सरकार

काँग्रेस ढाल्ने र एमाले जोगाउने प्रतिस्पर्धामा

काँग्रेस ढाल्ने र एमाले जोगाउने प्रतिस्पर्धामा

काठमाडौं : नेपाली काँग्रेस सरकार ढाल्ने र नेकपा एमालेले जोगाउने अभियानमा लागेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन नजिकिँदै जाँदा काँग्रेस ढाल्ने र एमाले जगाउने अभियानमा लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो बैठक बस्ने पुस २६ मा विश्वासको मत लिँदै छन्। सरकार गठनमा समर्थन गरेका दलहरूले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर विश्वासको मत सुरक्षित गरेको दाबी गरेका छन्।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीलाई साझा कार्यक्रमको मस्यौदा बुझाएको उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए। समर्थन गरे पनि सरकारमा सहभागी नभएको राप्रपाको मत सुरक्षित गर्न प्रचण्ड नेतृत्वको सरकारले पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय नै गरिसकेको छ।

नेकपा एमालेलाई भने जुनसुकै बेला सरकार ढल्न सक्ने चिन्ता परेको छ। अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने काँग्रेसको धन्धा नै भएको आरोप लगाएका छन्। काँग्रेस सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउन लागेको ओलीले दाबी समेत गरेका छन्।

पार्टीका सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस सरकार ढाल्ने धन्धामा लागेको आरोप लगाएका हुन्। सत्ता विमुख काँग्रेसले प्रधानमन्त्रीको अफर दिएका हल्ला बाहिरिएपछि एमाले अध्यक्ष ओलीले नेपाली जनता आफैले बनाएको सरकार ढाल्न विदेशी शक्ति सक्रिय रहेको भन्दै हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

सरकारको नेतृत्व गर्न संसद्मा बहुमत सदस्य १३८ आवश्यक पर्छ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार गठन गर्न पार्टी एकता गरे मात्रै सम्भव देखेको एमालेले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने प्रयास जारी राखेको छ।

एमालेले माधव नेपाललाई राष्ट्रपतिको अफर दिने र एकीकृत समाजवादीले केपी ओलीलाई राष्ट्रपतिको अफर दिने दोहोरी चलिरहँदा तत्काल एकताको सम्भावना भने टरेको समाजवादीका एक नेताले बताए। ‘किन माधव नेपाललाई राष्ट्रपति?’समाजवादीका एक नेताले भने,‘नेपाललाई पार्टी अध्यक्ष र केपी ओलीलाई राष्ट्रपति बन्न भनेका छौ,कुरो त्यसैमा मिलेको छैन।’

एमालेसँग भन्दा पहिला जनता समाजवादी पार्टीसँग एकता गरेर एकीकृत समाजवादी पार्टी संसद्को चौथो शक्ति बन्ने योजनामा छ। अध्यक्ष नेपालले पार्टी एकताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव, नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरी लगायतका नेताहरूसँग संवाद भइरहेको जानकारी दिए।

अध्यक्ष नेपालले वर्तमान सरकारले आफ्नो पार्टीलाई बेवास्ता गरेको गुनासो पनि गरेका छन्। अध्यक्ष नेपालले पुरानो गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेकोमा कुनै दुखेसो नभए पनि एकीकृत समाजवादीलाई गरिएको बेवास्ता भने गम्भीर चिन्ताको विषय भएको सुनाए।

ठुलो दलको सरकार

संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले जुनसुकै बेला नयाँ सरकार बन्न सक्ने बताएको छ। काँग्रेस संसदीय दलको शनिवार बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस महामन्त्री गगनकुमार थापाले अहिलेको सक्ता साझेदार दललाई छुट्टाउन खोज्नु, नयाँ सरकार गठनको प्रयत्न गर्नु स्वाभाविक रहेको बताए।

तर निर्वाचनको म्यान्डेटअनुसारको गठबन्धन टुटिसके पछि अहिले प्रतिपक्षीको भूमिकामा पुगेकाले काँग्रेसले प्रतिपक्षकै भूमिका निर्वाह गर्ने महामन्त्री थापाको भनाई छ।

गठबन्धन टुटाएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने उनले बताए। यद्यपि संसदीय दलको बैठकबाट औपचारिक निर्णय हुन बाँकी रहेको थापाले बताए।

काँग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading