सर्वदलीय बैठक

काँग्रेसलाई ओलीको जवाफ, राष्ट्रपतिमा दाउ नथापे हुन्छ

काँग्रेसलाई ओलीको जवाफ, राष्ट्रपतिमा दाउ नथापे हुन्छ

काठमाडौं : नेपाली काँग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ खोजेको छ। केन्द्रदेखि प्रदेशसम्म माओवादीलाई समर्थन गरेको काँग्रेसले राष्ट्रपति पद लिन प्रधानमन्त्री प्रचण्डको साथ खोजेको हो।

राष्ट्रपति र प्रधानमन्त्री दुवै लिने प्रयास असफल भएपछि सत्ता गुमाएको काँग्रेस अहिले गठबन्धनमा गडबड गरेर राष्ट्रपति पद लिने रणनीतिमा लागेको छ। प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा काँग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयनमा सहमति गर्नुपर्ने प्रस्ताव नै राखेको छ।

सत्ता साझेदार दलहरूबिच सहमति भइसकेको विषयमा नखेल्न एमाले अध्यक्ष केपी ओलीले काँग्रेसलाई सुझाव दिएपछि काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिवाद गरेका छन्। सर्वदलीय बैठकमा ओलीले काँग्रेस प्रतिपक्ष दल समेत बन्न नसकेको भन्दै सत्ताको लागि नखेल्न सुझाव दिएका थिए।

लेखकले राष्ट्रपतिलाई बुझाएको पत्रमा हस्ताक्षर नभएको भन्दै काँग्रेस प्रतिपक्षी भएको जवाफ फर्काए। काँग्रेस राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउँदै उनले संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएको बताएका थिए।

राष्ट्रपतिमा सहमति नहुने भन्दै ओलीले काँग्रेसलाई दाउ नथाप्न चेतावनी दिए। आफूलाई विश्वासको मत दिएका दलहरूलाई मिलाएर लैजाने गरी प्रधानमन्त्रीले छलफल चलाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भनाई राखेर केहीबेरमै बाहिरिएका थिए।

विश्वासको मत दिँदा कुनै सहमति नभएको बताउने काँग्रेसले अहिले राष्ट्रपति पद फुत्काउने नीति लिएको हो। सर्वदलीय बैठकमा काँग्रेसले राखेको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक हुनु भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए। ‘प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर जान सकिन्छ कि भनेर विषय प्रवेश गराउनु भयो,’लेखकले भने,‘तर कुनै सहमति भएन।’

प्रतिनिधि सभाको सबै भन्दा ठुलो दल काँग्रेसलाई सत्ता गुमाउनु परेपछि छटपटी भएको छ। केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्ष बन्न पुगेको काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दबाबमा राखेको भन्दै एमाले रिसाएको छ। एमालेले राष्ट्रपति पद लिन काँग्रेसले प्रधानमन्त्रीलाई दबाबमा राखेको बताएको छ। विश्वासको मत लिएर राष्ट्रिय नेता बनाएको भन्ने खालको नक्कली कुरा गरेर काँग्रेसले प्रधानमन्त्रीलाई नैतिक सङ्कटमा पार्ने खेल खेल्न खोजेको एमाले उपमहासचिव विष्णु रिमालले बताए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पद बाँडफाँडबारे कुनै सहमति नभएको नवनियुक्त संचारमन्त्री रेखा शर्माले बताएकी छन्। ‘सहमति हुने यो बैठक नै थिएन, धन्यवाद ज्ञापन गर्ने मात्रै बैठक भएकाले त्यसैमा मात्र समिति गरियो,’उनले भनिन्,‘उम्मेदवारी दर्ता पछि पनि प्रयत्न हुन सक्छ।’

सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालमा प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने मौलिक संस्कृतिको थालनी भएको भन्दै यसले राष्ट्रिय सहमतिको वातावरण तय गरेको बताएका थिए।

सङ्घीय संसद् सचिवालयले मङ्गलवार नै सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। तालिका अनुसार बुधवार प्रतिनिधिसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्नुपर्नेछ।

दर्ता गर्ने समय दिउँसो १ बजेदेखि ४ बजे सम्म तोकिएको छ। बुधवार नै उम्मेदवारको सूचि प्रकाशन गरिनेछ। माघ ५ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा मतदानको पक्रिया अघि बढ्नेछ। सत्ता गठबन्धनमा सभामुख एमालेले पाउने सहमति भएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading