प्रधानमन्त्रीलाई ओली र रविको चेतावनी : गृह नदिए अप्ठ्यारो पैदा हुन्छ

प्रधानमन्त्रीलाई ओली र रविको चेतावनी : गृह नदिए अप्ठ्यारो पैदा हुन्छ

काठमाडौँ : नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय नदिए अप्ठ्यारो पर्ने चेतावनी दिएको छ। उपप्रधान तथा गृह मन्त्रालय रास्वपालाई नदिने एकतर्फी निर्णय गर्दा सत्ता समीकरणमा अप्ठ्यारो पैदा हुने एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका हुन्।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले रास्वपालाई गृह नदिने कुरा नभएको बताए। ‘सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको हो,पार्टीले रवि लामिछानेलाई गृह मन्त्री बनाउनु पर्छ भनेको हो,’उनले भने,‘गृह मन्त्रालय नदिने एकतर्फी रूपमा छुट्टै ढङ्गको निर्णय हुने कुराले अप्ठ्यारो पैदा गर्छ, त्यस्तो भएकै छैन।’

उनले रास्वपालाई गृह मन्त्रालय दिन सर्वोच्च अदालतको पूर्ण पाठ आवश्यक नपर्ने बताए। सर्वोच्च अदालतको आदेशपछि गृह मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको बारेमा निर्णय नगर्ने बताएका थिए।

सत्ता साझेदार एमालेले भने रास्वपालाई गृह मन्त्रालय दिन पूर्ण पाठ आवश्यक नपर्ने बताएको हो। ‘पूर्ण पाठ किन चाहियो? पाठ भइसक्यो, कण्ठ गर्ने हो पूर्ण पाठ?’ओलीले प्रश्न गरे,‘किन चाहियो?’

उनले गृह मन्त्री कसलाई बनाउने भन्ने कुरा रास्वपाको आन्तरिक कुरा भएको बताए। ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएका हौँ,त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो,त्यस अनुसार बनाएका हौँ,’उनले भने,‘फेरी पनि रवि लामिछानेलाई नै दिनु पर्छ भन्छ भने त्यो उसको कुरा हो,हामीले गृह मन्त्रालय उसलाई दिएको हो।’

उनले प्रधानमन्त्री प्रचण्डसँग कुरा मिलिरहेको बताए। सत्ता साझेदार दलमा कुनै खटपट नआएको ओलीले दाबी गरे। ‘सरकार सङ्कटमा पर्छ जस्तो लाग्दैन, अस्थिरता भन्ने हो भने प्रणालीमै अस्थिरता देखिएको छ,’उनले भने,‘मैले निर्वाचन लगत्तै भनेको थिए, असाधारण अस्थिरतामा देश छ, राजनीति अस्थिर छ।’

उनले लोकतन्त्रका विरुद्ध षडयन्त्र भइरहेको बताए। ‘ती षडयन्त्रहरू भद्दा र तीव्र ढङ्गले भइरहेका छन्,’ओलीले भने,‘त्यो कुरासँग नेपाली जनता सजग हुनुपर्छ।’

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको कुरा गरेर काँग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको ओलीले बताए। ‘काँग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु हामीलाई दिनुहोस् भन्नु हामीले पाउनु पर्छ भन्नु अनौठो कुरा होइन,’ओलीले भने,‘एमालेको उम्मेदवार भनेको सत्ता पक्षको उम्मेदवार हो,एमालेको उम्मेदवार भनेको अहिलेको नयाँ समीकरणको उम्मेदवार हो,’उनले भने,‘सहमति नै त्यस्तो छ।’

माओवादीले नयाँ समीकरणमा भएको सहमतिलाई नै राष्ट्रिय सहमति भनेको ओलीको दाबी छ। ‘त्यो समीकरणमा काँग्रेसले सहमति गर्दा राष्ट्रिय सहमति हुन्छ,’ओलीले भने,‘काँग्रेस गृह राज्यमन्त्री दियो भने पनि सरकारमा आउँछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आफ्नो मौनता आजसम्मका लागि मात्र भएको चेतावनी दिएका छन्। ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो,’लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म अभिमन्यु होइन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading