चुनाव

शेखर कोइराला विरासत फर्काउने कसरतमा

शेखर कोइराला विरासत फर्काउने कसरतमा

काठमाडौं : निर्वाचन नजिकिँदै जाँदा हेभीवेट प्रतिस्पर्धाका रूपमा हेरिएको विराटनगर –६ मा चुनावी सरगर्मी बढेको छ। नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला र एमालेका लालबाबु पण्डितबिच प्रतिस्पर्धा हुनेभएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो।

प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा.कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन। कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन्।

२०७४ को चुनावमा ६७५ मतान्तरले मात्रै अघिपछि भएका यिनै प्रतिस्पर्धी फेरी पनि मैदानमा उत्रिएपछि यो क्षेत्रलाई चासोका साथ हेरिएको मोरङका स्थानीयहरू बताउँछन्। गत निर्वाचनमा कोइरालालाई पछि पारेका तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाएका थिए। डा.कोइरालाको पक्षमा ३३ हजार २६६ मत आएको थियो। प्रदेश सभाका दुवै क्षेत्रमा भने काँग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए।

यस पटक डा.कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित शंशकित छन्। मुलुकको तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा.शेखर भावी प्रधानमन्त्रीको दौडमा नभई सदन प्रवेशको कसरतमा रहेको बताउँछन्। ‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु’,कोइरालाले भने, ‘मोरङवासी मात्र नभई मुलुककै समृद्धिको पक्षमा छु। राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो सङ्कल्प छ।’

यस पटक मोरङमा काँग्रेसभित्र समस्या नभएको र गठबन्धनको सहयोग रहेकाले चुनाव जित्न सहज हुने उनको बुझाइ छ।‘अहिले हामी एक छौँ’, उनले भने, ‘गठबन्धन एकढिका छ। मोरङवासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ। अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न मङ्सिर ४ कुरिरहेका छन्। मलाई रोज्न आतुर छन्।’

विराटनगर प्रजातन्त्रको जग भएकाले यस पटक शेखर कोइरालाको जित पक्का हुने नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए। उनले नेपाल भने, ‘यो प्रजातन्त्रको जग हो, पवित्र मन्दिर हो। कृष्णप्रसाद, बिपी, जीपी र अब डा. शेखर, डा.शंशाक र सुजाता दिदीले यसको विरासत धान्नुहुन्छ। इतिहास जोगाउनु हुन्छ।’

डा.कोइरालाका प्रतिस्पर्धीका रूपमा रहेका एमाले नेता लालबाबु पण्डित चुपचाप चुनावी माहौल बनाइरहेका छन्। पण्डितले भने,‘म काम गर्ने व्यक्ति हुँ। अहिलेसम्म गरेका काम हेर्नु भो भने तपाईँ चकित पर्नुहुन्छ। २० महिना मन्त्री हुँदा कति व्यस्त थिएँ होला तर मैँले मेरो क्षेत्रका मतदातासँग भेट्न छाडिन। म प्रति मतदाताको कुनै गुनासो छैन। कामप्रति सन्तुष्ट छन्। सुख दुःखमा सँगै छु। असन्तुष्ट हुने अवसर नै दिएको छैन। त्यसैले यस पटक पनि चुनाव जित्छु भन्नेमा छु।’

आगामी निर्वाचनका लागि लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार डा कोइरालासँगको लडाइमा सफल हुने कुरामा उनी ढुक्क भने देखिएका छैनन्। यस क्षेत्रमा पण्डितप्रति एमालेको शीर्ष नेतृत्व नै सन्तुष्ट नभएको स्थानीय नेता कार्यकर्ताहरू नै बताउँछन्।

आन्तरिक असन्तुष्टिको डर उत्तिकै

प्राय सबै दलभित्र उम्मेदवारको टिकट वितरणमा भएको विभेद र भागबन्डाको असर तल्लो तहका कार्यकर्तासम्म पुगेको छ। एमालेलगायतका शीर्ष दलभित्र यसैको असन्तुष्टि देखिएको छ। पण्डितले टिकट पाएपछि कार्यकर्ता विभाजित अवस्थामा छन्। तर पण्डित यसलाई स्वीकार गर्दैनन्। ‘पार्टीभित्र कुनै विवाद छैन। असन्तुष्टि छैन। सबै एक भएर भोट मागिरहेका छौँ। बाहिरको हल्लामा सत्यता छैन,’ उनले भने।

यता नेपाली काँग्रेसमा टिकट वितरणका बेला केही रस्साकस्सी र विवाद देखिएको थियो। अन्य भन्दा बलिया र सक्रिय देखिएका डा.कोइराला निर्विकल्प क्षेत्र नम्बर ६ को उम्मेदवार भएकाले आकाङ्क्षीहरूले धेरै कसरत नै गरेनन्। सत्ता गठबन्धनका तर्फबाट मोरङमा निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी पाएका नागेश कोइराला भने,‘सुरुवातीमा केही असन्तोष पैदा भएको हो। अहिले सबै व्यवस्थित भइसक्यो। सबै एक भएर घर दैलो गरिरहेका छौँ। गठबन्धन भित्रका दलका नेता कार्यकर्ता पनि कोही विभक्त हुनुहुन्न। सशक्त भएर अघि बढेका छौँ।’ पण्डित र कोइरालाको प्रष्टीकरण आइरहँदा कार्यकर्तामा अझै बेमेल र विभाजन भने बाँकी नै रहेको देखिन्छ। गुटगत रोग देखिन्छ। अन्तर्घातको खतरा रहेको अनुमान लगाउन भने कठिन हुँदैन।

६ वटा प्रतिनिधि सभा र १२ वटा प्रदेश सभा क्षेत्र रहेको मोरङमा विकासका ठुला योजनाहरू अधुरै छन्। भूमिहीन र सुकुम्वासीका समस्या विकराल देखिन्छन्। मोरङवासीका आधारभूत आवश्यकता र विकासका योजनासहित उम्मेदवारहरू चुनावी मैदानमा छन्।

यस्तो छ मतको अङ्कगणित

मोरङका ६ वटै निर्वाचन क्षेत्र विगतदेखि नै नेपाली काँग्रेसको एकछत्र थियो। तर राजनीतिक परिवर्तन र दलहरूमा देखिएको अन्तरकलहले कतिपय स्थानमा ठुला दलहरू कमजोर बन्दै गए र नयाँ दलहरूले हिस्सा ओगट्दै गए। तर २०७९ मा आइपुग्दा काँग्रेसले पुरानो विरासत जोगाउन सक्ने सङ्केत गरेको छ।

२०७० सालको संविधानसभा चुनावमा मोरङ नौ वटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको काँग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सिट मात्रै विजयी भएको थियो। यसपालि काँग्रेसले लिएका चार निर्वाचन क्षेत्रमा सशक्त प्रदर्शन गरिरहेको छ। मतदाताहरूमाझ बलियो उपस्थिति जनाइरहेको छ। एमालेले पनि बेग्लै माहौल ल्याएको छ। उसले आफूलाई बलियो दाबी गरिरहेको छ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं. ६ अन्तर्गत रहेका सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका २० वटा वडामा नेपाली काँग्रेसले १२ वटामा जित हासिल गरेको छ। एमाले पाँच वटामा खुम्चिएको छ भने माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक वडामा विजयी हासिल गरेका छन्। यहाँ एमालेलाई जसपाको समर्थन छ भने कोइरालालाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थन छ।

वडागत रूपमा काँग्रेसले २८ हजार ४३८, एमालेले २५ हजार २३६, माओवादी केन्द्रको ५ हजार ३५६, एकीकृत समाजवादीले २ हजार ३६९, जसपाले ३ हजार ९४९ मत ल्याएका थिए। एमाले–जसपाको मत २९ हजार १८५ हुँदा काँग्रेस–माओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १६३ हुन्छ। सत्तारुढ गठबन्धन ६ हजार ९७८ मतले अघि देखिएको छ । गठबन्धनभित्र इमानदारिता र काँग्रेसभित्र अनुशासन कायम रहे काँग्रेसका डा.शेखर कोइरालाले बाजी मार्न सक्ने अनुमान गरिएको छ।

एमाले मोरङ ६ को प्रदेश सभामा परशुराम बस्नेत(कृष्ण) र रिता न्यौपाने उम्मेदवार छन्। सत्ता गठबन्धनले भने ‘क’ मा जीवन आचार्य र ‘ख’ मा प्रदेश मन्त्री काँग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading