काठमाडौं : राजनीतिक नियुक्ति हत्याउन शक्ति केन्द्र धाउनेहरूको घुइँचो लाग्न थालेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव जितेकाहरू मुख्यमन्त्री देखि मन्त्री बन्न शक्ति केन्द्र धाइरहेका छन्।
काठमाडौँमा आइतबार सुरु भएर मङ्गलवार सकिने गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनमा सहभागी हुन आएका अध्यक्ष र उपाध्यक्ष पनि शीर्ष नेतालाई भेटेर फर्कने हतारोमा छन्।
प्रधानमन्त्री निवास बालुवाटार, केपी शर्मा ओलीको निवास बालकोट र पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भिड बढेको छ। काठमाडौँको सडकमा ट्राफिक जाम उत्तिकै बढेको छ भने नेताका ढोकादेखि चोटासम्म पुग्नेहरूको पनि ताँती लागेको छ।
चुनावमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठुलो दल बनेको काँग्रेसले प्रधानमन्त्री दाबी गरिरहेको छ। वर्तमान प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने दौडमा छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन सके पहिलो साढे २ वर्षको कार्यकाल प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवालाई संसदीय दलको नेतामा महामन्त्री गगन थापाले चुनौती दिएका छन्।
प्रधानमन्त्री चुन्ने प्रक्रिया सुरु नहुँदै देउवा भने बधाई लिन व्यस्त भएका छन्। पाँच पटक प्रधानमन्त्री बनिसकेका देउवालाई बालुवाटारको सरकारी निवासमा बधाई दिनेहरूको बिहानैदेखि घुइँचो लाग्ने गरेको छ।
गठबन्धन संस्कृतिको विकास गरेको आरोप खेपेका देउवासँग काँग्रेस बाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका नेताहरूले पनि भेटेर बधाई दिइरहेका छन्। देउवालाई बधाई र शुभकामना लिन भ्याई नभ्याई नै भएको बालुवाटार स्रोतले बताएको छ।
रामकुमारी बालुवाटारमा
सोमबार बिहान बालुवाटारमा सांसदमा निर्वाचित खर्बपति विनोद चौधरीदेखि उदयशमसेर राणा, मीनबहादुर विश्वकर्मादेखि रामकुमारी झाँक्रीसम्म पुगे। काँग्रेसका नेताहरूले प्रधानमन्त्री देउवासँग भेट गराउन आफूलाई बालुवाटार ल्याएको झाँक्रीले संक्षिप्त प्रतिक्रिया दिएकी छन्।
एमालेका गोकर्ण विष्टसँग चुनाव हारेपछि एमालेमै फर्कने हल्ला चलिरहेका बेला एकीकृत समाजवादीकी झाँक्रीले सोमबार प्रधानमन्त्री देउवासँग छलफल गरेकी छन्। देउवासँग भएको भेटबारे भने उनले केही बताएकी छैनन्। प्रधानमन्त्रीको निजी सचिवालयले पनि भेटलाई बधाई एवं शुभकामना आदान प्रदान मात्रै भएको बताएको छ।
काँग्रेसबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ निर्वाचित एक मात्र महिला सांसद सिता गुरुङ पनि बधाई तथा शुभकामना आदान प्रदान गर्न सोमबार बालुवाटार पुगेकी थिइन।
गिनिज बुकको प्रमाणपत्र प्रदान
प्रधानमन्त्री देउवाले झाँक्रीसँगको भेट सकिएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भक्तपुर रानीकोटकी गोमा सापकोटालाई प्रमाणपत्र प्रदान गरे। प्रधानमन्त्री देउवालाई बागमती प्रदेश सांसद कन्चनचन्द्र बादे र गिनिज बुकका नेपाल प्रतिनिधि चित्र कुमार कार्कीले प्रमाणपत्र प्रदान हस्तान्तरण गर्न लगाए।
बागमती प्रदेश सांसदमा निर्वाचित काभ्रेका बादेले कार्की र सापकोटालाई प्रधानमन्त्री देउवासँग भेट गराएका थिए। भेटमा प्रधानमन्त्री देउवाले टेनिस बललाई १ मिनेटमा भुईँमा नखसाई २ सय ४९ पटक हानेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल सापकोटालाई गिनिज बुकले पठाएको प्रमाणपत्र प्रदान गरे।
देउवाले सापकोटालाई बधाई दिए। बधाई लिने र दिने काममा प्रधानमन्त्री देउवा बिहानै देखि व्यस्त हुने गरेका छन्।
कूटनीतिज्ञको चासो
नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूले नयाँ सरकार गठनमा चासो दिएर भेटवार्ता जारी राखेका छन्। भारत, अमेरिकी लगायत देशका राजदूतले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई तारनतार भेटिरहेका छन्।
निर्वाचनको परिणाम आएसँगै दलहरू नयाँ सरकार गठनको रस्साकस्सीमा लागेका छन्। नयाँ सरकार गठनमा विदेशीको समेत चलखेल हुन थालेको आरोप पनि लाग्न थालेको छ। एक हप्ताकोबीचमा आधा दर्जन राजदूतले प्रधानमन्त्रीलाई भेटेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले जानकारी दिए।
प्रधानमन्त्री देउवासँग सोमबार मात्रै नेदरल्याण्डका राजदूतले भेटवार्ता गरेको सुवेदीले बताए। भेटमा बधाई तथा शुभकामना दिनेदेखि द्धिपक्षिय सम्बन्धका बारेमा छलफल भएको उनले बताए। उनले सरकार निर्माणमा विदेशीको चासो भने नरहेको दाबी गरे। उनले विदेशीको चासो भन्नुमा कुनै सत्यता नरहेको बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.