चार्ल्स शोभराजलाई रिहा गर्ने आदेश अध्ययनकै क्रममा

चार्ल्स शोभराजलाई रिहा गर्ने आदेश अध्ययनकै क्रममा

835
SHARES

काठमाडौं : सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुना मुक्त गर्न आदेश दिएको छ। शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा न्यायाधीश सपनाप्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले थुना मुक्त गर्न आदेश दिएको हो।

जेलभित्र असल चालचलन भएका ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने शोभराजको जिकिरलाई अदालतले स्वीकार गरेको छ।

शोभराजलाई कारागारभित्रको पनि गोलघर एकान्तवासमा राखिएकोमा सर्वोच्चले टिप्पणी गरेको छ। विक्रम संवत् २०३२ मा अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौँको मनहरामा मारेको दुई दिनमै शोभराजले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए।

हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौं आउँदा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुनधारामा कैद सजाय काटिरहेका छन्। उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पुर्जी अदालतले जारी गरेको थियो।

शोभराजलाई बन्दीमाथि गरिने व्यवहारसम्बन्धी न्यूनतम मापदण्ड विपरीत व्यवहार गरिएको सर्वोच्चको आदेशमा लेखिएको छ। इजलासले शोभराजलाई निरन्तर कैदमा राखी राख्नु कैदी बन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो।

अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए शोभराजलाई बुधवार (आजै) कैदबाट छाडी दिन आदेश जारी गरे पनि कारागार प्रशासन र प्रहरीले फैसला अध्ययन गरिरहेको बताएका छन्। यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्चले आदेश जारी गरेको छ।

प्रहरीले शोभराजलाई रिहा गर्ने आदेश अध्ययन भइरहेको बताएको छ। उपत्यका प्रहरी कार्यालयले फैसला अध्ययन भइरहेको बताएको हो। ‘रिहा हुने नहुने कारागार प्रशासनले अध्ययन गर्दै होला,’प्रहरी स्रोतले भन्यो,‘हामी पनि फैसला अध्ययन गर्दै छौ।’

समाचार शेयर गर्नुहोस्
835
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.