कांग्रेसलाई सभामुख र उपसभामुखमा असफलता, सांसदहरु खोकिलामा हात राखेर बस्न बाध्य

कांग्रेसलाई सभामुख र उपसभामुखमा असफलता, सांसदहरु खोकिलामा हात राखेर बस्न बाध्य

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित भएकी छन्। सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी राना उपसभामुखमा निर्वाचित भएकी हुन्।

२६४ सांसद सहभागी भएको मतदानमा उपसभामुखमा निर्वाचित रानाले १६६ मत पाइन भने विपक्षमा ९७ र एक मत तटस्थ खसेको छ। मतदानमा सभामुखसहित ११ जना सांसद सहभागी भएनन्।

हत्या अभियोग लागेका एमालेका लक्ष्मी महतो कोइरी, काँग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, धवलशमशेर जबरा, बिनाकुमारी थनैत, मनोरमा शेरचन, राजेन्द्र प्रसाद पाण्डे, सपना राज भण्डारी र बिरामी भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मतदानमा सहभागी भएनन्।

प्रतिनिधि सभाको सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्। झापामा जन्मिनु भएकी ५२ वर्षीया उपसभामुख रानामगर ३३ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी छन्। रानामगर मङ्सिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फको सांसद बनाएको हो। दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत रहेकी रानामगरमाथि संसद्मा उपसभामुखको जिम्मेवारी पनि थपिएको छ। सभामुख घिमिरे र उपसभामुख राना मगर दुवै झापाका हुन्।

राष्ट्रपति र उपराष्ट्रपति चुन्न बाँकी

केन्द्रदेखि प्रदेशसम्मै सत्ता विहीन काँग्रेसका सांसद यतिवेला खोकिलामा हात हालेर बस्न बाध्य भएका छन्। राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी गरेको काँग्रेस प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा असफल भएको छ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्न नसकेको काँग्रेसले एमालेसँगको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत दिएर प्रतिपक्ष दल बन्ने हैसियत नै गुमाएको छ।

सातै प्रदेशमा मुख्य मन्त्री गुमाएको काँग्रेसले पाँच वर्षका लागि प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा असफलता हात पारेको छ। काँग्रेसले अब राष्ट्रपति र उपराष्ट्रपति पदमा दाउ हेरेको छ।

चुनाव अघिको सहमति चुनाव पछि तोड्दा रनामा परेको काँग्रेसले माओवादीलाई एमालेसँगको गठबन्धनबाट अलग गराउन सकेसम्मको प्रयास जारी राखेको छ। काँग्रेस प्रवक्ता प्रकाश शरण महतले प्रचण्डको अग्नि परीक्षा अब आउने राष्ट्रपतिको चुनावबाट स्पष्ट हुने दाबी गरेका छन्।

पुस १० को सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री पाएको छ भने सभामुख एमालेले पाइसकेको छ। उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ।

अब दलहरू राष्ट्रपति उपराष्ट्रपति पद हत्याउने दौडधुपमा लागेका छन्। काँग्रेसले प्रचण्डको परीक्षा लिने प्रयास गरे पनि त्यो असफल हुने माओवादी केन्द्रका नेता जनार्दन शर्मा बताउँछन्।

पीडा मिश्रित आक्रोश व्यक्त गरिरहेको काँग्रेसले गठबन्धनबाटै राष्ट्रपति र उपराष्ट्रपति बन्दा संविधानमाथि नै खतरा हुने समेत बताएको छ। सबै दलले कम्फर्टटेवल राष्ट्रपति खोजिरहेको र सभामुख, राष्ट्रपतिले नियम अनुसार निर्णय गर्न नसक्ने जनमोर्चा अध्यक्ष चित्र बहादुर केसीले बताए।

निर्वाचन आयोगले भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोकिसकेको छैन। राष्ट्रपतिका सम्भावित उम्मेदवारहरूको चर्चा पनि सुरु हुन थालेको छ।

एमालेसँगको गठबन्धन भत्काउन डाक्टर बाबुराम भट्टराईलाई काँग्रेसले उम्मेदवार बनाउनेसम्मको चर्चा चलेको छ। तर, भट्टराई भने आफू राष्ट्रपतिको आकाङ्क्षी नरहेको बताउँछन्। सम्पादक समाज नेपालले वितरण गरेको गोविन्द वियोगी पत्रकारिता पुरस्कार कार्यक्रममा भट्टराईले आफू राष्ट्रपतिको आकाङ्क्षी नभएको बताए।

सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार नवराज चालिसेलाई प्रदान गरेको छ। गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार पत्रकार माधव पौडेललाई प्रदान गरिएको छ। समाजले निर शाह, खिलध्वज थापा, बुँद राना, विमला तुम्खेवालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading