सांसदहरूको शपथ

निर्वाचन आयोगको विवरणमा संसद् सचिवालयको शङ्का, नागरिकता जाँच गर्दा भेट्यो त्रुटि

निर्वाचन आयोगको विवरणमा संसद् सचिवालयको शङ्का, नागरिकता जाँच गर्दा भेट्यो त्रुटि

काठमाडौं : सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका निर्वाचित सदस्यको विवरणमा त्रुटि भेट्टाएको छ।

आयोगले जन्म मिति नागरिकता अनुसार भए नभएको नहेरी विवरण बुझाउँदा त्रुटि भएको पाइएको हो। आयोगले राष्ट्रपति, प्रधानमन्त्री, संसद् सचिवालयलाई निर्वाचन विवरण बुझाइसकेको छ। निर्वाचित सदस्य मध्ये ज्येष्ठ सदस्य खुलाइ पठाउन सचिवालयले आयोगलाई पत्राचार गरेको थियो।

आयोगले ज्येष्ठ सदस्यको विवरण पठाउँदा महिन्द्रराय यादवको नाम एक नम्बरमा राखेको थियो। दोस्रोमा चित्र बहादुर केसी र तेस्रो ज्येष्ठ सदस्यमा पशुपति शमशेर राणाको नाम राखेर आयोगले सचिवालयलाई पठाएको विवरणमा जन्म मिति नै फरक परेको हो।

आयोगको विवरणमा सचिवालयले शङ्का गरेर नागरिकता भिडाउँदा राणा, केसी भन्दा बढी उमेरको पाइएकाले राणाले शपथ गराउने पत्र राष्ट्रपति कार्यालयमा पठाएको जनाएको छ। ‘आयोगको विवरणमा शङ्का लागेर नागरिकता मगाएर जाँच गर्दा केसी भन्दा राणा बढी उमेरको भएको पाइयो,’सचिवालयका एक सहसचिवले पहिचानसँग भने,‘आयोगले नागरिकता जाँच नगरी विवरण पठाएको पाइयो।’

आयोगले उमेर फरक भएको विवरण पठाए पनि सचिवालयले सच्याएर राणाको नाम राष्ट्रपति कार्यालयमा पठाएपछि आयोग र सचिवालय दुबैतिर खैलाबैला भएको छ। ‘हामीले राणाको नाम पठाएपछि आयोगले राष्ट्रपति कार्यालयमा बुझाएको पत्र माग्यो,’ती सहसचिवले भने,‘आयोगले राणाको नाम पठाएकोमा केही बोल्न सकेको छैन।’

उम्मेदवार मनोनयनदेखि निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर निर्वाचनको विवरण बुझाएको आयोगले नागरिकता जाँच नगरेको देखिएको छ। रबी लामिछानेको नागरिकता विवादमा परेको आयोग निर्वाचन परिणामपछि पन्छिएको छ।

ज्येष्ठ सदस्यको उमेरमा गडबड भएको जाँच नगर्ने आयोग जवाफ दिनु नपरे हुन्थ्यो भने जस्तै गरिरहेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल निर्वाचित सदस्यको अध्ययन अनुसन्धान गर्ने काम अब संसदीय सचिवालयको भएको बताउँछन्।

‘आयोगले प्राप्त भएका डकुमेन्ट अध्ययन गर्ने हो, खोज्दै हिँड्ने कुरा आएन,’पौडेलले भने,‘मनोनयन दर्ता गर्दा जे डकुमेन्ट दिनुभयो, त्यही डकुमेन्टमा आधारमा विवरण पठाइदिएका छौ।’ अब बाँकी काम संसदीय सचिवालयले गर्ने उनले बताए।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले बुधवार शपथ लिँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

ज्येष्ठ सदस्यका रूपमा राप्रपाका संसद् पशुपति शमशेर जबराले राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेपछि अन्य सदस्यको बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शपथ लिनेछन्। शपथको सबै तयारी पुरा भएको संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिएका छन्।

प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय छ। ज्येष्ठ सदस्यलाई सभामुख निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading