निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, काँग्रेस सत्ता विहीन

सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त, काँग्रेस सत्ता विहीन

946
SHARES

काठमाडौं : देशका सातै प्रदेशले नयाँ सरकार पाएका छन्। बुधवार चार प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सातै प्रदेशले नयाँ सरकार पाएका हुन्। मुख्यमन्त्री पाएका प्रदेश सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन भने बाँकी छ।

सत्ता साझेदार दलहरूबिच भएको भागबन्डा अनुसार सातमध्ये चार प्रदेशमा एमालेले मुख्यमन्त्री पाएको छ। दुई प्रदेशमा माओवादी र एक प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ।

एमाले, माओवादी र जसपाले नेतृत्व गरेको बागमती, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति बनेको छ।

कर्णालीमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने सत्ता साझेदार दलहरूको सहमतिलाई उल्ट्याउँदै माओवादी र एमालेबिच पालैपालो सरकार चलाउने सहमति बनेको छ।

पहिलो साढे २ वर्षका लागि माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन्। सहमति अनुसार त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन्।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थनसहित नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेका छन्। सुदूरपश्चिममा पनि एमाले र माओवादीले पालैपालो सरकार चलाउने सहमति भएको छ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन्। मधेस प्रदेशमा ६३ सांसदको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन्।

मधेस प्रदेशमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनको सहमतिअनुसार यादव पहिलो कार्यकालका लागि मुख्यमन्त्री बनेका हुन्।

यसअघि बागमतीमा नेकपा माओवादी केन्द्रका सालिकराम जमरकट्टेल, प्रदेश १ मा एमालेका हिक्मत कार्की र गण्डकी प्रदेशमा एमालेकै खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

सातै प्रदेशमा नेपाली काँग्रेस सत्ता विमुख बनेको छ। चुनावमा ठुलो दल बनेको काँग्रेस केन्द्रदेखि प्रदेशसम्म नै प्रतिपक्षी दल बन्न पुगेको छ।

केन्द्रमा सरकारलाई समर्थन दिएर प्रतिपक्षी दल बन्न समेत अयोग्य भएको काँग्रेसले प्रदेशमा बनेका सरकारलाई समर्थन गर्ने या नगर्ने निर्णय भने गरिसकेको छैन।

समाचार शेयर गर्नुहोस्
946
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.