन दिए अनुसारको काम नेम्वाङले पूरा गर्न नसकेको आरोप छ। साथै निर्णायक मानिएको उक्त क्षेत्रका मतदाता यसपालि विभाजित अवस्थामा छन्।

गुरु निकट मानिने केही युवाहरूलाई खड्काले काँग्रेस जिल्ला समितिमै भित्र्याएपछि मत तितरबितर भएको छ। उक्त मतलाई गठबन्धनका नेताहरूले आफूतिर तान्ने रणनीति लिएका छन्। जसका कारण यसपालिको चुनाव नेम्वाङका लागि अफाबसिद्ध हुने र परिणाम उल्टिन सक्ने आङ्कलन गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading