प्रचण्डको अडान : सत्ता समीकरणमा फेरबदलको सङ्केत

प्रचण्डको अडान : सत्ता समीकरणमा फेरबदलको सङ्केत

काठमाडौँ : गृह मन्त्रालयले माघ ६ गते लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न उपप्रधान एवं गृहमन्त्रीबाट पटक पटक प्रहरीलाई दिएको मौखिक निर्देशन कार्यान्वयन नभएको विज्ञप्ति निकाल्यो। मन्त्रालयले सुरक्षा कमान्ड सम्हालेका गृहमन्त्री रवि लामिछानेले दिएको मौखिक निर्देशन अनुसार कोइरी हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको लेख्यो विज्ञप्तिमा।

महोत्तरीको गौशाला नगरपालिका वडा नं २ निवासी कोइरीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार नै गरेको प्रवक्ता फणीन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखियो।

कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी रहेका नेकपा एमालेबाट निर्वाचित सांसद कोइरीले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए। प्रहरीको फरार सूचीमा रहेका कोइरी संसद् आउजाउ हुँदा समेत पक्राउ नपरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण भएपछि मन्त्रालयले गृहमन्त्रीको मौखिक निर्देशन कार्यान्वयन नगरेको नेपाल प्रहरीमाथि आक्षेप लगाएर निकालेको हो विज्ञप्ति।

सुरक्षा कमान्ड सम्हालेका लामिछानेको निर्देशन प्रहरी प्रशासनले नमानेको देखाउन निकालिएको विज्ञप्तिको समर्थन होइन आलोचना नै भयो। एक जना प्रहरी उपरीक्षकले भने,‘निर्देशन कार्यान्वयन भएन भनेर ध्यानाकर्षणको विज्ञप्ति निकाल्ने रवि लामिछानेले सुरक्षा निकायको चेन अफ कमान्ड बुझेनन्।’

आफैँ नागरिकता विवादमा मुद्दा खेपिरहेका लामिछानेले जनताको आँखामा छारो हाल्न विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको एक साता नपुग्दै मन्त्रालयबाट बाहिरिनु पर्‍यो। सांसद कोइरी पक्राउ परेनन्। बरु लामिछानेले नै पद गुमाए।

चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेको सांसद पद खारेज भएको छ सर्वोच्च अदालतको आदेशले। आदेशपछि उनले नेपाली नागरिकता पुन प्राप्त गरेर गैरसांसदको रूपमा मन्त्रालय फर्कन बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरिरहेका छन्।

लामिछानेलाई गृहमै फर्काउन सत्ता साझेदार दल नेकपा एमालेले दबाब दिइरहेको छ। लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ताबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ। प्रधानमन्त्री प्रचण्ड भने तत्काल रविलाई गृहमा फर्काउन सहमत भएका छैनन्।

बुधवार बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले रविलाई गृहमा पद बहाली र राष्ट्रपतिको उम्मेदवारमा पूर्वसहमति कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डसँग भनेका छन्। प्रचण्ड भने सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह आफैँसँग राख्ने अडान लिएका छन्।

प्रचण्डले गृह आफैसँग राख्ने र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भने पछि रविसँगै एमाले सशङ्कित बनेको छ। प्रचण्डको यो अडानले सत्ता समीकरणमा नै फेरबदल आउन सक्ने अड्कलबाजी हुन थालेका छन्। पुस १० मा प्रधानमन्त्री बन्न ओलीको साथ लिएका प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरेर काँग्रेससँग सहकार्यको हात फैलाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading