अबको संसद्

एमालेका १० भाइ मध्ये दुई निर्वाचित

एमालेका १० भाइ मध्ये दुई निर्वाचित

काठमाडौं : प्रतिनिधि सभातर्फ २८ स्थानको मत परिणाम सार्वजनिक भएको छ। एमालेका १० भाइका रूपमा चिनिएका अध्यक्ष केपी शर्मा ओलीइतर समूहका दुई जना प्रतिनिधि सभातर्फको प्रत्यक्षमा निर्वाचित भएका छन्।

एमालेका सचिव योगेश भट्टराई र गोकर्ण विष्ट निर्वाचित भएका हुन्। विगतमा माधव नेपालनिकट रहेका उनीहरू नेकपा छँदा ओलीविरुद्ध सङ्गठित समूहमा सक्रिय थिए। एमाले फुट्दा माधव नेपाललाई साथ नदिएका मध्ये भट्टराई र विष्ट यो चुनावमा विजयी भएका छन्।

भट्टराई र विष्टसँगै भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र रघुजी पन्त १० भाइका रूपमा परिचित थिए। टिकट नपाएपछि घनश्याम भुसाल स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।

ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावलले टिकट नै पाएनन्। ओलीले विगतको गल्तीमा माफी माग्नुपर्ने भन्दै रावललाई टिकट नै रोकिदिए।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहराले प्रत्यक्षमा टिकट पाएनन्। चितवनबाट टिकट पाएका सुरेन्द्र पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले धेरै मतान्तरले पछि पारिसकेका छन्।

अध्यक्ष ओलीको पेलाईमा परेका एमालेका १० भाइ मध्ये प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट एमालेका योगेश भट्टराई दोस्रो पटक विजयी भएका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतान्तरले पराजित गरेका भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन्। बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरे।

१० भाइ मध्येका अर्का एक गोकर्ण विष्ट गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्। विष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतान्तरले पराजित गरेका हुन्।

विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्। सहरी विकास मन्त्री पद छोड्नु पर्दा झाँक्री सार्वजनिक रूपमै धुरुधुरु रोएकी थिइन।

उदयपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवारले पूर्वएमाले हाल एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेका छन्। एमालेका अम्बरबहादुर रायमाझीले समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्।

रायमाझीले १५ हजार २५१ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी एकीकृत समाजवादीका जगन्नाथ खतिवडा २ हजार ३५८ मतान्तरले पराजित भए। खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन्।

अछाममा भने एमालेका उम्मेदवारलाई पूर्वएमालेका उम्मेदवारले पराजित गरेका छन्। एकीकृत समाजवादीले अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएर प्रतिनिधि सभामा खाता खोलेको छ। समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्।

कुँवरले एमालेका झपटबहादुर बोहरालाई पराजित गरे। पराजित बोहराले १५ हजार ४५ मत ल्याए। एमालेबाट फुटेर बनेको माधव कुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीले काँग्रेस, माओवादीसँग चुनावी गठबन्धन गरेको थियो।

माओवादी दुई स्थानमा विजयी

सिन्धुली क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका लेखनाथ दाहाल २७ हजार ५१७ मत ल्याएर विजयी भएका छन्। उनीसँग पराजित एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याएका छन्। माओवादीले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको हो।

यस्तै माओवादी केन्द्रले रुकुम पूर्व क्षेत्र नम्बर १ मा जित हासिल गरेको छ। माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत ल्याएर विजयी भएका छन्। उनीसँग पराजित एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत ल्याएका छन्।

सङ्घीयता विरोधी निर्वाचित

सत्ता गठबन्धन भित्रै रहेर सङ्घीय संरचना खारेज गर्नुपर्ने माग गरेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा खाता खोलेको छ। अध्यक्ष चित्र बहादुर केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

केसी वाग्लुङ क्षेत्र नम्बर १ बाट २१ हजार ४५१ मत ल्याएर विजयी भएका हुन्। उनीसँग पराजित एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याएका छन्।

अर्को सङ्घीयता विरोधी राप्रपाले पनि प्रतिनिधि सभामा खाता खोलेको छ। एमालेसँग चुनावी तालमेल गरेको राप्रपाका उम्मेदवार धवलशमशेर राणा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका राणा २९ हजार ५७७ मत ल्याएर विजयी भएका हुन्। उनीसँग पराजित जनता समाजवादी पार्टी नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत ल्याएका छन्।

कैलाली क्षेत्र नम्बर ३ मा भने सत्ता गठबन्धनका उम्मेदवारलाई नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पराजित गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी २३ हजार १२० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading