‘चुनावमा लोकतन्त्रप्रतिको अगाध आस्था अभिव्यक्त’

‘चुनावमा लोकतन्त्रप्रतिको अगाध आस्था अभिव्यक्त’

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते भएको चुनाव काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा उत्साहपूर्ण रह्यो। संविधानसभाबाट संविधान जारी भएपछिको यो दोस्रो चुनाव थियो। चुनावले नेपाली मतदाताको मनमा रहेको लोकतन्त्रप्रतिको अगाध आस्था अभिव्यक्त भएको छ।

आवधिक चुनाव लोकतन्त्रको अनिवार्य सर्त हो। चुनावले मुलुकलाई स्वाधीन, स्वाभिमानी बाटोमा हिँड्न शक्ति र प्रेरणा दिने गर्दछ। चुनावका माध्यमबाट नै समुन्नत लोकतान्त्रिक संस्कार र संस्कृतिको विकास हुन्छ। यसैको माध्यमबाट समतामूलक समाज निर्माण गर्न सकिने छ।

चुनावका दिन अत्यन्त उत्साह, संयम र धैर्यताका साथ सहभागी भएर अमूल्य मतदान गर्नुहुने सम्पूर्ण बुवाआमा, दिदीबहिनी तथा दाजुभाइ मतदाता प्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछौँ। चुनावले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ, संस्थागत र विकास गर्न ठुलो योगदान पुग्ने छ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष चुनाव गराउन सफल भएकोमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। मङ्सिर ५ गतेबाट सौहार्दपूर्ण वातावरणमा दलहरूका बिचमा सहमतिका साथ मतगणना प्रारम्भ भएर ११ गते विजयी सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

काठमाडौँ क्षेत्र नम्बर ५ बाट विजयी हुन सफल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गठबन्धन दलका प्रतिनिधि उम्मेदवार प्रदीप पौडेल सङ्घीय संसद् सदस्यमा विजयी हुनु भएको छ त्यसै गरी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५का क्षेत्रीय सभापति श्यामबहादुर खड्का प्रदेश ख को प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ।

मतदाताको विश्वास र गठबन्धन दलका सबै साथीहरूको अथक परिश्रमले गर्दा हामी विजयी हुन सकेका छौँ। प्रदेश क मा नेपाली काँग्रेसका नेता भैरव सापकोटा उम्मेदवार हुनुहुन्थ्यो। हाम्रो अथक परिश्रम र मिहिनेतले पनि विजय गराउन सकेनौँ। यस प्रदेश क्षेत्रमा जनताको मन जित्न नेपाली काँग्रेस थप सक्रियताका साथ लाग्नेछ।

चुनावलाई व्यवस्थित बनाउन पार्टी संरचनाको पूर्णरुपमा परिचालन गरिएको थियो। काठमाडौँ ५ नम्बर क्षेत्रमा बौद्धिक, व्यावसायिक मतदाताहरू हुनुभएकोले हामीले अन्य थप समितिहरू पनि गठन गरेका थियौँ। उम्मेदवारी दर्ता पछिको छोटो समयमा उम्मेदवारलाई घरघरमा मतदाता समक्ष पुर्‍याउन सम्भव थिएन। मतदाताको आफै प्रतिनिधि भएर बुद्धिजीवी, पेसाकर्मीहरू दिनरात नभनी मतदातासम्म पुगिदिनु भएकै कारणले विजय हुन सकेका छौँ।

यस यथार्थतालाई गम्भीर रूपमा आत्मसाथ गर्दै बुद्धिजीवी, पेसाकर्मी लगायतका समितिहरूप्रति आभार व्यक्त गर्दछौँ। हामी हाम्रो पार्टीको माध्यमबाट मतदाताको घरघरमा आइरहने छौँ।

चुनावका समयमा उम्मेदवारहरूका तर्फबाट अभिव्यक्त प्रतिबद्धता पत्र एवं नेपाली काँग्रेस पार्टीका तर्फबाट सार्वजनिक गरिएको घोषणापत्र प्रति हामी प्रतिबद्ध छौँ। यस निर्वाचन क्षेत्रको समग्र विकासकालागि हामीले अघि सारेका प्रस्तावहरू राज्यका निकायसम्म पुर्‍याउने र जनताका बिचमा थप छलफल, बहस चलाउने काम निरन्तर गरिरहने छौँ।

अन्त्यमा, चुनाव सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय साथै पर्यवेक्षक, सञ्चारकर्मी एवं राजनीतिक दलहरूलाई नेपाली काँग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ चुनाव प्रचार प्रसार समिति धन्यवाद व्यक्त गर्दछ।

(रामचन्द्र घिमिरे काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को चुनाव प्रचार प्रसार समिति संयोजक हुन्)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading