विदेशी चासो

भारतीय फर्के लगत्तै अमेरिकी उपविदेशमन्त्रीको भ्रमण सुरु

भारतीय फर्के लगत्तै अमेरिकी उपविदेशमन्त्रीको भ्रमण सुरु

काठमाडौं : नेपालमा नयाँ सरकार बनेपछि छिमेकी देशसँगै अमेरिकाबाट उच्चस्तरको भ्रमण भएको छ।

भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया ईल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी दिन आइतबार अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड काठमाडौं आएकी छन्।

तीन दिनअघि काठमाडौं आएकी भाजपा प्रवक्ता ईल्मी भने आइतबार दिल्ली फर्किसकेकी छन्। नयाँ सरकार बनेपछि विदेशी मुलुकबाट उच्चस्तरीय भ्रमण हुन थालेको छ।

अमेरिकी उपविदेशमन्त्री नुल्याण्डले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछिन्। विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम पनि रहेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।

दुई दिन काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहित दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले भ्रमणका क्रममा दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने अमेरिकी दूतावासले जनाएको छ।

भाजपा प्रवक्ता फर्किइन

नेपालको अनौपचारिक भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया ईल्मी भने भ्रमण सकेर फर्केकी छन्।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटपछि ईल्मीले ट्विटरमा लेखेकी छिन्, ‘दाजु सुनिलबहादुर थापासहित नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँमा भेट्न पाउँदा गर्व लागेको छ। उहाँले हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो स्नेह र सम्मान व्यक्त गर्नुभयो। उहाँ भारत भ्रमणका लागि प्रतीक्षारत हुनुहुन्छ।’

भेटमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका लागि आफू प्रतीक्षारत रहेको बताउँदै भारतीय समकक्षी नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गरेका छन्। भाजपा प्रवक्ता ईल्मीले आइतबारै काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस नेता सुनिलबहादुर थापासँग भेटेकी थिइन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading