सात मध्ये तीन प्रदेशमा मुख्यमन्त्री नियुक्त

सात मध्ये तीन प्रदेशमा मुख्यमन्त्री नियुक्त

काठमाडौं : सात मध्ये तीन वटा प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्। नेकपा एमालेले दुई र नेकपा माओवादी केन्द्रले एउटा प्रदेशको मुख्यमन्त्री पाएका छन्।

तीन वटै प्रदेशमा नेपाली काँग्रेस प्रतिपक्षी दल बनेको छ। प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त एमालेका हिकमतबहादुर कार्की र गण्डकीका खगराज अधिकारीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका सालिकराम जमरकट्टेलले मङ्गलवार बिहान साढे ९ बजे शपथ लिने तय भएको छ।

प्रदेश १ का मुख्यमन्त्री हिकमत बहादुर कार्कीसँगै एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुले सोमबार नै बिना विभागीय मन्त्रीको शपथ लिएका छन्।

प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई समर्थन दिएको नेकपा माओवादी केन्द्र भने तत्काल सरकारमा नजाने भएको छ। कार्कीको शपथ लिने कार्यक्रम माओवादीले बहिष्कार गरेको छ।

माओवादीको समर्थन नपाए प्रदेश १ का मुख्यमन्त्री कार्कीको पद धरापमा पर्नेछ। मुख्यमन्त्रीमा नियुक्त कार्कीले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन भने यथावत् रहने बताएका छन्।

गण्डकी प्रदेशमा केन्द्र छोडेर प्रदेश झरेका नेकपा एमालेका खगराज अधिकारीसँगै सोमबार एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रीको शपथ लिएका छन्।

मङ्गलवार शपथ लिन लागेका बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले पनि मन्त्रालय नतोकी तीन जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। प्रदेशको मुख्यमन्त्री पाएको नेकपा माओवादी केन्द्रले थप चार मन्त्रालयमा दाबी गरेको छ।

एमालेले पाँच, राप्रपा र नेकपा एकीकृत समाजवादीले दुई-दुई मन्त्रालयमा दाबी गरेका छन्। यस्तै, हाम्रो नेपाली पार्टीले पनि एक मन्त्रालयको दाबी गरेको छ।
दलहरूको माग अनुसार मन्त्री नियुक्त गर्दा मन्त्रालयको सङ्ख्या १५ पुग्ने छ। सत्ता गठबन्धन दलले ११ सदस्यीय मन्त्रिपरिषद्मा सहमति खोज्ने प्रयास जारी रहेको बताएका छन्।

मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको जनता समाजवादी पार्टीले संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादवलाई चयन गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading