अबको संसद्

‘ढुङ्गा हान्ने विज्ञान प्रविधि मन्त्री हुँदैन’

‘ढुङ्गा हान्ने विज्ञान प्रविधि मन्त्री हुँदैन’

काठमाडौं : नेपालका पुराना राजनीतिक दलहरूलाई चुनाव आउन पाँच महिना मात्रै बाँकी हुँदा गठन भएको नयाँ दलले वारनिङ दिएको छ। २०७९ असार ७ गते गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दल काँग्रेस, एमाले र माओवादीलाई वारनिङ दिएको हो।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्मलाई पराजित गरेको रबी लामिछाने नेतृत्वको पार्टीले संसद्मा बलियो उपस्थिति जनाउने भएको छ। चुनावी परिणामले नेपाली राजनीतिमा अस्थिरता कायम रहने आशङ्का पनि बढाएको छ।

अबको संसद् यसअघिको भन्दा खासै फरक हुनेछैन। उही पुराना दलको गठबन्धन र प्रतिपक्षबिचको स्वार्थ साटासाट हुने क्रमले निरन्तरता पाउने निश्चित जस्तै देखिएको छ। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी उदाएसँगै पुराना दलहरूलाई ठुलो चुनौती भने थपिएको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आइसके पनि दलहरूले जनतालाई गर्दै आएका बाचा पुरा गर्न सकेनन्। त्यसैले पनि संविधान कार्यान्वयनको पहिलो चुनावपछि दलहरूप्रति असन्तुष्ट बनेका मतदातालाई स्वतन्त्र पार्टीले आकर्षित गर्‍यो।

थोरै गृहकार्यबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा केवल दलप्रति निराशा मात्रै होइन युवा उम्मेदवारप्रतिको आममतदाताको आकर्षण पनि हो। जनतामा ठुला पार्टीले राम्ररी काम गरेनन्, नेतृत्व बदलिएन, पुरानै नेतृत्व कायम भयो, भ्रष्टाचार न्यूनीकरण हुनुको साटो झन् बढ्दै गयो। बेथिति र विसङ्गति अन्त्य गर्ने नारा दिएर नेतृत्व बदल्न जित आवश्यक भनेका गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसहितका युवा निर्वाचित भए।

२००३ सालमा स्थापना भएको काँग्रेस र २००६ सालमा स्थापना भएको कम्युनिस्टसँगै स्थापनाको हिसाबमा सबैभन्दा कान्छो राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय राजनीतिक यात्रा तय गरेको छ। १० वर्ष सशस्त्र जनयुद्ध गरेर उदाएको माओवादी केन्द्रमा रहेको तेस्रो शक्तिको दम्भ शान्त पार्ने प्रतिस्पर्धा गर्ने स्थानमा पुगेको छ स्वतन्त्र पार्टी।

यो दल स्वतन्त्रहरूको नाममा खुलेको भए पनि यसको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राखिएको छ। दल मात्रै स्वतन्त्र हो, यसमा आबद्ध व्यक्ति स्वतन्त्र छैनन्। स्वतन्त्र उम्मेदवार व्यक्ति हो भने राष्ट्रिय स्वतन्त्र पार्टी दल हो। काँग्रेस, एमाले, माओवादी, जनमोर्चा, राप्रपा, जसपा, लोसपा जस्ता दलहरूले जनतामा असन्तुष्टि बढाउँदा ‘देश बदल्नका लागि राजनीतिक दल आवश्यक’ भन्ने नारा सहित स्वतन्त्र पार्टीको उदय भएको छ।

दल र उम्मेदवारको गलत काम, व्यवस्था प्रतिकै निराशा

यो पार्टीमा लामो समय नेपाली काँग्रेसमा आबद्ध मनिष झा समानुपातिक तर्फको उम्मेदवार बनेका छन्। तीन पुस्ता नेपाली काँग्रेसमा रहँदा पनि पार्टीबाट उचित मूल्याङ्कन हुन नसकेको भन्दै नयाँ दलमा पुगेका झा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर लामो समयदेखि पार्टीमा क्रियाशील थिए।

मधेसी क्लष्टरमा समानुपातिकतर्फ पहिलो नम्बरमा रहेका झा सांसद बन्ने निश्चित जस्तै छ। स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मत माग्दै प्रचार गरेका झा महामन्त्री गगन थापा संयोजक रहेको स्थानीय तहको निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य समेत थिए।

उनी स्वतन्त्र पार्टी प्रतिको आकर्षणलाई तीन दशकदेखिको राजनीतिक अभ्यास प्रतिको वितृष्णा रहेको बताउँछन्। मतदाताले राजनीतिक अभ्यासको विकल्पको रूपमा सोचेको झा सुनाउँछन्। ‘जुन अभ्यास भइरहेको छ, त्यही अभ्यास नगर्नु मतदाताको म्यान्डेट हो,’झाले भने,‘त्यो अभ्यास हामी गर्दैनौ। हामी त्यो भन्दा फरक अभ्यास गर्छौ।’

नेपालमा ‘डेभलपमेन्टको प्रोसेस’ एक दमै ढिलो भयो। त्यहाँ आबद्ध भएका व्यक्तिहरू धनी हुँदै गए। तर, संस्थाहरू गरिब हुँदै गए। राष्ट्रलाई एउटा संस्थाको रूपमा मान्ने हो भने यो संस्थालाई लिड गर्ने एक्जुकेटिभ (कार्यकारी) धनी हुँदै गए। ‘संस्था गरिब हुँदै गयो,’स्वतन्त्र पार्टीको समानुपातिक तर्फका उम्मेदवार झाले भने,‘हामी संस्थालाई धनी बनाएर हामी जहाँ छौ त्यही रहन्छौ।’

पब्लिक सर्भिस डेलिभरी (सार्वजनिक सेवा प्रवाह) चुस्त बन्न सकेको छैन। भ्रष्टाचार मौलाएको छ। ‘कोही पदमा भएकाका श्रीमतीले डिल गर्ने वा अरू कसैले गर्ने। घरबेटीले ठेक्का पाउने उसले डेलीभर नगर्ने,’उनले भने,‘यो संस्कारको कुरा हो। डेभलपमेन्टको प्रोसेस र पब्लिक सर्भिस डेलिभरीमा परिवर्तित अभ्यास गर्नु जरुरी छ।’

लोकतन्त्रको विकल्प भनेको सबल लोकतन्त्र हो। उनले लोकतन्त्रको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टीले नखोज्ने बताए। ‘हामी लोकतान्त्रिक अभ्यासको विकल्प खोज्छौ। जुन अहिले लोकतान्त्रिक अभ्यास भइरहेको छ त्यो भन्दा राम्रो अभ्यास कसरी गर्ने, त्यो भन्दा सक्षम, सबल र सुदृढ अभ्यास कसरी गर्ने,’उनले भने,‘हामीले लोकतन्त्रको विकल्प खोजिरहेका छैनौ। संस्कारको विकल्प खोजिरहेका छौ।’

उनले अहिले नै संसद्मा हुने राजनीतिक हैसियत निर्क्योल गर्न नसक्ने बताए। नम्बरको रूपमा सदनमा उपस्थित हुनु र संस्कारको रूपमा उपस्थिति हुनु फरक हुने बताउँछन् झा।

नम्बरको रूपमा सबल देखियो तर, संस्कारको रूपमा सबल देखिएन संसद्। ‘बाम गठबन्धनको सरकार हुँदा संसद्मा लोकतान्त्रिकको उपस्थिति मौनता मात्रै थियो। लोकतान्त्रिक बाम गठबन्धनको सरकार बन्दै गर्दा केपी ओलीको सदनमा बन्देजको उपस्थिति मात्रै थियो। संसदीय अभ्यास कहाँ थियो र त्यहाँ?,’उनले भने,‘सदन भनेको लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष हो। सदनमा भनेको प्रतिपक्ष सबभन्दा महत्त्वपूर्ण हो। तर त्यो दुइटै अभ्यास भएको थिएन।’

दल कति बलियो थियो भन्ने कुरा अर्को हो। तर दलले गरेको अभ्यास कति बलियो थियो भन्ने कुरा त फरक हो। यो भन्दा अगाडि नम्बर वाइज सङ्ख्याको आधारमा दलको उपस्थिति बलियो थियो। तर संस्कारको रूपमा कमजोर थियो। ‘उहाँहरू भन्दा सङ्ख्याको रूपमा कम रहौला,’उनले भने,‘तर संस्कारको रूपमा हामी उहाँहरू भन्दा सबल भएर उपस्थिति हुनेछौ।’

जेल नेल त्यति बेलाको त्यो आवश्यकता हो। त्यही क्षमताले आगामी लक्ष्यमा पुर्‍याउँछ भन्नेमा विश्वास नरहेको झाले बताए। ‘ढुङ्गा हान्ने विज्ञान प्रविधि मन्त्री हुँदैन,’उनले भने,‘फरक क्षमतामा हामी आइपुग्यौ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading