चुनाव

काँग्रेसमा पुरानै रोग-अन्तर्घात

काँग्रेसमा पुरानै रोग-अन्तर्घात

काठमाडौं : प्रतिनिधि सभा काभ्रे निर्वाचन क्षेत्र २ मा माओवादी र एकीकृत समाजवादीको समर्थनमा उम्मेदवार बनेका काँग्रेसका पूर्वजिल्ला सभापति शिवप्रसाद हुमागाईँ पराजित भएका छन्।

नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा भन्दा ५ हजार ८६३ मत कम ल्याएर हुमागाईँ पराजित भए। बाँस्कोटा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

प्रदेश सभामा काँग्रेस, माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार विजयी भए पनि प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भने पार्टी भित्रकै असन्तुष्टिले तीन दलका साझा उम्मेदवारलाई एमालेले ढलाएको छ। प्रदेश सभामा माओवादीका रत्न ढकाल, समाजवादीका लक्ष्मण लम्साल, काँग्रेसका तीर्थ लामा र कञ्चन वादे निर्वाचित भएका छन्।

प्रतिनिधि सभामा काँग्रेसका हुमागाईँले काँग्रेसकै भोट पाउन सकेनन्। स्थानीय तहको जस्तै प्रतिनिधि र प्रदेश सभा चुनावमा भोट ट्रान्सफर हुने दलहरूको अनुमान अनुमानमै सीमित हुन पुगेको छ।

चुनावी परिणामपछि उम्मेदवार हुमागाईँले आफ्नै पार्टीभित्रको घेराबन्दी र चक्रव्यूहमा पर्दा हार व्यर्होनु परेको बताएका छन्। धुलिखेलमा पत्रकार सम्मेलन गरेर हुमागाईँले आफूले चुनाव हार्नुमा मतदाताको कुनै दोष नभएको बताए।

उनले मतदातालाई घरघरमा नै पुगेर धन्यवाद दिने बताए। ‘मैले चुनाव हार्नुमा मतदाताको दोष छैन,’उनले भने,‘अस्वस्थ समीकरणले गर्दा मात्रै सोचे जस्तो परिणाम नभएको हो।’ उनले आफ्नो कोही कसैप्रति आग्रह पूर्वाग्रह नरहेको स्पष्ट पार्दै स्वस्थ, निष्ठागत, नैतिक राजनीति आस्था र भरोसाको राजनीतिबाट विचलित नहुने बताए।

काभ्रेमा काँग्रेसका पूर्वजिल्ला सभापति हुमागाईँ र मधु आचार्यबिचको अविश्वास तल्लो तहसम्म झागिंएको छ। यो चुनावमा हुमागाईँ पराजित हुनुमा पनि आचार्यको असहयोग रहेको काभ्रेमा चर्चा छ। काभ्रेमा काँग्रेस कार्यकर्ताले नभई नेताहरूका कारण कमजोर बन्न पुगेको छ। मधु आचार्य २०७४ मा एमालेका गोकुल बाँस्कोटासँगै पराजित भएका थिए। यो पटक हुमागाईँ पनि बास्कोटासँगै हार बेहोर्नु बाध्य भए।

काँग्रेसभित्र देखिएको अविश्वास, अस्तित्वको लडाई, व्यक्तिवादी गणेश प्रवृत्ति, नातावाद कृपावादको प्रभाव मतदानमा प्रकट भएको छ। स्थानीय चुनावसम्म एकअर्कालाई दुष्मनको जस्तो व्यवहार गर्ने पार्टी उपसभापति समेत रहेका सुर्खेतका पूर्णबहादुर खड्का र नेता हृदयराम थानीबिच यो चुनावमा दुष्मनी अन्त्य भएको देखिएको छ। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा खड्का र २ मा थानीले टिकट पाएपछि दुवै एकअर्कालाई विजयी गराउने ध्याउन्नमा लागे। निर्वाचित पनि भए।

धेरै ठाउँमा अन्तर्घात

काँग्रेसले एकअर्कालाई सहयोग नगर्ने पुरानै रोग भएको बताएको छ। प्रवक्ता डाक्टर प्रकाशशरण महतले धेरै ठाउँमा पार्टी भित्रैबाट अन्तर्घात भएको उजुरी आएको बताए। ‘पार्टीका उम्मेदवारलाई पार्टीकै सहयोग नभएर थोरै भोटले हारेका प्रशस्त उदाहरण छन्,’उनले भने,‘समानुपातिकमा समेत यिनीहरू छन्, यिनीहरूलाई किन जिताउने भन्ने प्रचारबाजी गरेर पनि कम मत आएका घटनाहरू पनि छन्,यो रोग त हाम्रो छदैछ।’

उनले चुनावमा अन्तर्घात गर्नेहरूको विवरण सम्बन्धित निर्वाचन क्षेत्रबाट आइरहेको जानकारी दिए। पार्टीको अनुशासन समितिले चुनावमा असहयोग गरेको प्रमाणको आधारमा निर्णय लिने उनले बताए।

आफूलाई लोकतन्त्रको पहरेदार भनेर दाबी गर्ने काँग्रेसले १६५ निर्वाचन क्षेत्र मध्ये ६१ ठाउँमा उम्मेदवारी नै दिएन। उम्मेदवारी दिएका निर्वाचन क्षेत्रबाट पनि अपेक्षा अनुसारको परिणाम आउन नसकेको प्रवक्ता महतले बताए। ‘फराकिलो अन्तरले विजयी प्राप्त गर्छौ भन्ने अपेक्षा थियो,’उनले भने,‘केपी ओलीले साढे तीन वर्ष शासन चलाउँदा सिर्जना भएको निराशाको असर नेपाली काँग्रेस र गठबन्धनलाई समेत पर्‍यो।’

काँग्रेसले प्रत्यक्षमा एमालेलाई उछिने पनि समानुपातिकमा पछाडि परेको छ। २०७४ मा एक्लै चुनाव लड्दा पाएको मत काँग्रेसले यो पटक गठबन्धन गर्दा जोगाउन नसक्ने देखिएको छ। ओली शासनका कारण सिर्जना भएको निराशालाई सच्याएर उत्साहमा परिणत गर्ने समय नै नपाएको उनले बताए।

महतले धेरै ठाउँमा उम्मेदवार नहुँदा पनि समानुपातिकमा पार्टीको भोट कम आएको बताए। ‘धेरै ठाउँमा उम्मेदवार भएनन्,’उनले भने,‘उम्मेदवार नहुँदा त्यहाँ भोट कम पर्‍यो।’

उनले युवाहरूको अपेक्षामा गठबन्धन खरो रूपमा उत्रन नसकेको बताए। ‘यो सबै चिज नेपालमा भइसक्नु पर्ने, किन भएको छैन भन्ने किसिमले जसरी प्रस्तुत भयो, दलहरूले गरेनन्,पहिला के पृष्ठभूमि थियो? पञ्चायतको बेलामा कस्तो अवस्था थियो? त्यसपछि द्वन्द्व, यहाँसम्म आउन कति उतारचढाव बेहोर्नु पर्‍यो,’उनले भने,‘ त्यो वेलाको थाहा नभएकालाई त्यतिवेला सुनौलो युग थियो भनेर पनि प्रचारबाजी भयो,यसको प्रभाव थाहा नपाउने युवा मतदातालाई अवश्य पनि पर्‍यो।’

उनले गठबन्धनको बहुमत पुग्ने दाबी समेत गरे। ‘फराकिलो अन्तरले बहुमत भएन,तर बहुमत त प्राप्त गर्छ,’उनले भने,‘गठबन्धनकै नेतृत्वमा सरकार बन्छ भन्ने विश्वास छ।’ उनले स्वाभाविक रूपमा सरकारको नेतृत्व काँग्रेसले गर्ने बताए। उनले सरकार गठनका विषयमा चुनावी परिणामपछि छलफल हुने बताए।

काँग्रेस प्रवक्ता महतले एमालेसँग मिलेर सरकार बनाउने सम्भावना नरहेको बताए। २०७० सालको चुनावपछि काँग्रेस र एमाले मिलेर सरकार बने पनि अहिले त्यस्तो सम्भावना नहरेको प्रवक्ता महतले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading