प्रतिनिधि सभा बैठक

काँग्रेस नरम, एमाले हर्षित, २४ सांसद गयल

काँग्रेस नरम, एमाले हर्षित, २४ सांसद गयल

काठमाडौं : प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल सुरु भएको छ। सोमबारबाट सुरु भएको पहिलो बैठकमा दलका नेताहरूले देश विकासदेखि जेलमा रहेका कैदी छुटाउनेसम्मका योजना सुनाए।

जनताको मत लिएर संसद् छिरेका सांसदहरूले दलीय आधारमा धारणा राखे। संसद्को ठुलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा काँग्रेस रचनात्मक रूपमा प्रस्तुत हुने लिखित भाषण पढेर सुनाए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रचनात्मक सहयोग पाउने विश्वास व्यक्त गरे। पहिलो दल बने पनि सत्ता विमुख काँग्रेस पहिलो बैठकमा नरम भएर प्रस्तुत भयो।
प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर लाभै लाभ पाएको दोस्रो ठुलो दल नेकपा एमालेका सांसदहरू पहिलो बैठकमा हँसमुख भएर प्रस्तुत भए।

अघिल्लो संसद् बिचैमा विघटन गर्ने र विघटनको विरोध गरेर एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता विमुख बनाउने नेकपा माओवादी केन्द्रको अहिले एउटै गठबन्धन बनेको छ। सोमबारको पहिलो बैठकमा एमाले अध्यक्ष ओलीले अघिल्लो पटकको संसद् विघटनलाई प्रतिगमन भनेर जान्ने सुन्ने नहुन सुझाव नै दिए।

संसद् विघटनको विरोधी मोर्चामा उभिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्ता र शक्तिकै लागि प्रचण्डले एकाएक गठबन्धन तोडेको बताए।

पुराना दलहरूलाई चक्मा दिँदै पार्टी गठन गरेको ५ महिनामै संसदीय यात्रा सुरु गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षी काँग्रेसलाई अड्काउने काम नगर्न अनुरोध गरे। उनले नयाँ दललाई आशाको सञ्चारका रूपमा बुझ्न आग्रह पनि गरे।

कानुन बनाउने थलो संसद्मा यो पटक डिल्लीबजार कारागारमा रहेका रेसम चौधरीको नागरिक उन्मुक्ति र तराईमा आन्दोलन गरेर उदाएको सिके राउतको जनमत पार्टीको प्रवेश भएको छ। सांसदहरूसँग जनताको अपेक्षा त छदै छ तर स्वयं सांसदहरूकै अपेक्षा पनि कम सुनिएन संसद्को पहिलो बैठकमा।

नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले रेसम चौधरीलाई रिहा गर्न माग गरिन्। उनले संसद्बाट न्याय पाउने आशा पनि सुनाइन।

नागरिक उन्मुक्ति पार्टीको माग सम्बोधन गर्ने बुँदा सरकारको न्यूनतम साझा कार्यक्रममै परेको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले लोकतन्त्रका योद्धा सम्मानलाई निरन्तरता दिने बताए। तराई मधेस आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीबिच भएका सम्झौता अनुरूप मुद्दाहरू खारेज गर्ने र अन्यायपूर्ण बन्दी बनाइएकालाई कानुन सम्मत रिहा गर्ने सरकारको न्यूनतम साझा कार्यक्रममा राखिएको छ।

प्रतिनिधि सभाको मङ्गलवार बिहान ११ बजे दोस्रो बैठक बस्नेछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन दल र दलका नेताहरूसँग भेटघाट जारी राखेका छन्।

न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीबाट विश्वासको मत दिने निर्णय भएको सुनाए भने मन्त्रिपरिषद् बैठक लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका छन्। सभापति देउवा प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक देखिएका स्रोतले बताएको छ।

मन्त्रिपरिषद्को निर्णयमा अख्तियारले छानबिन गर्न पाउनु पर्ने माग राखेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयसँग सरकारमै सहभागी हुने सङ्केत देखिएको छ।

पहिलो बैठकमा २४ जना गयल

प्रतिनिधि सभाको पहिलो बैठकमा २४ जना सांसद गयल भएका छन्। मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट चुनिएका २४ जना सांसदहरू पहिलो बैठकमा अनुपस्थित भएका हुन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading