पृथ्वी जयन्ती

राजावादीदेखि सालिक फोड्ने गणतन्त्रवादीसम्मले मनाए खुसीयाली

राजावादीदेखि सालिक फोड्ने गणतन्त्रवादीसम्मले मनाए खुसीयाली

काठमाडौं : गणतन्त्र र राजावादीले एकै ठाउँमा भेला भएर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन्। गणतन्त्र स्थापनाको १५ वर्ष पछि राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले खुसीयालीमा मनाएको दिवसमा गणतन्त्रवादी नेताहरू पनि सहभागी भएका छन्।

गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले जनआन्दोलन २०६२/०६३ पछि कटौती भएको बिदा दिने निर्णय १५ वर्षपछि ब्युँताएको छ।

राजा महाराजाहरूको सालिक फोड्दै हिँडेको माओवादी नेतृत्वको सरकार आफैले भने औपचारिक कार्यक्रम गरेन।

तर राजावादी र गणतन्त्रवादी दुवैले तामझामका साथ पृथ्वी जयन्ती मनाए। दिवसको अवसरमा राप्रपाले गरेको चियापानमा काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीदेखि पहिलो पटक संसदीय यात्रा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पृथ्वी नारायण शाहको भूमिकाबारे प्रशंसा गरे।

माओवादीका उपाध्यक्ष एवं सरकारका उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अहिलेको भूगोल निर्माणमा पृथ्वी नारायण शाहको भूमिका स्वतः स्पष्ट रहेको बताए। त्यो भूमिकालाई राज्यद्वारा पुनर्स्थापित गर्न पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको उनले बताए।

सरकारले बिदा दिने निर्णय राजपत्रमा भने प्रकाशित भएको छैन। देशभर लागु हुने सार्वजनिक बिदा दिने राजपत्रमा प्रकाशित सूचनामा पृथ्वी जयन्तीबारे उल्लेख गरिएको छैन।

नयाँ सत्ता समीकरणमा गणतन्त्र र राजावादी सहभागी भएसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुस २७ मा बिदा दिने पहिलो निर्णय कार्यान्वयन भएको छ।

दिवसका अवसरमा राप्रपाले आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी नारायणकै कारण नेपाली भन्न सक्ने भएको बताए।

पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने बेलामा अगुवाइ गरेको खुसीयालीमा सरकारले बिदा दिएको ओलीले बताए।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल एकीकरण गरेर नेपाली बन्न पृथ्वी नारायण शाहले अवसर दिएको बताए। ‘पृथ्वी नारायण शाहको जन्म दिवस मनाइरहेका छौ,’पौडेलले भने,‘यो खुसी र नेपालीका लागि गौरवको विषय हो।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशीसँग लडेर आधुनिक नेपालको निर्माण गर्ने पृथ्वीनारायणको योगदानलाई बिर्सन नहुने उल्लेख गरे।

राजा फालेर गणतन्त्र घोषणा गरी संविधान जारी गरेका दलहरू राजावादीहरूको राप्रपाको माग पुरा गर्न १५ वर्षपछि तयार भएपछि अध्यक्ष राजेन्द्र लिङदेन खुसीले हौसिएका छन्।

उनले अब सरकारी तवरबाटै पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउनु पर्ने माग समेत गरेका छन्। ‘आगामी दिनमा सार्वजनिक बिदा मात्रै होइन,सरकारी तवरबाटै उत्सवको रूपमा मनाउनु पर्छ,’उनले भने,‘भावी सन्ततिले नेपाल राष्ट्र कसरी निर्माण भएछ?कसको नेतृत्वमा निर्माण भएछ?त्यो कुरा थाहा पाउनु पर्छ।’

अध्यक्ष पद नपाएपछि पूर्वराजा ज्ञानेन्द्र र राजेन्द्र लिङदेनसंग पानी बाराबारको अवस्थामा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि महाधिवेशनपछि बिछोड भएको भृकुटीमण्डपमा लिङदेन नेतृत्वको राप्रपाले गरेको चियापान कार्यक्रममा पुगे।

उनले राप्रपा आफ्नो पनि पार्टी भएको बताए। ‘यो पार्टी स्थापनामा र पार्टीलाई उचाइमा पुर्‍याउनको निमित्त मैले धेरै ठुलो मेहनत गरेको छु,’संसद्मा १४ सिट भएको लिंगदेन नेतृत्वको पार्टीमा भाग खोज्ने सङ्केत गरेका थापाले भने,‘यो पार्टीमा रगत, पसिना बगाएको छु,अहिले जे जस्तो किसिमको सफलता हासिल गर्नु भएको छ, त्यो प्रशंसनीय छ।’

गणतन्त्र र राजतन्त्रवादीसम्मको समीकरणमा नयाँ सरकार बनेसँगै पहिलो पटक सार्वजनिक बिदा दिएर नेताहरूले खुलेरै पृथ्वी नारायण शाहको योगदानका बारेमा वकालत गरेका छन्।

गोरखामा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदा कटौती गर्ने काम काँग्रेसले गरेको भनेर आफू पानी माथिको ओभानो बनेका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि रहेको शालिकमा माल्यार्पण गरिएको छ। नेपाली सेनाले भव्य रूपमा पृथ्वी जयन्ती मनाएको जनाएको छ।

पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण गर्ने सेनाले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading