११ लाख भन्दा बढी वितरण

पासपोर्टमा ‘एक्स’ जेण्डर

पासपोर्टमा ‘एक्स’ जेण्डर

काठमाडौं : राहदानी विभागमा विद्युतीय राहदानी (ई-पासपोर्ट) लिनेहरूको घुइँचो लागेको छ। १२ हजार रुपैयाँ शुल्क बुझाएर ई–पासपोर्ट लिन आउनेहरूको भिड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको छ।

राहदानी लिनेको भिड, तस्बिर पहिचान

बारा प्रसौनी गाउँपालिकाका २३ वर्षीय रञ्जित कुमार यादवले १६ दिन अगाडि १२ हजार रुपैयाँ बुझाएर राहदानीका लागि बुझाएको आवेदन भने प्राविधिक समस्याका कारण अड्किएको छ।

उनी भन्दा दुई दिन पछाडि राहदानीको आवेदन दिएका सप्तरीका मोहम्मद जिवरिलले भने तीन दिनमै राहदानी हात पारिसके। तर, रञ्जित राहदानीका लागि सुनधाराको डेराबाट हरेक दिन राहदानी विभाग त्रिपुरेश्वर पुगिरहेका छन्।

कक्षा ९ सम्म मात्रै अध्ययन गरेका उनी राहदानी बनाएर मलेसिया या दुर्बइ जाने तयारीमा छन्। विभागमा राहदानी लिन पुगेका उनले पहिचानसँग भने,‘खोइ के भएको हो? अरूको आइसकेको छ, मैले राहदानी पाएको छैन।’

‘ओ’ उल्लेख गरेर दोश्रो राहदानी वितरण “तेस्रोलिंगीको प्रमाण लिदाँ नाङ्गै बनाए”

राहदानी लिनेको भिड, तस्बिर पहिचान

उनले राहदानीको आवेदन दिन मात्रै कम्प्युटर इन्स्टिच्युट प्रतिनिधिलाई ३ हजार रुपैयाँ बुझाएको बताए। सुनधारामा रुम भाडा दैनिक १ हजार तिरिरहेका उनले भने,‘राहदानी बनाउन आएका अर्का साथीसँग भाडा सेयर गरेर बसिरहेको छु,अब त उहाँ पनि जान्छु भन्नु भएको छ।’

उनले २५/३० हजार रुपैयाँ राहदानी लिनकै लागि खर्च गरिसकेका छन्। उनी परिवारका जेठो सन्तान हुन्। घरको आर्थिक अवस्थाका कारण अध्ययनलाई कक्षा ९ मै बिट मारेको उनले बताए। ‘घरमा बुबा हुनुहुन्छ,आमाको निधन भइसक्यो,भाइ छ,’उनले पहिचानसँग भने,‘जनवरीमै भिसा आउँछ भनेको थियो, पासपोर्ट बुझाएपछि भिसा आउँछ भनेका छन्।’

उनलाई मलेसिया जानका लागि म्यानपावर कम्पनीले ८० हजार रुपैयाँ शुल्क मागेका छन्। ‘फ्री भिसा, फ्री टिकट भने पनि ८० हजार शुल्क लाग्छ भनेका छन्,’उनले भने।’

राहदानी लिनेको भिड, तस्बिर पहिचान

विभागले उनको राहदानी प्रिन्ट नभएकाले दिन नसकिएको बताएको छ। ‘अब उहाँ (रञ्जित) को समस्या समाधान भएको छ, राहदानी पाउनुहुन्छ,’विभागका आइटी अधिकृतले भने,‘राष्ट्रिय परिचय पत्र अनुसार आवेदन नभर्दा प्रमाणित हुँदैन, उहाँको फोटो नमिलेर पनि समस्या देखिएको हो।’

विभागले सन् २०२१ नोभेम्बर १५ देखि ई पासपोर्ट दिन थालेको हो। विभागले यसअघि एमआरपी दिने गरेको थियो। ५६ लाख ३९ हजार २४२ जना पुरुषले एमआरपी लिएका छन् भने एमआरपी लिने महिलाको सङ्ख्या १४ लाख ४४ हजार १७१ रहेको विभागले जनाएको छ।

एमआरपीमा ‘ओ’, ई पासपोर्टमा ‘एक्स’

राहदानी लिनेको भिड, तस्बिर पहिचान

सन् २०२१ नोभेम्बर १५ अघिसम्म अन्य लैङ्गिक पहिचान भएका ४५ जनाले ‘ओ’ उल्लेख भएको राहदानी लिएका छन्। ई पासपोर्टमा भने मेल, फिमेल र एक्स जेण्डर मात्रै उल्लेख छ। एमआरपीमा रहेको ‘ओ’ जेण्डर अप्सन ई पासपोर्टमा ‘एक्स’ बनेर आएको छ।

पुस २८ बिहीबारसम्म देशभरबाट जम्मा ३ जनाले ‘एक्स’ जेण्डरमा राहदानी लिएका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई यसअघि ‘ओ’ जेण्डरमा दिँदै आएको राहदानी ई पासपोर्टमा ‘एक्स’ जेण्डर उल्लेख गरेर दिने गरिएको विभागले जनाएको छ।

बिहीबारसम्म ई-पासपोर्ट लिने महिलाको सङ्ख्या ३ लाख १३ हजार ३०२ पुगेको छ। ७ लाख ९४ हजार ३११ जना पुरुषले ई-पासपोर्ट लिँदा ‘एक्स’ जेण्डरका ३ जनाले मात्रै राहदानी लिएको तथ्याङ्क विभागले उपलब्ध गराएको हो।

१२ जना पुगे अन्य उल्लेख गरेर पासपोर्ट लिने तेस्रोलिंगी

हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले सन् २०२१ नोभेम्बर १५ पछि ई-पासपोर्ट प्रयोगमा ल्याएको हो। नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को पब्लिक की डिरेक्ट्री (पीकेडी) को सदस्य भएकाले सदस्य राष्ट्रहरूमा ई-पासपोर्ट शेअर हुन्छ।

"

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading