नयाँ सरकार

सत्ता साझेदार दलमा गडबडको शङ्का, बिचौलियालाई टुटाउने हर्कत नगर्न एमालेको चेतावनी

सत्ता साझेदार दलमा गडबडको शङ्का, बिचौलियालाई टुटाउने हर्कत नगर्न एमालेको चेतावनी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन नेपाली काँग्रेससँग आग्रह गरेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रचण्डका विश्वासपात्र जनार्दन शर्माले विश्वासको मत मागेका हुन्।

पुस १० मा पाँच दलीय गठबन्धन तोडेर एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा विश्वासको मत लिने प्रस्ताव संसद् बैठकमा टेबुल गर्दै छन्। विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका प्रधानमन्त्री प्रचण्डले बुधवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए।

चुनावी परिणामसँगै गठबन्धन फेरबदल भएर सरकार बनेको छ। राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गरेको काँग्रेस सत्ता विमुख भएको छ। सत्ता बाहिर बसेको काँग्रेससँग पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेर सहकार्यको सङ्केत दिएका छन्। देउवासँग भेटेका जनार्दन शर्माले भने पुन सहकार्यको सम्भावनाबारे केही बताएका छैनन्।

प्रधानमन्त्री प्रचण्डले पहिलेको गठबन्धनसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन्। बधाई तथा शुभकामना दिन बालुवाटार पुगेको नेपाल पत्रकार महासङ्घको टोलीसँग प्रधानमन्त्री प्रचण्डले पहिलेको गठबन्धनसँग राम्रो सम्बन्ध रहेको र नयाँ गठबन्धनलाई पनि मिलाएर लैजान सक्छु भन्ने विश्वास रहेको बताएका हुन्।

विभिन्न विचारधाराका दलहरूको गठबन्धन जुनसुकै बेला अलग हुन सक्ने नेताहरूले बताउन थालेका छन्। सरकारको न्यूनतम साझा कार्यक्रममा नै दलहरू एकमत हुन सकेका छैनन्। धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रबारे फरकफरक धारणा रहेका कारण सरकारमा सहभागी हुने विषयमै जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई ध्रुवमा उभिएका छन्।

सत्ता साझेदार दलहरू आफै पनि विभाजित भएर प्रस्तुत भएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन आउनै लाग्दा सरकारलाई समर्थन गरेका दलका नेताहरू सत्ता विमुख काँग्रेसको भेटघाटमा लागेका छन्।

शनिवार संसदीय दलको बैठक बोलाएको काँग्रेस सभापति शेरबहादुर देउवासँग सरकारलाई समर्थन गरेको जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन्। सत्ता साझेदार दलमा पद बाँडफाँडमै रस्साकस्सी भएपछि यादवले देउवासँग छलफल गरेका हुन्।

जसपाका प्रवक्ता मनिष सुमन सरकारको न्यूनतम साझा कार्यक्रममा एकमत हुन नसकिएको बताउँछन्। सत्ता गठनको अहिलेको समीकरण देख्दा न्यूनतम साझा कार्यक्रममा सहमति हुने सम्भावना नदेखिएको उनले बताए। ‘फिटिक्कै धर्म निरपेक्षता, सङ्घीयता नमान्ने र राजा आउनु पर्छ भन्ने हामी चाहिँ गणतन्त्र पक्षधर,’उनले भने,‘साथीहरूको यस्तो उपस्थिति देखेर नीति तथा कार्यक्रम हाम्रो अनुकूल हुन्छ कि हुँदैन,साँच्चै समय सापेक्ष हुन्छ कि हुँदैन भन्ने अपेक्षा राख्नु स्वाभाविकै हो।’

सरकारलाई समर्थन गरेका दलले प्रतिपक्षी दलको नेतालाई भेट्न थालेपछि नेकपा एमालेले गठबन्धनमा गडबड हुने आशङ्का गरेको छ। गडबडको आशङ्का गरेको एमालेले गठबन्धन टुटाउन खोज्नेलाई बिचौलियाको आरोप लगाएको छ।

एमालेले अहिलेको गठबन्धन टुटाउने हर्कत नगर्न चेतावनी नै दिएको छ। कुनै दलको नाम नलिई एमालेका सचिव योगेश भट्टराईले बिचौलियालाई गठबन्धन टुटाउने हर्कत नगर्न चेतावनी दिए।

‘यो सरकार भोलि नै टुट्छ, पर्सी नै टुट्छ भनेर कसैले हल्ला चलाएका होलान्,कसैले त्यसबाट गलत फाइदा लिन खोजेका होलान्, ती सबै गलत फाइदा लिने कतिपय बिचौलियाहरू सरकार ढलेदेखि सरकारको अस्थिरताबाट ज्यादा फाइदा लिन खोज्छन्,’भट्टराईले भने,‘उनीहरूलाई म यति मात्रै भन्न चाहन्छु कि त्यस्ता हर्कत नगरे हुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भने सत्ता साझेदार दलहरूमा विमति नरहेको दाबी गर्छन्। विभिन्न विचारधाराका दलहरूको सरकार बनेको भन्दै लामिछानेले बेथिति अन्त्य गर्दै नागरिकलाई सुविधा दिने विषयमा समेत एकमत हुन नसक्ने राजनीतिक दल नै हुन नसक्ने बताए। उनले यसमा दलहरू सहमत रहेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading